स्थानीय चुनाव हुनुअघिसम्म धरानकाे मेयरमा एमालेकी मञ्जु भण्डारी र गठबन्धनका तर्फबाट कांग्रेसका किशाेर राईबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान थियाे । त्यसैले यी दुई उम्मेदवार बाहेकको चर्चा त्यत्रो विघ्न भएन, धरानमा ।
न त मिडियाले नै उल्लेख्य कभरेज गरे । तर, निर्वाचनको परिणामले भने धरानको राजनीतिक विश्लेषण नै उलटफेर गरिदिएकाे छ । धराने मतदाताले पहिलो पटक स्वतन्त्र उमेदवार हर्क साम्पाङलाई आफ्नाे शहरकाे मेयर चुनेका छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बा मेयर बने । उनकाे २०७५ साउनमा निधन भयो । त्यसपछि भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राई मेयर निर्वाचित भए ।
वामपन्थी उमेदवारहरूलाई मात्र मेयर बनाउने धराने मतदाताले पहिलोपटक गैरवामपन्थी उम्मेदवार राईलाई मेयर बनाएका थिए । राजनीतिक क्रमभङ्ग भएको उपनिर्वाचनमा अहिले मेयरमा निर्वाचित हर्क साम्पाङको समेत सम्बन्ध जोडिन्छ ।
तीन वर्षअगाडि भएको उपनिर्वाचनमा समेत साम्पाङ सहभागी भएका थिए– स्वतन्त्र रूपमा । तिलक राईले जितेको त्यो चुनावमा साम्पाङ पाचाैँ भएका थिए । उपनिर्वाचनमा साम्पाङले ४२२ मत मात्र ल्याए ।
हुन त हर्क साम्पाङ विगत एक दशकदेखि धरानमा देखिरहेका सामाजिक अभियन्ता हुन् । ४-५ वर्ष अफगानिस्तान वारजोनमा समेत काम गरेका साम्पाङ अहिले यातायात व्यवसायी हुन् ।
पेसासँगै सामाजिक आन्दोलनमा समेत समय दिँदै आएका साम्पाङ सुरुवाती दिनमा सर्दु जलाधार क्षेत्र संरक्षण अभियानबाट सामाजिक काममा लागेका थिए ।
धरानका अगुवा कृष्णनारायण पालिखे नेतृत्वमा बनेको ‘जनसरोकार मञ्च’ मा रहेर साम्पाङले अभियानमा योगदान दिएका थिए । सर्दु जलाधार क्षेत्रमा मुआब्जा पाइसकेका मानिसहरूले पनि भू–माफियासँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि धरानमा त्यसको विरुद्धमा अभियान चलेको थियो ।
अढाई वर्षअघिको उपनिर्वाचनमा पाचौँ भएका साम्पाङलाई योपटक कसरी जनताले पत्याए त ? खास चुनाव जित्ने तपाईंको आधार के थियो ? यो निर्वाचनमा तपाईंको कमब्याक कसरी भयो भन्ने शिलापत्रको प्रश्नमा साम्पाङ भन्छन्, ‘कमब्याकको स्थिति त के भन्ने र । मैले निरन्तरता दिएँ । अरू चुनाव हारेर कता जानुभयो, धराने जनताले देखेनन् । मचाहिँ जनताकै बीचमा थिएँ । धराने जनताको समस्या उठाएरै बसेँ । त्यसैले मलाई जनताले पत्याएका हुन् ।’
०००
सामाजिक आन्दोलनमा सक्रिय साम्पाङलाई धरानका जनताले खानेपानीको विषयले मेयरको पदसम्म ल्याए । धरान उपमहानगरभित्र पानीको समस्या समाधान गर्न एसियाली विकास बैंक (एडीबी) को २ खर्ब १६ करोड अनुदानमा खानेपानी आयोजना सुरु भयो ।
धरान बजारनजिकै चारकोसे जङ्गलबाट भूमिगत इनार खनेर प्रतिदिन १ करोड ५२ लाख लिटर पानी ल्याउने आयोजनाको लक्ष्य थियो । चारकोसे जङ्गलको भूमिगत स्रोतबाट पानी निकालेर वितरण गरेमा धरानको पानीको समस्या समाधान हुने तत्कालीन नगरपालिकाको योजना थियो ।
दलीय संयन्त्रको निर्णयका आधारमा चलेको धरान नगरपालिकाको त्यो योजना धरान सरोकार मञ्चले फेल हुने दाबी गरेको थियो । मञ्चको अभियानमा रहेका साम्पाङलगायतले खानेपानीको समस्या समाधान गर्न चारकोसेबाट होइन, सप्तकोसीबाट ल्याउनुपर्छ भन्थे ।
त्यतिबेलादेखिनै साम्पाङ जङ्गलमा कुवा खन्ने र पम्पिङ गरेर पानी ल्याउने योजनाका सम्बन्धमा विरोध जनाउँदै आएका थिए । अहिले त्यही आयोजना भने सम्पन्न भएको छ । तर, धराने जनताले भने खानेपानीको समस्या उस्तै गरी भोगिरहेका छन् ।
अभियानले गरेको मागझैँ अहिले चारकोसेबाट निकालिएको पानीले धरानको खानेपानी समस्या समाधान भएको छैन । अहिले धरानमा दिन बिराएर पानी आउँछ, त्यो पनि एक डेढ घण्टा मात्र । त्यही विषयको एजेण्डा साम्पाङले चुनावमा होमिदा बोकेका थिए ।
खासमा पानीको मुद्दा बोक्न किन हुटहुटी चल्यो भन्ने शिलापत्रको प्रश्नमा साम्पाङ भन्छन्, ‘एक समय म अफगानिस्तान बसेँ । अधिकांश ठाउँमा त्यहाँ मरभूमि छ । तर, त्यहाँ पनि पानीको दुःख नहुने । अनि घर आयो यहाँचाहिँ पानी नै नहुने । वर्षको छ–सात महिना वर्षा नै हुन्छ । त्यसमाथि सप्तकोसीको छेउमा छ धरान । यहाँ चैँ पानीको हाहाकारको स्थिति । अनि कति टाढाबाट पानी किनेर खानुपर्ने बेला थियो र छ । त्यही विषयलाई समाधान गर्छु भनेको हो । अब त्यो गर्छु पनि ।’
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ १७:०९