चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैंसी पाल्ने किसानलाई १ लाख रूपैयाँ अनुदान वितरण गरेको छ ।
बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैंसी पाल्ने आठ जना कृषकलाई जनही १ लाखको चेक हस्तान्तरण गरेकी हुन् ।
आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमअनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताइन् । किसानलाई व्यावसायिक बनाउन र कृषिमा आकर्षित गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
गाउँपालिकाले बिहीबार नै युवालक्षित व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ आठ जनालाई जनही १ लाखका दरले अनुदान हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले बाख्राखोर सुधारका लागि २० जनालाई जनही २५ हजार, ब्याडे बोकाका लागि २० जनालाई जनही ४० हजार र बंगुरपालनतर्फ दुई जना किसानलाई पनि जनही २५ हजारको चेक हस्तान्तरण गरेको थियो ।
गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फार्मलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषितर्फ किसान आकर्षित भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६, ०८:१३:००