आडमै रहेको युरोप होस् वा हजारौँ माइल टाढा रहेको अमेरिका, युक्रेनमा जारी तनाव सबै देशका लागि टाउको दुखाइको विषय बनेको छ । रुसले युक्रेनमा हमला गरे युक्रेनका ४ करोड ४० लाख मानिस त प्रभावित हुनेछ्न्, साथै युरोप र अमेरिकालाई पनि असर पर्नेछ । रुसले युक्रेनविरुद्ध कदम चाले, विगतमा सोभियत संघमा आबद्ध पूर्वी युरोपियन मुलुकहरूको सुरक्षामा चुनौती थपिने अनुमान छ । यसले सन् १९८९ पछि विश्वव्यवस्थालाई पुन: परिभाषित गर्दै अमेरिकी दबदबालाई परिवर्तन गर्न सक्ने आकलन भइरहेको छ । रुसको कदमले विश्वभर इन्धनको मूल्य बढाउने पक्का छ ।
युक्रेनप्रति किन छ रुस, अमेरिका र युरोपको नजर ?
रुस र पश्चिमा मुलुकहरूले युक्रेनलाई एकअर्काविरुद्धको रणनीतिक मैदानका रूपमा लिन्छन् । रुस युक्रेनमाथि आफ्नो प्रभाव स्वाभाविक हक रहेको मान्छ । शताब्दीसम्म युक्रेन रुसी साम्राज्यको भूभाग थियो । अधिकांश युक्रेनीहरू रुसी भाषा बोल्छन् । सन् १९९१ मा स्वतन्त्रता प्राप्तिअघि युक्रेन सोभियत संघकै हिस्सा थियो । सन् २०१४ मा रुस निकट राष्ट्रपतिलाई युक्रेनी जनताले सत्ताच्यूत गर्दै पश्चिमा शक्तिनिकट राष्ट्रपतिको हातमा शासन भएपछि रुस निराश मात्रै छैन, यो विषयलाई उसले सुरक्षा चुनौतीको रूपमा पनि लिएको छ ।
विगतमा सोभियन संघमा आबद्ध युरोपियन मुलुकहरू हाल युरोपियन युनियनमा मात्रै छैनन्, उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)मा पनि आबद्ध छन् । युक्रेनमा प्रभाव घटेसँगै रुसले पूर्वी युरोपमा आफ्नो शक्ति क्षयीकरणका रूपमा मात्रै लिएको छैन । यसलाई सम्भावित कालका रूपमा हेरिरहेको छ । युरोपको भूभागमा आफ्नो शक्तिशाली साख फर्काउन रुसले युक्रेनमा नजर लगाइरहेको छ भने युरोप र अमेरिकाले रुसको यो प्रयासलाई निस्तेज पार्न युक्रेनमा आँखा गाडिरहेका छन् । युक्रेन न त युरोपियन युनियनमा आबद्ध छ, न नेटो गठबन्धनमै संलग्न छ । तर यी दुवैबाट युक्रेनले आर्थिक र सैन्य सहयोग प्राप्त गरिरहेको छ ।
रुसले युक्रेनलाई हमला गरेको अवस्थामा पश्चिमा मुलुकसँग निकट इस्टोनिया, लाट्भिया र लिथुआनियामाथि पनि सुरक्षा चुनौती आइपर्ने सम्भावना छ । रुसले युक्रेन हमलामा सफलता हात पारे विश्वभर कायम अमेरिकी प्रभुत्वमा संकट आउनेछ ।
शीतयुद्धमा जित हासिल गरेसँगै अमेरिकाले विश्वभर आफ्नो आधिपत्य जमाउँदै लगेको थियो । केही दशकयता यसमाथि विभिन्न चुनौती थप भइरहेका छन् । रुसी कदमले सार्थकता पाएमा अमेरिका कमजोर हुने सिलसिलाको सुरुवात हुनेछ । नेटोलाई शक्तिशाली बनाएको खण्डमा आफूलाई कमजोर बनाउने प्रयासलाई पराजित गर्न सकिने अमेरिकी बुझाइ छ ।
ट्रम्पकालमा युक्रेनलाई बन्द थियो अमेरिकी सहयोग
सन् २०२० मा अमेरिकाका राष्ट्रपति रहेका डोनाल्ड ट्रम्पमाथि महाभियोग लाग्नुमा युक्रेन पनि कारक थियो । महाभियोग लाग्नुअघि अमेरिकाले युक्रेनलाई दिँदै आएको ३ करोड ९१ लाख अमेरिकी डलरबराबरको सैन्य सहयोग रोक्का गरेका थिए । त्यति मात्रै होइन, नवनियुक्त युक्रेनी राष्ट्रपति भ्लोदिमर एल्नस्कीसँग सम्भावित साँठगाँठको आरोप लगाउँदै उनले जो बाइडेनविरुद्ध अनुसन्धान प्रक्रियासमेत अघि बढाए ।
यस प्रकरणपछि ट्रम्पलाई अमेरिकी राजनीतिक व्यवस्थामा वैदेशिक हस्तक्षेप निम्त्याउन खोजेको आरोपसमेत लागेको थियो । तथापि, उनीमाथि दर्ता गरिएको महाभियोग प्रस्ताव झिनो मतले अस्वीकृत भयो । युक्रेन मामिलामा घोटाला मुद्दामा ट्रम्पका अभियान प्रबन्धक पनि मुछिए । रुस समर्थक युक्रेनी पूर्वराष्ट्रपति भिक्टोर यनुकोभिचलाई सहयोग गर्ने क्रममा ३ अर्ब अमेरिकी डलर अपचलन गरेको आरोपमा उनी जेल चलाउन भएका हुन् । मनाफोर्टले यनुकोभिचलाई सन् २००६ देखि २०१४ सम्म सहयोग गरेका थिए । पछि उनी ट्रम्पको सहयोगीका रूपमा काम गर्न थाले ।
रुसले पहिल्यै कब्जा गरेको छ युक्रेनी भूभाग
सन् २०१४ मा युक्रेनमा भएको राजनीतिक आन्दोलनपछि रुसका सैनिकले क्रिमियामा हमला गरेर कब्जा गरे । ब्ल्याक सीको यस प्राय:द्वीप रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ । विश्वशक्तिहरूले त्यहाँको जनमतसंग्रहलाई वैधानिकता दिन अस्वीकार गरे पनि त्यस भूभागका युक्रेनीहरूले रुसमा गाभिन स्वीकार गरेका थिए ।
क्रिमियालाई गाभेपछि युक्रेनको पूर्वी क्षेत्र डोबानस कब्जाको उद्देश्यसहित त्यहाँ पृथकतावादी अभियानलाई रुसले सहयोग गर्यो । पृथकतावादी आन्दोलनका क्रममा गृहयुद्ध चल्दा दोन्तेस्त र लुहान्सक युक्रेनबाट अलग्गिएका छन् तर उनीहरूले छुट्टै राज्यको मान्यता पाएका भने छैनन् । यो क्षेत्रमा युक्रेन र पृथकतावादी शक्तिबीच तनाव अझै जारी छ ।
विगत आठ वर्षयता युक्रेनलाई आफ्नो मुठ्ठीमा पार्न रुसले जारी राखेको प्रयास अझै समाप्त नभएको युक्रेनीहरू बताउँछन् । तत्कालै रुसले युक्रेनमाथि हमला गरोस् वा नगरोस् युक्रेनलाई आफूमा गाभ्ने नियत प्रेरित युद्ध रुसले जारी राख्ने उनीहरूको अनुमान छ ।
युक्रेनीहरू के चाहन्छन् ?
रुसी भाषा बोल्ने युक्रेनीहरू आफ्नो मुलुकको स्वाधीनता र सार्वभौमिकता संकटमा परेको बताउँछन् । सन् २००१ मा जनताको राय लिँदा आधा युक्रेनीहरूले मात्रै सोभियत संघबाट बाहिरिने निर्णयलाई जायज मानेका थिए । हाल युक्रेनको स्वतन्त्रता र नेटो गठबन्धनमा आबद्ध हुने विषयलाई ८० प्रतिशतको समर्थन छ ।
राष्ट्रको भविष्यबारे तनाव जारी रहे पनि जनजीवन भने सामान्य नै छ । रुसले आक्रमण गर्ने समाचार बेला-बखत सार्वजनिक हुँदा पनि नागरिकहरू शान्त छन् र उनीहरूले आक्रमणलाई शंका पनि गर्छन् । रुसले आक्रमण गरेको खण्डमा प्रतिवादका निम्ति रक्षा समूह बनाएर आफूलाई अभ्यस्त बनाइरहेका छन् । कोही प्राथमिक स्वास्थ्योपचारको तालिम लिन व्यस्त छन् ।
युक्रेनमाथि रुसको हमला कसरी रोकिन सक्छ ?
युक्रनेले नेटोमा संलग्न नहुने विश्वासिलो प्रतिबद्धता जनाएमा वा युद्धविराममा इमानदार भएमा रुसले हमला नगर्न सक्छ । मिनस्क सम्झौताअनुसार युक्रेनमा दुई पृथकतावादी समूहले शासन गरिरहेको दोनतेस्क र लुहान्सक क्षेत्रमा युक्रेनको वैदेशिक मामिलाबाहेक सबैमा उनीहरूलाई स्वशासितको अधिकार हुने उल्लेख छ ।
रुस चाहन्छ, नेटोमा युक्रेन आबद्ध नहोस् । तर, सरकारको हात यसरी बाँधिएको छ कि संवैधानिक रूपमै नेटोमा आबद्धताका लागि युक्रेन बाध्य छ । गत डिसेम्बरको सर्वेक्षणमा एकतिहाइ युक्रेनीले मिनस्क सम्झौताको संशोधन हुनुपर्ने, अन्यथा यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।
तथापि, युक्रेनमा रुसी चाल असफल बनाउनका निम्ति अमेरिका र युरोप अनेकौँ चाल बुनेर बसिरहेका छन् । रुसको अर्थतन्त्रलाई कमजोर बनाउन रुसका वित्तीय संस्थालाई धराशायी बनाउने चाल वासिङ्टनको छ । रुसबाट युरोपमा ग्यास आपूर्तिको पाइपलाइन निर्माणलाई जमर्नीले स्थगित गरिदिन सक्छ ।
यता रुसी धनाढ्यले जोडेका सम्पत्तिलाई रोक्का गरिदिने बेलायती नीति छ । युक्रेनलाई रुसको हमलाबाट जोगाउन र रुसलाई सम्भावित संकटबाट पार लगाउन एउटा मात्रै विकल्प देखिन्छ । त्यो हो, पूर्वी युरोपमा नेटोको गतिविधि कम गर्ने र युक्रेनलाई नेटोमा संलग्न नगराउने ।
पुटिनले यो विकल्पलाई जबर्जस्त रूपमा उठाइरहेका छन् । पुटिन प्रस्ट छन्- नेटो गठबन्धनमा युक्रेन सामेलको सन्देश रुसको सुरक्षाका निम्ति सु:खद हुनेछैन । पूर्वी युरोपबाट नेटो पछि हट्नुपर्ने पुटिनको माग छ । युक्रेन र रुस संकट समाधानका निम्ति संवाद गर्न आफू सधैँ तयार रहेको अमेरिकी राष्ट्रपति जो बाइडेन बताउँछन् । बाइडेन एक विषयमा भने अडिग छन्- कुनै पनि मुलुक कुन गठबन्धनमा बस्ने, रोजाइका लागि स्वतन्त्र छन् ।
युक्रेन कमजोर हुनुकाे कारण के छ ?
युक्रनेलाई पश्चिमा मुलुकले सैन्यक्षेत्रमा आर्थिक र अन्य सहयोग गरे पनि ऊ नेटोको सदस्य होइन । युक्रेनको सैन्यशक्ति बढाउन पश्चिमाहरूले सयौँ मिलियन अमेरिकी डलर सहयोग गरे पनि रुसी आक्रमणको सशक्त प्रतिरक्षाका निम्ति युक्रेन अझै सक्षम छैन । युक्रेन रुसले मात्रै होइन, रुसनिकट मुलुकले पनि घेरिएको छ । रुसी सैनिक युक्रेनको पश्चिम इलाकामा पनि बाक्लै तैनाथ छन् । युक्रेनको सेना भने निकै पातलो भएकाले प्रतिरक्षाका निम्ति मुस्किल नै पर्छ ।
रुससँग राम्रै व्यापारिक साझेदारी रहेकाले उसलाई आर्थिक संकट पर्न नदिन जर्मनीले पनि पश्चिमा मुलुकलाई सहयोग नगर्न सक्छ । यता सिङ्गै युरोप इन्धनका निम्ति रुससँग निर्भर रहेकाले उनीहरू पनि रुसप्रति कडा नहुने सम्भावना उत्तिकै छ ।
रुसले हमला गरेमा पर्ने सम्भावित आर्थिक असर के हुन् ?
अन्न आपूर्तिका निम्ति रुस र युक्रेनले घेरिएको ब्ल्याक सी रुटको प्रयोग हुन्छ । रुस र युक्रेन धेरै गहुँ उत्पादन गर्ने मुलुक हुन् । यो क्षेत्रमा सैन्य कारबाही भएमा खाद्यान्न उत्पादन र वितरण प्रणालीमै असर पुग्न हुँदा विश्वभरका उपभोक्ता मारमा पर्नेछन् । युरोपमा प्रयोग हुने एकतिहाइ ग्यास रुसबाटै आपूर्ति हुन्छ भने युक्रेनले पनि युरोपमा ग्यास निर्यात गर्छ । यी दुई मुलुकबीच युद्ध भएमा युरोपले इन्धनको संकट झेल्ने निश्चित त छ नै, साथै विश्वभर इन्धनको मूल्य पनि महँगिनेछ ।
के युक्रेनमा रुसको हमला निश्चित छ ?
रुसले युक्रेनमा १६ फेब्रुअरीभित्रै आक्रमण गर्ने ह्वाइट हाउसको दाबी थियो । ह्वाइ हाउसको हल्ला अझै सत्यतामा परिणत भएको छैन । युक्रेनमा रुसले हमला गर्ने विषय निश्चित छैन । युक्रेनमाथि रुसको सम्भावित हमलालाई मध्यनजर गर्दै अमेरकाले युक्रेनको राजधानीबाट आफ्ना कर्मचारीलाई फिर्ता बोलाइसकेको छ ।
रुसलाई शान्त पार्नका निम्ति युक्रेन र अमेरिकाले अझै उपाय अवलम्बन गर्न सक्नेछन् । युक्रेनमा आक्रमणपछि व्यहोर्नुपर्ने आर्थिक प्रतिबन्ध र हमलापछि हुने मानवीय क्षतिको परिणाम रुसलाई निकै महँगो साबित हुनेछ । दुई मुलुकमा युद्धको स्थिति आउँदा युरोपमा समेत संकट निश्चित भएकाले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले रुस, अमेरिका र युक्रेनबीच त्रिपक्षीय वार्ताका निम्ति मध्यस्थकर्ताको भूमिका निभाइरहेछन् ।
न्युयोर्क टाइम्समा प्रकाशित सामग्रीको अनुवाद शिशिर ढकालले गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८ ०६:०८