मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारका लगानीकर्ता निराश भए । ठूला लगानीकर्ताले शेयर धितोकर्जामा गरिएको कडाइको खुलेरै विरोध पनि गरे । तर, बजारले भने यसको विपरीत व्यवहार देखाइरहेको छ ।
मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट नै नेप्से सूचक घट्ने आँकलन गलत साबित हुँदै कारोबार रकममा नयाँ कीर्तिमान कायम गर्यो । दुई महिना अगाडिसम्म दैनिक अधिकतम १९ अर्ब रहेको कारोबार त्यसपछिका केही दिन अधिकतम आठ अर्बमा झरेको थियो । पछिल्ला दिनहरूमा भने कारोबार रकम ह्वात्तै बढेर २१ अर्बको हाराहारीमा पुगेको छ ।
बुधबार पनि नेप्से सूचक ३८ दशमलब २८ अंकले बढेर ३ हजार १ सय ९८ दशमलब ६० अंकमा पुग्दा २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार दुई सय ६९ रुपैयाँको शेयर कारोबार भयो । लगानीकर्ताले आज मात्रै ३ करोड ६५ लाख नौ हजार सात सय ५१ कित्ता शेयर १ लाख ८८ हजार ४ सय ४५ पटक किनबेच गरे ।
मौद्रिक नीतिले शेयर धितोकर्जाको सीमालाई संकुचित बनाएपछि यसलाई सच्चयाउन लगानीकर्ताका नेताहरू दौडधुपमा व्यस्त छन् । यो व्यस्ततालाई नै हेर्ने हो भने पनि १२ करोडको शेयर धितोकर्जा सीमाले लागनीकर्तालाई अन्तत: फाइदा नपुर्याउने देखिन्छ । तर हाललाई भने पूँजी बजारमा यसले कुनै असर पार्न सकेको छैन । लगानीकर्ता धमाधम शेयर किनबेचमा व्यस्त देखिन्छन् ।
दैनिक कारोबार बढिरहँदा नयाँ लगानीकर्ता फस्ने जोखिम बढ्दो देखिन्छ । अहिले ठूला लगानीकर्ता सकेसम्म शेयर बेचेर बजारमा शेयरको आपूर्ति बढाइरहेका छन् । मौद्रिक नीतिको सांकेतिक विरोध स्वरुप शेयरको आपूर्ति बढाएर बजार घटाउने रणनीति रहेको बुझ्न कठिन छैन । आइतबार र सोमबारको आँकडा हेर्ने हो भने पनि झण्डै १६ बटा ब्रोकरले कारोबारको ७० प्रतिशत हिस्सा शेयर बिक्री गर्न खर्चिए । अर्थात् ती ब्रोकरले शेयर बिक्रीलाई प्राथमिकतामा राखेर कारोबार गरे भने मंगलबार र बुधबारको अवस्था पनि उस्तै देखियो ।
तर, पछिल्लो काराेबारको शैली हेर्दा बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताले मौद्रिक नीतिको असर बजारमा पर्न नदिएको देखिन्छ । आगामी दिनमा बैंकको ब्याज बढेपनि त्यसको असर बजारमा नदेखिने आत्मविश्वासका साथ ती लगानीकर्ताले शेयर खरिद गरेको विश्लेषण भैरहेको छ । जसले गर्दा पुराना लगानीकर्ता यतिबेला नाफा बुक गर्दै बाहिरिने अवस्थामा छन् भने नयाँ लगानीकर्ता यही समयलाई अवसर ठान्दै बजारमा भित्रिदै छन् ।
लगानीकर्ता देवप्रसाद मैनाली मौद्रिक नीतिमा १२ करोडको क्यापको प्रावधान सार्वजनिक गरिएकाले दोस्रो बजारमा शेयरको आपूर्ति बढेको बताउँछन्। उनका अनुसार यो नीतिले आउने दिनमा बैंकमा तरलता समस्या बढ्दै जाँदा बैंकको ब्याजदर बढ्ने र त्यसको प्रत्यक्ष असर सूचकमा पर्न सक्छ । सूचक घट्नुभन्दा अगाडि नै बिक्री गरेर बजारबाट बाहिरिने ध्येयले गर्दा बजारमा शेयरको आपूर्ति बढेको उनको बुझाई छ ।
कारोबारलाई मात्रै केलाउने हो भने, पछिल्लो केही सातादेखि जलविद्युत क्षेत्रका कम्पनीहरूमा लागनीकर्ताको भिड लागेको देखिन्छ । जसमा खानिखोला जलविद्युत, घलेम्दी हाइड्रो, नेशनल हाइड्रो, ङादी हाइड्रो, रिडी हाइड्रो, माथिल्लो तामाकोशी लगायतका कम्पनीमा लगानीकर्ता झुम्मिएको तथ्यांकले देखाइरहेको छ । जसले गर्दा खरिद माग पनि चुलिएको छ । माग बढेकाले शेयर मूल्य बढेको समेत देखिन्छ ।
यतिबेला लगानीकर्ताहरू बजारतर्फ आकर्षित भए पनि लगानी गरिरहेको कम्पनीको वित्तीय अवस्थामा भने खासै ध्यान दिएको देखिँदैन । अहिले बजारमा वित्तीय विवरण खराब भएका कम्पनीको मूल्य समेत आकाशिएको छ ।
लगानीकर्ताले फण्डामेन्टल र टेक्निकल अध्ययन भन्दा पनि बजारको 'ट्रेण्ड' लाई प्राथमिकतामा राख्दा खराब वित्तीय विवरण भएको कम्पनीमा पनि लगानीकर्ताको उपस्थिति बाक्लै देखिएको छ ।
आज मात्रै कारोबारमा आएका कम्पनीमध्ये तीनवटा जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । आइतबार र सोमबार सर्किट लागेको कम्पनीको संख्या झण्डै १० को हाराहारीमा थियो । यतिबेला जलविद्युत क्षेत्र मात्रै नभएर वित्तीय अवस्था खराब रहेका लघुवित्त कम्पनीमा पनि झुम्मिदा यसले नयाँ लगानीकर्ता 'बुल ट्रयाप' मा पर्ने जोखिम बढेर गएको एक अनुभवी लगानीकर्ता बताउँछन् ।
उनी भन्छन्, ‘कारोबार बढ्नु राम्रो कुरा हो । तर यो कारोबारले भोलि कसैको घर नउजाडोस् । अहिले खराब कम्पनीमा पनि आँखा चिम्लेर लगानी गर्ने लागनीकर्ता बढेका छन् र ती सबै नयाँ लगानीकर्ता हुन् । यसरी पुराना लगानीकर्ताले शेयर 'कर्नरिङ' गरेर शेयर मूल्य बढाएर नाफा कमाएर बाहिर निस्कने दाउमा छन् भने नयाँ लगानीकर्ता दैनिक सर्किट लागेको कम्पनीमा लोभिदै महँगो मुल्य तिरेर खरिद गरिरहका छन् । यसले त स्वतः ती लगानीकर्ता फस्ने देखिन्छ ।’
बुधबारको कारोबारको अवस्थालाई नै हेर्ने हो भने पनि सबैभन्दा बढी संख्यामा नेशनल हाइड्रोको कारोबार भएको छ । जसको ७८ करोड ८७ लाख ३ हजार ५ सय बीस रुपैयाँको शेयर लगानीकर्ताले किनबेच गरे । यो कम्पनीलाई धितोपत्र बोर्ड सेबोनले पनि केही समय अगाडि जोखिमपूर्ण भन्दै लगानीकर्तालाई संयमित भएर लगानी गर्न आग्रह गरेको थियो । यद्यपी त्यसको असर न त लगानीकर्तामा देखियो, न कारोबारको आँकडामा नै ।
बुधबार मात्रै अपी पावर कम्पनी, सानिमा माइ हाइड्रोपावर,अरुण भ्याली हाइड्रो, रिडि हाइड्रो तथा युनाइटेड मोदी हाइड्रो लगायतका कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।
त्यसो त अहिले ब्रोकरहरू आफैं जलविद्युत उत्पादनको पत्तो अत्तो नै नभएको कम्पनीमा समेत शेयर किन्ने लगानीकर्ताको भिड देखेर चकित हुने गरेका छन् । एक ब्रोकर जलविद्युत क्षेत्रको कुन कम्पनी र त्यो कम्पनीको अवस्था कस्तो छ? के हुँदैछ वा कुन खोलामा छ भन्ने समेत जानकारी नराखी लाखौँ रुपैयाँको शेयर किन्न तम्सिएको बताउँछन् ।
उनी भन्छन्, ‘हामी आफैँ चकित छौँ,लामो समयसम्म जलविद्युतमा शेयर किन्ने लगानीकर्ता फाट्टफुट्ट मात्रै हुन्थे । अवस्था पनि खासै राम्रो थिएन, सायद यसैको असर होला । तर अहिले राम्रा जलविद्युत कम्पनीहरू पनि छन् जसले लगानीकर्ताको ध्यान खिच्नु स्वभाविक नै हो । तर अनौठो कुरा के छ भने राम्रो भन्दा धेरै नराम्रा कम्पनीको शेयर किन्न लगानीकर्ता तछाडमछाड गर्दै छन् ।’
यो पनि :
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८ १७:४८