नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत उनले दाबी गरे ।
'कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निर्क्याैल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छ', थापाले भने ।
केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उनले बताए । उनले भने, 'निर्वाचन सरकारले तोकिएकै समयमा हुन्छ, कसैले हुन्न भन्ने हल्ला गरेर नहुने होइन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ ।'
नेता थापाले टोल समितिले पार्टी बलियो हुने बताए । उनले पार्टी सङ्गठनको सबैभन्दा तल्लो निकाय टोल समिति रहेकाले सबैभन्दा बलियो बनाउनुपर्ने उल्लेख गर्दै टोलटोलमा कांग्रेसको समिति बनाएर पार्टीलाई बलियो बनाउन निर्देशनसमेत दिए । 'टोलटोलमा कांग्रेसलाई क्रियाशील बनाउन जरुरी छ, यसले मात्रै पार्टी बलियो हुन्छ', उनले दाेहाेर्याए ।
नेता थापाले प्रधानन्यायाधीश चोेलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग स्वाभाविक रहेको बताए । उनले भने, 'उहाँमाथि थुप्रै आरोप छन्, न्यायालयलाई ध्वस्त पार्ने उहाँकै भूमिका हो ।' उनले आफू निकै अघिदेखि प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको पक्षमा रहेको दाबीसमेत गरे ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले १ फागुनदेखि वडास्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गरिरहेको छ । ७ गतेसम्म सङ्गठन विस्तार अभियानअन्तर्गत वडास्तरमा भातृ सङ्गठन विस्तार, सदस्यता वितरण तथा टोल समितिसमेत गठन गर्ने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८ ०७:२५