संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र अछामका जगत ओलीबीच फेसबुकबाटै चिनजान भएको थियो । भारतको मुम्बईमा कामगरी बस्ने जगतका अनुसार गत साउनमा उनले आलेलाई पहिलोपल्ट फोन गरेका थिए ।
‘फेरि मन्त्री हुन एमाले छोडेर शेरबहादुर देउवा सरकारमा जान लागेको समाचारबारे मैले उहाँ (आले) लाई सोधेँ । उहाँले समाचार झुठो हो भाइ भन्नुभयो । मैले पत्याएँ’, आफूलाई कुनै पनि दलको भन्न नरुचाउने जगतले शिलापत्रसितको टेलिफोन संवादमा भने, ‘त्यसयता हिजो दोस्रोपल्ट उहाँले नै मलाई फोन गर्नुभएको हो ।’
आफूले विभिन्न न्युज पोर्टलका फेसबुक पेजमा प्रेम आलेबारे आएका समाचारमा लेखेको कमेन्टकै कारण मन्त्रीले आफूलाई फोनमा गाली गरेको जगतको दाबी छ । ‘हिजो १४ फेब्रुअरीमा उहाँले मलाई फोन गरिरहनुभएको थियो । एकपल्ट त उठाएँ । तर रिसले ए जगते भनेपछि गाली गर्ने थाहा पाएर मैले ६ सेकेन्डमै फोन काटिदिएँ’, उनले भने ।
जगतले पठाएकाे स्क्रिनसट ।मन्त्रीले गाली गर्छन् भनेरै आफूले अडियो रेकर्ड गरेको उनको भनाइ छ । आफ्नो मोबाइलमा मेसेन्जर कल रेकर्ड नहुने भएपछि ल्यापटपको प्रयोग गरी कल रेकर्ड गरेको जगतले बताए । आफूले रकमको बार्गेनिङ गरेको प्रमाण कसैले देखाए जस्तोसुकै सजाय भोग्न तयार हुने उनकाे दाबी छ ।
जगतको भनाइः
मेरो र उहाँको त्यस्तो गहिरो चिनजान होइन । उहाँ डोटीको, म अछामको हुँ । तर फेसबुकमा साथी थियौँ । केपी ओलीको सरकार ढल्ने निश्चित भएपछि मसित ८ सांसद छन् भन्दै मन्त्री माग्न शेरबहादुर देउवाको घर बूढानिलकण्ठ पुगेको समाचार पढेर मैले उहाँलाई यसबारे सोध्न फोन गरेको थिएँ । उहाँले त्यस्तो केही होइन भाइ भन्नुभयो । तर साउनमा देउवालाई विश्वासको मत दिएर मन्त्री हुनुभयो । अनि ‘तपाईंजस्तो मान्छेलाई के साथी बनाउनु’ भन्ने मेसेज लेखेर मैले फेसबुकबाट अन्फ्रेण्ड गरिदिएँ । तर मेसेन्जरमा चाहिँ जोडिएकै थियौँ ।



उहाँलाई राम्रोसित मेसेज लेख्न आउँदैन । त्यसैले डाइरेक्ट कल हान्नुहुन्छ । हिजो उहाँले राति १० बजेर ५० मिनेटदेखि मेसेन्जरमा कल हान्न थाल्नुभयो । मैले केही काम थियो कि भनेर साेधेँ । तर फेरि पनि उहाँले कल गरिराखेपछि मैले १० बजेर ५३ मा उठाएँ । सुरुमै उहाँले ‘ए जगते’ भनेपछि मलाई थाहा भईहाल्यो–अब यो मान्छेले मलाई गाली गर्छ । त्यसैले ६ सेकेन्डमै कल काटेँ र ल्यापटपबाट रेकर्ड गरेको हुँ । मन्त्री पदमा बसेको मान्छेले बोल्ने भाषा सबैसामु ल्याएको हुँ । अडियोमा मैले पनि खराब शब्द बोलेको छु । मलाई यसप्रति लाज पनि लागेको छ ।
अहिले मैले पैसाको बार्गेनिङ गरेको भन्दै च्याट देखाइँदैछ । त्यो कसैले पुष्टि गर्न सक्छ भने म फाँसीमा चढ्न पनि तयार छु । तर त्यो प्रमाणित भएन भने म मन्त्री आलेलाई मुद्दा हाल्छु ।
पहिला समर्थक थिए, पछि बार्गेनिङ गरे : मन्त्रीकाे सचिवालय
मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार, जगत ओली विगतमा प्रेम आलेका समर्थक थिए । ‘वनमन्त्री हुँदादेखि नै ऊसहित केही व्यक्ति मिलेर मन्त्रीज्यूको विभिन्न फेसबुक पेज बनाएर चलाउँदा रहेछन् । तर पछि ती आइडीहरू उनीहरूले दुरुपयोग गर्न थाले । मन्त्रीको नाम लिँदै बार्गेनिङ गर्न थालेको सूचना पाएपछि हामीले उजुरीसमेत गरेका थियौँ’, रेग्मीले शिलापत्रसित भने ।
हालै सार्वजनिक भएको २ मिनेट ४० सेकेन्डकाे अडियो पनि बदनाम गर्ने उद्देश्यले प्रेरित रहेको उनको दाबी छ । ‘फरक सन्दर्भमा बोलेका आवाजलाई तोडमोड गरी, जोडजाड गरी बनाइएको छ’, रेग्मीले भने, ‘यो बदमासीविरुद्ध हामी कानुनी उपचार खोज्छौँ ।’
सार्वजनिक टीकाटिप्पणी व्यापक भएपछि मन्त्री आलेका स्वकीय सचिव रेग्मीले प्रेस विज्ञप्ति जारी गरी यसबारे स्पष्टीकरण दिएका छन् ।
यस्तो छ उनले जारी गरेको प्रेस वक्तव्यः


प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८ १६:५९