स्थानीय चुनावअघि सीमित वृत्तमा चिनिन्थे हर्क साम्पाङ राई । सामाजिक गतिविधिमा सक्रिय उनी एक्लै भाषण गर्दै हिँड्थे । कतिपयले उनलाई ‘धरानको मुकुन्दे’ भन्थे ।
धरानकै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाट ओभरसियर पास गरी काठमाडौं छिरेका मुकुन्द घिमिरे (मुकुन्दे) रत्नपार्कमा भाषण गरेर चर्चित बनेका थिए । यसपालि मुकुन्द पनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् ।
तीन वर्षअगाडि भएको उपनिर्वाचनमा भाग लिएका हर्कले जम्मा ४ सय २२ मत पाएका थिए । तर गत वैशाखकाे स्थानीय चुनावमा धरान उपमहानगरपालिकामा दलका सबै उम्मेदवारविरुद्ध अभूतपूर्व जित हात पारेपछि हर्क साम्पाङ थप चर्चित बने ।
धरानबाहिरका मान्छेले पनि हर्कको तारिफ गरे । सामान्य आर्थिक अवस्था भएका हर्क ४-५ वर्ष अफगानिस्तान वार जोनमा मजदुरी गरी फर्केका थिए । एक दशकयता धरानमा उनी सामाजिक अभियन्ताका रूपमा सक्रिय थिए । जनताको पक्षमा निर्भयसाथ बोल्थे । लक्ष्यमा अटल थिए । राजनीतिक दललाई खुल्लमखुल्ला चुनौती दिँदै फेरि स्वतन्त्र उम्मेदवारकै रूपमा चुनावी मैदानमा उत्रेका थिए ।
खासगरी धरानले भाेगिरहेकाे खानेपानी समस्या उनको मूल मुद्दा थियो । त्यसमाथि उम्मेदवारी मनोनय दर्ता गर्न जाँदा कर्मचारी, सुरक्षाकर्मीले नपत्याएर छिर्नै नदिएको एउटा भिडियो सार्वजनिक भएपछि त हर्कको सादगीप्रति मानिसहरू झनै नतमस्तक बने ।
मेयर भएपछि उनी आफैँ फिल्डमा खटिए । ‘श्रमदान’को नारा दिएर देखिने खालका केही काम पनि गरे । उनले अझै ताली पाए । कुनै बेला फेसबुकमा केही हजार फलोअर्स भएका हर्कलाई यतिबेला साढे चार लाखभन्दा बढीले फलो गरिसकेका छन् । यसको अर्थ, उनको कामलाई मानिसहरू नियालिरहेका छन् । कतिपयले त आफ्नो पालिकामा पनि हर्कजस्तै मेयरको खाँचो रहेको बताउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
अनि बदलिए हर्क
२९ साउनमा काठमाडौं आएर फर्केपछि भने हर्क साम्पाङ पहिलाजस्तो रहेनन् । बञ्चरेडाँडामा अवरोध भएकाले काठमाडौंको फोहोर नउठेको विषयलाई उनले महानगरपालिकाका मेयर बालेन्द्र साहको ‘नाकामी’ भन्ने आशयमा फेसबुकमा लेख्न थाले । बालेनको खिसी टिउरीसमेत गरे । बालेन र हर्क दुवै स्वतन्त्र उठेर जितेका हुन्, जो आ-आफ्नै पृष्ठभूमिका कारण लोकप्रिय छन् । फोहोरको विषयलाई लिएर दुई मेयरबीच सामाजिक सञ्जालमा घोचपेचसमेत भएको थियो ।
केही जवाफ दिएपछि बालेन चुप लागे । तर हर्क रोकिएनन् । खबरदारीका नाममा उनले निरन्तर कटाक्ष गरिरहे । नियम उल्लङ्घन गरी बनाइएको संरचना हटाउने काठमाडौं महानगरको अभियानमा टिप्पणी गर्दै चार दिनअघि उनले लेखेका थिए, ‘गुण्डागर्दीको शैलीमा विकास हुँदैन, जनताभन्दा ठूलो कोही हुँदैन ।’ उनकाे याे पाेस्टमुनि २१ हजारभन्दा बढी कमेन्ट छन्, जसमा धेरैजसाेले हर्कलाई गाली गरेका छ्न ।

त्यो दिन नयाँ बानेश्वरस्थित ‘अल्फा हाउस’का सञ्चालक द्विराज शर्मा र मेयर बालेनबीच चर्काचर्की भएको थियो । शर्माले बालेनलाई ‘तपाईं डन हो ?’ भन्दै प्रश्न पनि गरेका थिए ।
हर्कका यस्ता स्टाटस बालेनका समर्थकलाई ‘हजम’ भएन । उनीहरूले कमेन्ट बक्समा कडा प्रतिक्रिया जनाए । हर्क थप उत्तेजित भए ।
पहिलापहिला स्थानीय मुद्दाबारे मात्रै स्टाटस लेख्ने हर्क अचेल आलोचकविरुद्ध दिनमै दर्जनबढी स्टाटस लेख्न थालेका छन् । ताल परे दुई/तीन पल्टसम्म फेसबुक लाइभमा समेत देखिन्छन् । र, उनलाई फलो गर्ने सबैले उनको समर्थनमा ‘ताली’ बजाउन पनि छाडेका छन् । विगतमा उनका खातिर बोल्नेमध्ये अधिकांशले आज उनैलाई गाली गरिरहेका छन् । आफूलाई खबरदारी गर्नेलाई समेत उनले आफ्नो विरोधी देख्न थालेका छन् । कतिपयले उनलाई फेसबुक कम चलाउन सुझाएका छन् । उनका हरेक पोस्टमुनि फेसबुक कम चलाउन दिइएका रायहरू बाक्लै देखिन्छन् ।
आलोचना सहन नसकेर आफ्ना विरोधी बढेको बताउने हर्क स्वयम्चाहिँ आलोचना र खबरदारीलाई समेत विरोध ठानेर प्रतिक्रिया जनाउँछन् । केही दिनअघि नेपाल समयका संवाददाता कौशल काफ्लेले कलिला विद्यार्थीलाई श्रमदानको नाममा प्रयोग नगर्न भन्दै फेसबुकमा ध्यानाकर्षण गराउँदा मेयर हर्कले कमेन्टमा ‘गफ नदे’ लेखेका थिए ।

मेयर हर्कले श्रमदान नगर्ने विद्यार्थीलाई फेल गराउने नियम लागू गर्नेसमेत बताएका थिए । फेसबुकमा उनले लेखेका थिए, ‘धरानको विकासका लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू गरिनेछ । श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन, प्रतिकात्मक हुनेछ विद्यार्थीको सहभागिता ।’
इन्जियनियरिङका विद्यार्थीलाई चाेट
काठमाडाैंका मेयर बालेनलाई कटाक्ष गर्ने क्रममा एक अन्तर्वार्तामा हर्कले इन्जिनियर राजनीतिमा नआएर घर बनाउन जानुपर्ने टिप्पणी गरेका थिए । इन्जिनियरले नीति बनाउन नसक्ने उनको तर्क थियो । उक्त अभिव्यक्तिलाई इन्जिनियर पेसाप्रतिको अपमान भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले मेयर हर्कको राजीनामा मागेका थिए ।
साताअघि एक युट्युबमा हर्क साम्पाङसँगै बसेर अन्तर्वार्ता दिएका प्रा.डा. सुरेन्द्र केसीसमेत हर्कको अभिव्यक्तिविरुद्ध बोल्न थालेका छन् । हालै एक युट्युबलाई दिएको अन्तर्वार्तामा केसीले इन्जिनियरबारे हर्कको बाेली सर्वथा अनुचित भएकाे बताएका छन् ।
केही दिनअघि हर्कले वैदेशिक रोजगारीमा जानेहरूले शौचालय सफा गर्छन् भन्ने आशयमा स्टाटस लेखेका थिए । उक्त पोस्टमुनि विदेश बस्ने थुप्रै नेपालीले उनलाई प्रतिगाली गरेका छन् ।
‘ए दाजु टिकाटिप्पणी अलि कम गर्नुस् न हौ, के साह्रो थेत्तरो भा ?’ उदयपुरकी झरना गहतराज अचेल हर्कका अक्सर पोस्टमुनि यस्तै सुझाव दिन्छिन् । कुनै बेला उनी हर्ककी कट्टर समर्थक थिइन् । तर, आफ्नै हिसाबले काम गरिरहेका बालेनलाई कटाक्ष गर्दै हर्कले लेख्ने फेसबुक स्टाटस उनलाई पटक्कै चित्त बुझ्दैन ।
कुनै बेला हर्क साम्पाङले शेयर गर्ने पोस्टमुनि गालीगलौजयुक्त कमेन्ट शून्यप्राय: हुन्थे । हिजोआज आधाभन्दा बढीले उनलाई गाली गर्ने गरेका छन् । उनकै एक पोस्टमा प्रतिक्रिया जनाउँदै खोटाङका रविन तामाङ लेख्छन्, ‘मेयर सा’ब, तपाईंको हरेक पोस्टमा अस्तिसम्म लभ रियाक्ट आउँथ्यो । सोच्नुस्, आजभोलिको पाेस्टमा के आउँदै छ ? एक-एक मिनेटमा काम नपाएको/नभएको मान्छेजस्तो पोस्ट मात्र, त्यै पनि ढुङ्गाको मात्र । कहिले सकिएला मेयर सा’बको यो ढुङ्गाको काम ?’
नेपालगञ्जका ईश्वर जोशी सुझाउँछन्, ‘एउटा डोजर लगाउनुस् । तपाईंले १ वर्षमा गर्ने काम एक दिनमा सकिन्छ । ३ सय ६४ दिन सुत्नुहोला । आखिर ढुङ्गै बोक्न मात्र हो भने ।’
धरानकी मनिता राई लेख्छिन्, ‘खै हाम्रा मेयर पहिला त राम्रै हुनुहुन्थ्यो । काम पनि राम्रै गर्दै हुनुहुन्थ्यो । काठमाडौं गएसी के भएर आउनुभयो । ठूलठूला नेताले गिदी हल्लाई पठायो कि क्या हो ! तीनछक परेँ । मेयर हर्क साम्पाङसँग आशा भरोसा लागेको थियो, खै के खै के अहिले त, उफ् !’
केही दिनअघि स्थानीय ब्लास्ट पत्रिकाले समाचार लेखेको थियो, ‘जथाभावी शब्द प्रयोग गर्दै नगर प्रमुख राईः प्रमुखका शब्दले धराने लज्जित भएका छन् ।’ जवाफमा हर्कले आफूले फत्ते गरेका कामको रिपोर्टिङ पत्रिकाले नगरेको भन्दै स्टाटस लेखे । तर, कमेन्टमा उल्टै उनलाई गाली आयो ।
हर्कले लेखेको पोस्टमुनि फिरन्ते सन्न्यासी नामका प्रयोगकर्ताले यस्तो कमेन्ट गरेका छन्, ‘तपाईंको कामलाई सबैले विरोध होइन, सम्मान र समर्थन गरेका छन् । अझै पनि बुझ्नुभएन भने केचाहिँ बुझ्नुहुन्छ ? विरोध तपाईंको थुतुनो र घमण्डको मात्रै गरेको देखेको छु, जुन तपाईंले गर्नै नहुने हो । ढुङ्गाले बुझ्थ्यो होला अहिलेसम्म त, तर तपाईंले आफू सकिइसकेपछि मात्रै बुझ्नुहुनेछ । चाँडै चेत खुलोस् ।’
कतिपयले उल्टै हर्कलाई उडाउन थालेका छन् । ‘म हल्का बिजी थिएँ । यता २०औँ पोस्ट दनक गइसकेछ नि ! आज बाजी जितियो बुढा, २० वटा पोस्ट कन्फर्म आउँछ भनेको, आइहाल्यो नि । धन्यवाद मेयर साहेब बाजी जिताइदिनुभएकोमा’, सुसन कँडेल नामका फेसबुक प्रयोगकर्ताको कमेन्ट ।
काम राम्रो तर बोली भएन
धरानमै बस्ने भाषाविद् प्रा.डा. टंकप्रसाद न्याैपाने मेयर हर्कले काम राम्राे गरिरहेकाे भए पनि बाेलीचाली ठीक नभएकाे बताउँछन् । हर्कले फेसबुकमा चोर, दलाल, नाथे, झ्यासहरूजस्ता शब्द लेख्ने गरेका छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिले आलोचना वा प्रतिटिप्पणीका लागि शब्द चयन गर्दा ध्यान दिनुपर्ने प्रा.डा. न्याैपानेकाे भनाइ छ । 'यस्ता व्यक्तिलाई आदर्श मान्ने पुस्ता पनि हुन्छ । अनि आफ्नो आदर्श व्यक्तिले गाली, कुण्ठा, आक्रोशयुक्त शब्द प्रयोग गर्दा उनीहरूले के सिक्छन् ?' डा. न्याैपाने प्रश्न गर्छन् ।
मेयर हर्कले कूटनीतिक मर्यादा कायम राख्न नसकेको उनको निचोड छ । 'मेयर हुनुअघि उहाँ आन्दोलनकारी हुनुहुन्थ्यो, त्यसैले कडा बोलीलाई धेरैले सामान्य ढङ्गले लिन्थे', न्यौपानेले शिलापत्रसित भने, 'आज उहाँ मेयर हुनुहुन्छ । काम पनि राम्रैसँग गरिरहनुभएकाे छ तर उहाँले कूटनीतिक मर्यादाचाहिँ कायम राख्न सक्नुभएकाे छैन ।'
श्रमदान नगरे विद्यार्थीलाई अनुत्तीर्ण गराइदिने भनेर मेयर हर्कले अधिकार क्षेत्रभन्दा बाहिर गएर बोलेको प्राध्यापक न्यौपानेकाे भनाइ छ । 'विद्यार्थीलाई पास/फेल गराउने अधिकार स्थानीय तहलाई हुन्छ र ?', न्याैपाने प्रश्न गर्छन्, 'श्रम संस्कृति सिकाउने नाममा यसरी गलत बाटो चुन्नु त भएन नि !'
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९ १४:२०