विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ५.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । केही दिनअघि मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.२ प्रतिशतसम्म मात्रै आर्थिक वृद्धिदर पुग्ने प्रक्षेपण गरेकोमा विश्व बैंकले सोमबार 'नेपाल डेभलपमेन्ट अपडेट' सार्वजनिक गर्दै ५.८ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको हो ।
कृषि, उद्योग र सेवाक्षेत्रमध्ये यस वर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने आकलनसहित ५.८ प्रतिशतको आर्थिक वृद्धिदरलाई विश्व बैंकले स्वाभाविक मानेको छ । सन् २०२२ मा कृषिक्षेत्रको वृद्धिदर २.३, उद्योग क्षेत्रको १० र सेवाक्षेत्रको ५.९ प्रतिशतको वृद्धिदर कायम हुने प्रक्षेपण गरिएको छ ।
सन् २०२४ मा भने केही संकुचन आउने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा ४.९ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरिएको छ ।
विश्व बैंकले नेपालमा अधिक कर्जा वृद्धि भएकोमा चिन्ता व्यक्त गरेको छ । पछिल्लो ५ वर्षमा दोब्बर कर्जा वृद्धि भएको छ । समग्रमा नेपालको कर्जा बढी नभए पनि वृद्धिदर भने अधिक भएको विश्व बैंककी अर्थशास्त्री एलपक ब्रुकले बताएकी छन् । उनले ऋणको भरमा मात्रै चलायमान गरिएको आर्थिक गतिविधि दिगो नहुने बताएकी छन् ।
त्यस्तै, विश्व बैंकले आयात प्रतिबन्ध लगाउने सरकारी कदममाथि असहमति जनाएको छ । यस विषयमा यसअघि आईएमफले समेत असहमति जनाएको थियो ।
विभिन्न वस्तुहरूको आयातमा लगाएको प्रतिबन्ध हटाउनसमेत उसले प्रतिवेदनमार्फत सुझाव दिएको छ । सरकारले विदेशी मुद्राको सञ्चितिमा आएको कमीलाई मध्यनजर गर्दै गत १० वैशाखबाट १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । छवटा वस्तुको आयातमा प्रतिबन्ध हटाइए पनि चारवटा वस्तुको आयात प्रतिबन्ध भने जारी छ ।
विश्व बैंकले अझै ५ वर्षमा नेपालको आर्थिक स्थिति श्रीलंकाको जस्तो नहुने पनि उल्लेख गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९ २०:१७