नेपाली भान्सा मसलामय हुन्छ । मसलाहरू औषधिमय छन् । पूर्वजहरूले हामीलाई सिकाइदिएको वा भनौँ सुम्पेको परम्परागत खानपान रीतिसँग आयुर्वेदको खास साइनो छ । किनकि यी सबै हाम्रा पुर्खामा भएको आयुर्वेद ज्ञानकै परिणाम हुन् ।
सर्दी लागेको बेला बेसारपानी पिउनु, ज्वरो आएको बेला पानीपट्टी गर्नु, सुत्केरीलाई ज्वानोको झोल खुवाउनु आदि हामीले सिकेका आधारभूत आयुर्वेदिक घरेलु उपचार हुन् । चियामा हामी तेजपत्ता, अदुवा, ल्वाङ, मरिच, सुकुमेल, दालचिनीमध्ये केही न केही हालेर पिउन स्वादिलो वा फाइदाजनक मान्छौँ । यी आयुर्वेदिक औषधि नै हुन् ।
बिमार हुन नदिन पनि हाम्रो भान्साले भूमिका खेलिरहेको हुन्छ । सानोतिनो बिमारलाई च्वाट्टै पारिदिने ओखतीहरू हाम्रै चुल्होको वरिपरि छन् । तर भुल्न के हुँदैन भने, जुनसुकै कुरा अति भएपछि खती हुन्छ । त्यसैले असाध्यै मसालेदार खानपिन स्वास्थ्यका लागि हानिकारक छ । आफ्नो स्वास्थ्य अनुकूलतामा पनि धेरै कुरा निर्भर हुन्छ । कसैका लागि औषधि हुने वस्तु सीमितका लागि नहुन पनि सक्छ । जस्तो कि, अदुवाका धेरै फाइदा भए पनि सुत्केरी, पायल्सपीडित, असाध्यै पातला मानिसका लागि यो हानिकारक हुन्छ । यस्ता कुरामा भने ध्यान पुर्याउनुपर्छ ।
भान्सामा हामीले नियमित प्रयोग गर्ने मसलाहरू जस्तै; बेसार, लसुन, अदुवा, कालो मरिच आदिमा औषधीय गुण हुन्छ । यी मसलाको नियमित सेवनले हामीलाई विभिन्न रोगसँगै स्वास्थ्य क्षेत्रमा बढ्दो दलालीकरणको चपेटामा पर्नबाट समेत बचाउँछ । रोग लागेपछि सेवन गर्नुपर्ने औषधिको दुष्प्रभावबाट त जोगाउने नै भयो ।
टाउको, हाडजोर्नी, पेट, हातखुट्टा दुखाइ अपवादबाहेक हरेक घरमा कसै न कसैलाई हुन्छ नै । चाहे त्यो महिनामा एक/दुईपल्ट मात्रै किन नहोस् । अनि दुखाइ सुरु हुनासाथ कतिपयले पेनकिलर खान थालिहाल्छन् । पेनकिलरले दुखाइ त कम गर्छ तर यसको दबाब फोक्सो र मिर्गौलामाथि पनि परिरहेको हुन्छ ।
जबकि हाम्रै भान्सामा भएका मसलाले यस्ता सामान्य दुखाइसँगै भविष्यमा आइलाग्न सक्ने कतिपय रोगलाई भगाइदिने क्षमता राख्छन्, त्यो पनि कुनै साइड इफेक्टबिना । दुखाइबाट त मुक्त भइन्छ नै, फोक्सो, मिर्गौलाजस्ता अमूल्य अंगलाई पनि कुनै हानि पुग्दैन ।
आज मैले चर्चा गर्न खोजेको नेपाली भान्सामा प्रयोग हुने केही मसलाबारे हो, जसमा औषधीय गुणहरू हुन्छन् । एक आयुर्वेद विद्यार्थीका रूपमा सैद्धान्तिक विषय मैले अध्ययनकै आधारमा लेखेकी हुँ भने अन्य निचोड नेपाल र भारतका विभिन्न विशेषज्ञका लेख, अन्तर्वार्तामा आधारित छन् ।
बेसार
नेपालमा हर्दी वा हल्दी पनि भनिने बेसारमा दुखाइ निवारक तत्त्वहरू हुन्छन् । चोटको दुखाइ र रुघा कम गर्नमा बेसार सहयोगी हुन्छ । सामान्य घाउमा बेसारको लेप लगाउँदा ठीक हुन्छ । चोट लाग्दा दूधमा बेसार मिलाएर पिउँदा दुखाइबाट राहत पाइन्छ । बेसारलाई थोरै चुनामा मिसाएर लगाउँदा चोटको दुखाइबाट आराम मिल्छ । सर्दी लागेको बेला बेसारमा नुन राखेर पिउँदा पनि यसले तत्कालै राहत महसुस गराउँछ । हरेकजसो तरकारीमा बेसारको प्रयोग हुने गरेको छ । यसको अर्थ हामी तरकारीसँगै औषधि पनि सेवन गरिरहेका छौँ ।
अदुवा
अक्सर तरकारीमा अदुवा हाल्ने गरिन्छ । कतिले चियामा पनि अदुवा किचेर हाल्ने गरेका छन् । आयुर्वेदमा अदुवालाई महाऔषध भनिएको छ । अदुवा पनि वाताशामक हो । यसले दुखाइ उत्पन्न गर्ने वातलाई सन्तुलनमा राख्ने काम गर्छ । त्यसैले यसलाई पनि हामी दुखाइ निवारक औषधि मान्न सक्छौँ । सर्दीका कारण टाउको दुखाइ हुँदा सुक्खा अदुवा (शुण्ठी) लाई पानीमा मिलाएर, त्यसको लेप निधारमा लगाउँदा आराम पाइन्छ । श्वास–प्रश्वाससम्बन्धी संक्रमण हुँदा अदुवाको सेवनले फाइदा पुर्याउँछ । सास गन्हाउने समस्याबाट छुटकारा पाउन पनि अदुवाको सेवन उत्कृष्ट विकल्प हुन सक्छ ।
अदुवाले पेटमा उत्पन्न हुने ग्यासलाई कम गरिदिन्छ । अदुवामा आइरन, क्याल्सियम, क्लोरिन भिटामिन प्रशस्त मात्रामा पाइने भएकाले यसले एन्टिभाइरलको काम गर्छ । अदुवालाई ताजा र सुकाएर प्रयोग गर्न सकिन्छ । रुघाखोकी लाग्दा अदुवाको रस निकालेर कागती र महसँग घोलेर खानाले खोकी कम हुँदै जान्छ । यसले कपाल झर्नबाट समेत जोगाउँछ । स्मरण शक्तिमा सुधार, जोर्नीको दुखाइ कम गर्न सहयोग, पाचन क्रियालाई बलियो पार्नुलगायत अदुवाका फाइदा हुन् ।
हातगोडा पोल्ने, पिसाब पोल्ने, रक्तपित्त आदि भएको बेलामा र गृष्म एवं शरद ऋतुमा अदुवा कम खाने वा नखाँदा राम्राे हुन्छ ।
मेथी
हाम्रो मसला पोटमा अक्सर हुने मेथीलाई आयुर्वेदले बहुगुणी र बहुआयामिक औषधि मानेको छ । मेथीको साग, गेडा, पानी, तेल, धुलो, टुसा, चिया आदि जस्तो रूपमा खाए पनि त्यसबाट स्वास्थ्यसम्बन्धी फरक–फरक लाभ मिल्छ । मेथीमा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, फोलिक एसिड, फाइबर, फस्फोरस, आइरन आदि प्रचुर मात्रामा पाइन्छ ।
यसैगरी, खनिज र भिटामिन ए, बी, सी, एलब्युमिन प्रोटिन, स्टार्च, पहेँलो रङको रजक आदि पनि मेथीमा पाइने तत्त्व हुन् । मेथीको चूर्ण खाँदा मुटुरोग, स्नायुरोग, पत्थरी, उच्च रक्तचाप तथा मानसिक तनाव आदिजस्ता समस्याबाट राहत मिल्छ । मेथीले एसिडिटी, अपच, अरुचि, पेट दुखाइ, कब्जियत, खोकी, टन्सिल, पेटको चुर्ना/जुका आदिबाट छुटकारा दिलाउन मद्दत गर्छ । मेथीको लड्डु पनि जोर्नीको दुखाइ भएको बेला खाने गरिन्छ ।
ज्वानो
नेपाली समाजमा ज्वानो भन्नासाथै सुत्केरी महिलालाई खुवाइने झोलको सम्झना गरिन्छ । किनकि, हामीले ज्वानोको प्रयोग सुत्केरीको हकमा मात्रै सीमित गरेका छौँ । तर, यसको गुण यतिमै सीमित छैन । सामान्य अवस्थामा पनि ज्वानो खानुका थुप्रै फाइदा छन् । आयुर्वेदमा ज्वानोलाई बहुउपयोगी ओखती मानिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा ‘यवानी’ भनिने ज्वानोमा प्रोटिन, फाइबर, सोडियम, पोटासियम, फस्फोरस, एन्टिअक्सिडेन्ट, म्याग्नेसियम, भिटामिन, आयोडिन, कार्बोहाइड्रेट, क्याल्सियमजस्ता भिटामिन तथा खनिज तत्त्व पाइन्छन् । वातनाशक गुण भएकाले विभिन्न स्वास्थ्य समस्याहरू जस्तै; जोर्नीको दुखाइ कम गर्न मद्दत गर्नुका साथै शरीरमा हुने अन्य दुखाइलाई कम गर्न ज्वानो अचुक औषधि हो । पेटको दुखाइ निको पार्न यो निकै उपयोगी हुन्छ ।
आधा चम्चा ज्वानोलाई तातो पानीमा लिँदा ग्यासका कारण भइरहेको पेट दुखाइबाट आराम पाउन सकिन्छ । ज्वानोपानीले पाचन शक्ति बढाउँछ । खानामा अरुचि, अमन छ भने ज्वानोले भोक जगाउँछ । ज्वानोमा हुने थाइमले पखाला, पेट डम्म हुने, खानाको असन्तुलनले हुने समस्यालगायतका समस्या कम गर्छ ।
ल्वाङ
ल्वाङको प्रयोग खासगरी दाँतको दुखाइ कम गर्न गरिन्छ । भुटेको ल्वाङको पेस्ट लगाएर वा ल्वाङको तेल रुवामा हालेर दुखेको दाँतमा राख्दा दुखाइबाट मुक्ति पाइन्छ । पेटमा दुखाइ हुँदा एक कप पानीमा एक चुट्की खाने (मीठो) सोडा हालेर पिउँदा पेट दुखाइमा राहत मिल्न सक्छ । खोकी र मुखरोगमा १-२ वटा कोपिला मुखमा लिएर चुसी राख्ने गर्दा यसले फाइदा गर्छ ।
लसुन-प्याज
लसुन र प्याजमा लगभग उस्तै औषधीय गुण पाइन्छ । दुवैमा एलियम नामको तत्त्व हुन्छ । आयुर्वेदले लसुन र प्याज तामसिक र राजसिक खानेकुरामा राखेको छ । यसको मतलब लसुन र प्याज कास्टिक प्रकृतिका हुन्छन्, जसले शरीरमा पित्त र आगो बढाउँछ । उत्तेजना बढाउन लसुुन र प्याजले भूमिका खेल्ने भएकाले सकेसम्म खानामा लसुन र प्याज आयुर्वेदले बहिष्कार गरेको छ । यद्यपि, यी दुवै तरकारीलाई औषधि पनि मानेको छ ।
प्याजलाई भिटामिन सी, भिटामिन बी६, पोटासियम र फोलेटको राम्रो स्रोत मानिन्छ । लसुनमा पनि भिटामिन सी, भिटामिन बी६, थाएमिन, पोटासियम, क्याल्सियम, फोस्फोरस, कपर र म्याङ्गानिज प्रचुर मात्रामा पाइन्छ ।
प्याजलाई खानमा मात्र होइन, लेपमा पनि प्रयोग गर्न सकिन्छ । कान दुखेको बेला प्याज निकै लाभदायक औषधि हो । यसको रस निकालेर रुवाको मद्दतले कानमा दुई वा तीन थोपा हाल्दा दुखाइबाट आराम पाइन्छ । लहसुनमा एन्टिइन्लेमेट्री तत्त्व भरपूर मात्रामा पाइन्छ । यसमा फ्लेभेनाइड्स पनि पाइन्छ । जिउ दुखेमा मालिस गर्न लसुनको तेल सबैभन्दा राम्रो विकल्प हो । टाउको दुख्दा वा भारीपन हुँदा हरेक दिन भुटेको दुई पोटी लहसुन खाँदा राहत मिल्छ ।
आयुर्वेदमा गर्भिणी स्त्री एवं पित्त प्रकृतिका व्यक्तिलाई अहित गर्न सक्ने भएकाले यथाशक्य प्रयोग नगर्न सुझाइएकाे छ । यसबाट उत्पन्न अहितकर प्रभावको निवारणार्थ धनियाँ सेवन गर्नुपर्छ ।
जाडोयामबाट हामी गर्मीतिर जाँदै छौँ । जाडोमा जस्तै गर्मीमा पनि आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । गर्मीबाट जोगिन भान्साको भाँडामा भरिएको शीतल पानीभन्दा राम्रो विकल्प अर्को हुन सक्दैन । गर्मीमा जति सकिन्छ, पानी पिउनुपर्छ । घाममा निस्कनुभन्दा अगाडि एक वा दुई गिलास पानी पिएर निस्कँदा राम्रो हुन्छ । यसबाट तपाईं लु लाग्न वा डिहाइड्रेसन हुनबाट जोगिनुहुन्छ ।
नियमित प्याज खाने मानिसलाई लु लाग्दैन । लू लागिहालेमा एक चम्चा प्याजको रस पिउनुहोस् । पैतालामा रस लगाएर मालिस गर्नुहोस् । यसले गर्मी वा लुबाट हुने ज्वरोमा ठूलो काम गर्छ । गर्मीमा पिसाब फेर्दा पोल्छ भने अलैँची मुखमा हालेर रस लिनुले आराम दिलाउन सक्छ । यसलाई दूध, मिश्री र पानीको स्वादिष्ट पेयमा मिलाएर पिउँदा पनि आराम पाइन्छ । घाममा छाला डढ्दा मुसुरोको दालको पाउडरमा दूध घोलेर लगाउँदा छालामा निखार आउँछ । असर तुरुन्तै देखिन्छ ।
अरु पनि..
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८० ०७:००