नेपाल वायुसेवा निगमअन्तर्गत विभिन्न कर्मचारी संघसंगठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई बर्खास्त गर्न माग गरेका छन् । पदीय मर्यादा र आचरणविपरीत कर्मचारी भर्तीको दबाब दिँदै निगमका कार्यकारी अध्यक्षमाथि हातपात गरेका मन्त्री आलेलाई पदबाट हटाउन ती संगठनले माग गरेका हुन् ।
नेपाल वायुसेवा निगम कर्मचारी संघ, नेपाल वायुसेवा निगम कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मन्त्रीले निगमलाई धरासायी बनाउने उद्देश्यले ८० भन्दा बढी कर्मचारी भर्ती गर्न दबाब दिएकाे, नमान्दा कार्यकारी अध्यक्षमाथि हातपात र अश्लील गाली गरेकाेप्रति आपत्ति जनाएका छन् ।
नेपाल वायुसेवा निगम कर्मचारी संघका उपाध्यक्ष देवेन्द्र पुन र महासचिव नेत्रराज राउतले हस्ताक्षर गरेकाे विज्ञप्तिमा मन्त्रीपरिषद्को निर्णयबाट नियुक्ति भई आएका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई मन्त्रीले हातपात गर्नु निन्दनीय भएको उल्लेख छ । निगमको वित्तीय अवस्थामा समेत सुधार भइरहेको अवस्थामा पर्यटनमन्त्री आलेले अध्यक्षलाई निगमविपरीतका कार्यहरू गर्न दबाब दिएकाे, अश्लील गालीगलौज र हातपात गरेकाे घटनाप्रति संघले खेद प्रकट गरेकाे छ ।
मन्त्रालयबाटै मासिक ज्यालादारीमा ८० भन्दा बढी व्यक्तिलाई नियुक्ति दिनु निगमजस्तो संस्थामा हस्तक्षेप गर्नु र राजनीतिक विकृति फैलाउने कार्य भएको विज्ञप्तिमा उल्लेख छ । उक्त घटनालाई तत्काल छानबिन गर्नसमेत संघले माग गरेको छ ।
नेपाल वायुसेवा कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले विज्ञप्ति जारी गर्दै निगमलाई राजनीतिक भर्तीकेन्द्र बनाउन खोजिएको बताएका छन् । युनियनले कर्मचारी व्यवस्थापनका लागि पदपूर्तीसम्बन्धी विज्ञापन तथा बढुवा तत्काल अगाडि बढाउन, पुराना कर्मचारीलाई प्राथमिकता दिई कार्यसम्पादनको नियुक्ति दिनुपर्ने बताएको छ ।
६४ वर्षसम्म अनवरत स्वायत्त निकायकारूपमा सञ्चालित नेपाल वायुसेवा निगमलाई भर्तीकेन्द्र बनाउने मनसायसहित निगमका कार्यकारी प्रमुखमाथि भएकाे दुर्व्यवहार निन्दनीय भएकाे उनले बताए । युनियनले पर्यटनमन्त्री आलेलाई बर्खास्त गर्न माग पनि गरेको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल वायुसेवा निगमका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र शाहले विज्ञप्ति जारी गर्दै मन्त्री आलेले गरेको गालीगलौज तथा हातपातप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ १२:१५