हामीले अक्सर सुन्ने गरेका छौँ- संसारमा खान नपाएरभन्दा खान नजानेर मर्ने मान्छेको संख्या ज्यादा हुन्छ । यसले हाम्रो खानपान र जीवनशैलीमाथि गम्भीर प्रश्न उठाउँछ । किनकि भागदौड गर्दागर्दै आफ्नो स्वस्थ शरीरलाई हामी पछि नै कतै छोडिदिन्छौँ । अनि गन्तव्यमा पुग्न नपाउँदै वा पुग्नासाथै रोगलाई नचाहेको साथी बनाउन बाध्य हुन्छौँ ।
यसपछि के.. ?
यसपछि भौगदौड गरी कमाएको त्यही राशि नचाहेको साथीका लागि खर्च गर्छौं ।
हामीमध्ये अधिकांशको जीवनमा यस्तै भइरहेको छ । खानपान र जीवनशैलीमा आज हामीले कोरिरहेको असन्तुलनको चित्रले हाम्रो कठिन भविष्य देखाउँछ । आधुनिकतासँगै हामी आफ्नै समाजका कैयौँ मौलिक र परिक्षित जीवनशैलीबाट टाढिँदै गएका छौँ, जसको जग हाम्रा पूर्वजले बसालिदिएका थिए ।
आयुर्वेद संहिताले मानव आरोग्यका सन्दर्भमा थुप्रै उपाय सुझाएको छ । तीमध्ये ‘दिनचर्या’लाई निकै महत्त्वपूर्ण र किफायती उपाय वा सूत्र मानिन्छ । आयुर्वेदमा वर्णित ‘दिनचर्या’ हामीले गर्ने तिनै गतिविधिको सँगालो हो, जुन बिहान उठेदेखि राति सुत्नुअघिसम्म गरिन्छ । यसको उद्देश्य मानव शरीर र मनलाई लय, अनुशासनमा राख्नु हो ।
हाम्रा पूर्वजहरू आयुर्वेदले निर्दिष्ट गरेको यही उपाय दैनिक उसै गरी पछ्याउँथे, जसरी आफ्नो धार्मिक रीतिलाई मान्थे । तपाईंलाई लाग्न सक्छ- संसारका हरेक सभ्यता वा संस्कृतिमा अनुशासनका लागि ‘डेली रुटिन’ त भइहाल्छ नि । यो कुन नौलो कुरा भयो ?
आयुर्वेद संहिताअनुसारको दिनचर्यालाई हाम्रा पूर्वजले रीतिजस्तै गरी मान्नुको कारण मानव शरीर र यसको प्रकृति हो भनिन्छ । मैले यसअघिको लेखमा लेखेकी थिएँ, हाम्रो शरीर पञ्चमहाभूत (जल, पृथ्वी, आकाश, अग्नि र वायु) मिलेर बनेको हुन्छ । वात, पित र कफ पञ्चमहाभूतकै संयोजन र क्रमपरिवर्तन हुन् । यो हरेक व्यक्ति वा हरेक वस्तुमा हुन्छ । यसलाई त्रिदोष सिद्धान्त भनिन्छ । हाम्रो शरीर यिनै तीन दोषका कारण बनेको आयुर्वेदले बताउँछ । अतः शरीर सूर्य र चन्द्रबाट प्रभावित हुन्छ । वात, पित्त, कफ पनि फरक–फरक समयमा प्रभावित हुन्छन् । दिउँसो चिरिक्क परेको घामले भिन्नै प्रभाव पार्छ भने रातको शीतलताले भिन्नै प्रभाव पार्छ । त्यसैले आयुर्वेदले यस प्रभाव बुझेर मानिसलाई आफ्ना गतिविधि गर्न सुझाएको हो ।
कस्तो हुनुपर्छ दिनचर्या ?
बिहान उठ्ने समयदेखि राति सुत्ने समयभित्र के गर्दा शरीरमा कस्तो खालको प्रभाव पर्छ भनेर आयुर्वेदमा निकै सूक्ष्म तरिकाले वर्णन गरिएको छ । तर, यस लेखमा मैले दैनिक जीवनमा हामीले बानीकै रूपमा विकास गर्न सम्भव हुने कुरालाई सरल भाषामा लेख्ने प्रयास गरेकी छु ।
उठ्ने समयः ब्रम्ह मूहूर्त जागरण
वाग्भट ऋषिले भनेका छन्, 'ब्राह्मे मुहूर्ते उत्तिष्ठेत स्वास्थो रक्षर्थमायुषः । अर्थात् जो मानिस आफू सधैँ स्वस्थ रहन, आफ्नो आयु बढाउन चाहन्छन्, उनीहरूले प्रातः ब्रह्म मूहूर्तमा उठ्नुपर्छ । ऋतुअनुसार सूर्योदयको समय अलगअलग हुन सक्छ । यसमा के बुझ्नुपर्छ भने सूर्य उदाउने समयभन्दा डेढ घण्टा पूर्वको समयलाई ब्रह्म मूहूर्त भनिन्छ । यो भनेको बिहान ४ बजेदेखि साढे ५ बजेको बीचको समय हाे । त्यसैले बिहान उठ्ने सबैभन्दा राम्रो समय ब्रह्म मूहूर्त हो । तपाईंमध्ये कतिपय त यसै बेला पनि उठ्नुहुन्छ हाेला । किन यही समयमा उठिन्छ भनेर थाहा पाउनुभएको छ ?
किनकि यो समयमा हाम्रो शरीरमा कफ दोष कम हुन्छ भने वात दोष सक्रिय हुन्छ । यो भनेको दिमाग र शरीर सक्रिय गतिविधिका लागि तम्तयार हुनु हो । यस्ताे वातको प्रभावले हुने गर्छ । यसबेला ताजा अक्सिजनको मात्रा बढी हुन्छ । केही हर्मोनजस्तै सेरेटोनिन आदि यो बेला धेरै मात्रामा स्रवित हुन्छन्, जसले हामीलाई एकाग्र हुन मद्दत गर्छ । त्यसैले बिहान साढे ४ देखि साढे ५ को बीचमा उठ्ने गर्नुपर्छ । आयुर्वेदले ‘ब्रह्म मूहूर्त’ लाई अध्ययनका लागि उत्कृष्ट समय तालिका पनि भनेको छ । यसबेला हाम्रो शरीरको ‘वात दोष’ सक्रिय भइसकेको हुन्छ ।
मलत्याग
उठ्नासाथै शाैचालय जानु हाम्राे सामान्य दैनिकी हाे । आयुर्वेदले पनि बिहान उठेपछि सबैभन्दा पहिला मलत्याग गर्न सुझाएको छ । मलमूत्र कस्तो स्थानमा त्याग गर्नेसमेत आयुर्वेदले निर्दिष्ट गरेको छ । तर, आजको समयमा घरघरमा शौचालय उपलब्ध भएकाले यतातिर धेरै चिन्ता लिन आवश्यक छैन । अघिल्लो रात खाएको खाना बिहानसम्म पूर्ण रूपमा पचेकाे हुन्छ । मलमूत्रको उन्मूलनले शरीरलाई सफा र स्फूर्त राख्छ । साथै, विभन्न राेगबाट जाेगिन पनि मद्दत मिल्छ ।
मुख प्रक्षालन
शौचालयबाट निस्केपछि आफ्नो अनुहार र आँखालाई शीतल पानीले सफा गर्नुपर्छ । मनतातो पानीले अनुहार धुँदा कफ र वात दोष शान्त हुन्छ र रुक्षता हटाउँछ । अनि मुख राम्रोसँग सफा गर्नुपर्छ । यसो गर्नु भनेको विभिन्न रोगको जोखिमबाट जोगिनु पनि हो । जस्तै; रक्तपित्त, मुखपीडिका, मुख रोग, मुखनिलिक व्याङ्ग आदि । बिहान र बेलुकी खाना खाइसकेपछि मुख सफा गर्नुलाई दन्तधावन भनिन्छ । ब्रस गर्दा गिजालाई धेरै दख्खल दिन हुँदैन । यसो गर्नाले मुखको दुर्गन्ध हट्छ । जिब्रो, दाँत मुखका फोहोर निस्कन्छन् र भोजनमा रुचि बढ्छ ।
गिजा र दाँत पनि बलियो हुन्छ । यस क्रममा जिव्हानिर्लेखन अर्थात् जिब्रो पनि सफा गर्नुपर्छ । जिब्रो सफा गरेपछि आँखामा अञ्जन वा गाजल लगाउन सुझाइएको छ । आँखा अग्निगुण प्रधान हो । अर्थात् तेज प्रधान इन्द्रीय हो । यसलाई कफबाट बचाउनुपर्ने हुन्छ । त्यसैले घरमै बनाइएकाे गाजलको प्रयोग गर्न भनिएको हो । यसपछि नस्य कर्म गर्न भनिएकाे छ । यसमा तेल र घिउका दुईदुई थोपा नाकमा हालिन्छ । आयुर्वेदमा दिनचर्याबारे विस्तृत वर्णन गरिएको छ । यो लेखमा मैले हामीले सजिलै निर्माण गर्न सकिने बानीबारे मात्रै उल्लेख गरेकी छु ।
ब्यायाम
यसपछि ब्यायाम गर्नुपर्छ । ब्यायाम कति समयसम्म गर्ने भन्ने कुराचाहिँ हाम्राे शरीरको प्रकृतिमा निर्भर रहन्छ । कफ प्रकृतिको शरीर भएकाहरूले तीव्रताका साथ लामो समय ब्यायाम गर्नुपर्छ । पित्त प्रकृतिको शरीर भएकाले मध्यम तीव्रताका साथ मध्यम ब्यायाम गर्नुपर्छ । वात प्रकृतिका शरीर भएकाहरूले कम तीव्रताका साथ कम समय गर्दा पनि हुन्छ । यसबारे आयुर्वेदले भन्छ, कम्तीमा त्यो समयसम्म ब्यायामलाई जारी राख्नुपर्छ, जतिबेलासम्म शरीरबाट पसिना आउँदैन । ब्यायाम गर्दा शरीरमा पर्याप्त मात्रामा ताप उत्पन्न हुनुपर्छ । यसबाट शरीरका सबै अंग पूर्णतः तयार र सक्रिय हुन्छन् । ब्यायामले शरीरको शक्तिसँगै पाचन शक्ति पनि बढाउँछ । ब्यायामपछि उद्वर्टन उबटन गर्न भनिएकाे छ ।
स्नान
ब्यायाम गरेको आधा घण्टापछि स्नान अर्थात् नुहाउनुपर्छ । तातो पानीले नुहाउने कि चिसो पानीले भन्ने कुरा पनि शरीरको प्रकृतिमै भर पर्छ । कफ प्रकृतिको शरीर भएका मान्छेलाई तातो पानीले नुहाउन राम्रो लाग्छ । पित्त प्रकृतिका मान्छेलाई चिसो पानीले र वात प्रकृतिको शरीरका मान्छेलाई तातो वा सहन सक्ने तातो पानीले नुहाउन मन पर्छ । आयुर्वेदले टाउकोचाहिँ चिसो पानीले वा कोठाको तापमानअनुसारको पानीले धुन सुझाएको छ । किनकि, तातो पानीले हाम्रो कपाललाई राम्रो गर्दैन । टाउकोमा बढी तातो पानी हाल्दा यसको असर हाम्रो आँखा र मुटुमा पनि पर्न जान्छ । बाँकी शरीर हामी तातो पानीले नुहाउन सक्छौँ । तर, धेरै तातो पानीले नुहाउने कुरालाई आयुर्वेदले प्रोत्साहन गर्दैन ।
आयुर्वेदअनुसार, नित्य स्नान गर्नाले शरीर र मन चङ्गा, पवित्र हुन्छ । वीर्य र आयुसँगै बल र ओझ पनि बढ्छ । दिनहुँ नुहाउँदा छाला स्वस्थ रहन्छ । संक्रमण पनि राेक्छ । नुहाइसकेपछि लगाइने कपडा पनि सुकिलो हुनुपर्छ ।
यसपछि ध्यान गर्न सुझाइएको छ । जसरी शरीरलाई ब्यायामको आवश्यकता पर्छ, त्यसरी नै हाम्रो दिमागलाई पनि ब्यायामको जरुरी हुन्छ । ध्यान हामी आफ्नो रीतिअनुसार पनि गर्न सक्छौँ, जस्तो कि पूजा गर्ने वा प्रार्थना गर्ने । आफ्नोसामु कुनै दियो वा मैनबत्तीलाई राखेर त्यसको ज्योतिलाई ‘फोकल पोइन्ट’ बनाएर पनि ध्यान गर्न सकिन्छ । यो मानसिक ब्यायामले दिनभरि गर्नुपर्ने काममा ध्यान केन्द्रित गर्न हामीलाई सघाउँछ । यसले मनबाट बेचैनी हटाउन मद्दत गर्छ ।
मेडिटेसन खाली पेटमै किन गर्ने ? बिहानको नास्तापछि किन नगर्ने ?
किनकि, खाना खाएपछि पाचन प्रणाली सक्रिय हुन्छ । यसैको प्रक्रियामा रक्त सञ्चार व्यस्त हुन्छ । ध्यानका बेला यसले दिमागलाई पूर्णतः साथ दिँदैन । त्यसैले मेडिटेसन सधैँ खाली पेटमै गर्नुपर्छ भनिएकाे हो । यसपछि हामी बिहानको नास्ता खान सक्छौँ । ‘ब्रेकफास्ट’ घाम उदाएपछि मात्रै गर्नुपर्छ । यसको कारण के हो भने, जसरी सूर्य आकाशमा चर्किंदै जान्छ, उसैगरी हाम्रो शरीरको अग्नि तत्त्व सक्रिय हुन थाल्छ । तपाईंले कति ख्याल गर्नुभएको छ, तपाईं सूर्योदयभन्दा पहिला उठ्नुभयो भने तपाईंलाई भोक लागेको हुँदैन । कुनै पनि स्वस्थ व्यक्तिलाई अक्सर सूर्योदयको एक वा दुई घण्टापछि मात्रै भोक लाग्छ । किनकि यो समय तालिकामा शरीरको ‘मेटाबोलिक एक्टिभिटिज’ सुरु हुन्छ र बाँकी इन्द्रीय खाना ग्रहण गर्नका लागि तयार हुन्छन् ।
भाेजन
बेलुका खाएको खानेकुरा पचेपछि मात्रै बिहान खाना खान आयुर्वेद संहिताले सुझाएको छ । यसको अर्थ, आफूलाई खान मन नलागी खान हुँदैन । आयुर्वेदले हामीलाई बिहान सजिलै पचाउन सकिने गरी ‘लाइट फुड’ खान सुझाएको छ । किनकि, शरीरको पाचन प्रणाली रातभर ‘रेस्ट’मा रहेको हुन्छ । यस्तोमा हेभी ब्रेकफास्ट गर्दा प्राचन क्रियामा खराब असर पर्न सक्छ । खानामा ६ स्वाद हुनुपर्छ भनिएको छ । आयुर्वेदले पानी पिउने सन्दर्भमा पनि जथाभावी नगर्न भनेको छ । जस्तो कि हामीमध्ये धेरैलाई जति धेरै पानी पिइयो, शरीरलाई उति धेरै फाइदा भन्ने लाग्छ । तर, आयुर्वेद संहिताले आफूलाई तिर्खा लागेपछि मात्रै आवश्यकताअनुसार पानी पिउन सुझाएको छ । खाना खानुभन्दा ४० देखि ५० मिनेट अगाडि, खानाको बीचबीचमा थोरै र खानापछि केही बेर नपिउनू भनिएको छ । धेरैले खाना खाएका बेला पानी नपिउनू भन्ने गरेको सुनिन्छ । तर, खाना खाएका बेला बीचबीचमा थोरथोरै पानी पिउनुलाई असाध्यै फाइदाजनक मानिन्छ ।
बिहानकाे ब्रेकफास्टको आधा घण्टापछि हामी आफ्नो काममा लाग्न सक्छौँ । यसपछि साढे १२ देखि १ बजेसम्म कामलाई निरन्तरता दिन सकिन्छ ।
दिउँसो १ बजेलाई ‘लन्च’ का लागि उपयुक्त समय मानिन्छ । यो समयमा सूर्य सबैभन्दा तेज र तीव्र हुन्छ । दिनको यो खानालाई हाम्रो शरीरले सबैभन्दा राम्रो तरिकाले ग्रहण गर्छ । र, शरीरलाई सबैभन्दा बढी तागत दिन्छ ।
दिउँसो किन सुत्न हुँदैन ?
दिउँसाे सुत्ने धेरैकाे बानी हुन्छ । तर, आयुर्वेदले दिउँसो सुत्ने कुरालाई प्रोत्साहन गर्दैन । गर्मीका बेला तापमान हदभन्दा बढी भएको अवस्थामा एनर्जी कन्जर्भ गर्नका लागि थोरै समयका लागि आराम गर्न आवश्यक हुन्छ । यसमा पनि शरीरकाे प्रकृतिअनुसार आरामकाे समय वर्गीकरण गरिएकाे छ ।
कफ प्रकृतिकाे शरीर भएका मानिसले दिउँसो नसुत्नू भनिन्छ । पित्त प्रकारका मानिसले करिब २० मिनेट आराम गर्न सक्छन् । पित्त प्रकारका मानिस केही लामो समयसम्म सुत्न सक्छन्, किनभने उनीहरू रातमा पनि कम सुत्छन् ।
खाना र आरामपछि सामान्य दैनिकी बेलुकासम्म निरन्तर गर्न सकिन्छ । आयुर्वेदमा सन्ध्याकालीन गतिविधिमा निकै जोड दिइएको छ । हरेक व्यक्तिले आफ्नो जीवनमा रमाइलो साँझका लागि कम्तीमा एक यस्तो बानी विकास गर्न आवश्यक छ, जुन दैनिक ड्युटी वा कामभन्दा फरक होस् । चाहे त्यो कुनै खेल होस्, पेन्टिङ होस्, म्युजिक होस् वा परिवारसँग गरिने कुनै गतिविधि होस् । आयुर्वेदले केमा पनि जोड दिन्छ भने, यस्तो गतिविधि आफ्नो परिवारजनसँग मिलेर गर्दा उत्तम हुन्छ ।
राति किन अबेर खान हुँदैन ?
सूर्यास्त भएपछि शरीरको पाचन क्षमता निकै सुस्त हुन्छ । त्यसैले बेलुकाको खाना सूर्यास्तको केही समयभित्रै खानु राम्रो हुन्छ । करिब ८ बजेभित्रै ।
सूर्यास्तको धेरै समयपछि हामीले खाना खायौँ भने पाचन प्रक्रियामाथि दबाब पर्छ । खाना खाएको समय र सुत्ने समयका बीच कम्तीमा २ घण्टाको अन्तर हुनैपर्छ भनिएको छ । यसो गर्दा हाम्रो शरीरमा भइरहेको ‘म्युकस सेक्रेसन’ नियन्त्रित रहन्छ । खाना खानेबित्तिकै सुतिहाल्नु मोटोपनको कारण बन्न सक्छ । यसो गर्दा शरीर भारी महसुस हुन्छ । र, दिमागको सोच सक्रियता पनि घट्न सक्छ । यसका कारण अन्य विभिन्न स्वास्थ्य समस्या आइपर्न सक्छ ।
तपाईंलाई लाग्यो होला, सुतेपछि हाम्रो दैनिक रुटिन सकियो । तर होइन । यहाँ त दिनचर्या मात्रै सकिएको हो । यसपछि रात्रिचर्या सुरु हुन्छ, जसमा हामी मान्छे सुत्छौँ । तपाईंले प्रकृतिलाई नियाल्नुभयो भने थाहा पाउनुहुनेछ, गनेचुनेका प्रजातिहरू राति सुत्दैनन् । खासगरी सिकारका लागि । जस्तै उल्लु । बाँकी धेरै प्राणी रातको समयमा सुत्ने गर्छन् । मान्छे पनि त्यही जेनेटिक क्याटेगोरीमा पर्छ । त्यसैले राति अबेरसम्म नसुत्नु स्वास्थ्यका लागि राम्रो कुरा होइन । आयुर्वेदमा त सुत्नका लागि खाट वा पलङको आकार प्रकारको समेत चर्चा गरिएको छ । जस्तो कि बेडको हाइट मान्छेको घुँडाको हाइटभन्दा अग्लो हुन हुँदैन आदि । कफ प्रकारको मानिसले कम समय अर्थात् ८ घण्टाभन्दा कम सुत्ने गर्नुपर्छ । ताकि शरीर धेरै समयसम्म सक्रिय नै होस् । पित्त प्रकारका मानिसले ७ देखि ८ घण्टासम्म सुत्नु राम्रो मानिन्छ । वात प्रकारको शरीर भएका मानिसले ८ घण्टाभन्दा बढी सुत्न सक्छन् । किनकि, उनीहरूको ‘स्लिपिङ प्याटर्न’ अनियमित (डिस्टर्ब) हुन्छ ।
आयुर्वेद संहितामा वर्णित दिनचर्यालाई मैले संक्षेपमा प्रस्ट पार्ने प्रयास गरेँ । विस्तृतमा गइयो भने बिहान उठेदेखि राति सुत्नुअघिसम्म आयुर्वेदले अत्यन्तै सूक्ष्म तबरले मनुष्यका लागि तोकेका दैनिक नियम धेरै नै छन् । तर, कम्तीमा माथि उल्लेख गरिएका नियमलाई दैनिक जीवनमा लागू गर्न सकियो भने आरोग्यता मिल्छ । हामीमध्ये कतिपयको वास्तविकता ठीक उल्टो पनि हुन सक्छ । तर, हामीले आफ्नो स्वास्थ्यका लागि स्वस्थ बानीको निर्माण गर्नुपर्छ ।
(सुष्मा साउद धुलिखेलस्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा बीएएमएस थर्ड प्रोफेसनलमा अध्ययनरत छिन्)
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८० १०:३३