विश्वभर फैलिएका वैदिक सनातन हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई मुख्य गन्तव्यस्थल बनाउने उद्देश्यले पशुपति स्वच्छ अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा सुरु गरिएको अभियानमा आज चलचित्र कलाकार सङ्घको नेतृत्वमा पशुपति क्षेत्र सफा गरिएको हो ।
सफाइमा मदनदास श्रेष्ठ, शिव श्रेष्ठ, गौरी मल्ल, चलचित्र निर्देशक शोभित बस्नेत, रविन्द्र खड्कालगायतको सहभागिता थियो ।कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको पशुपतिनाथ मूल मन्दिर भदौ २५ गते खुला गरिएसँगै कोषले सो अभियान सुरु गरेको हो । कोरोनाका कारण निषेधाज्ञा जारी गरिएका बेला पशुपति क्षेत्रका सबै स्थानमा जम्मा भएको फोहर उठाउन अभियानबाट सहयोग मिल्ने विश्वास गरिएको छ ।
कोरोनाबाट निधन भएकालाई पशुपति क्षेत्रकै विद्युतीय शवदाह गृहमा जलाउने गरिएकाले यहाँ फोहर बढेको थियो । फोहर सफा गर्न कोषका सफाइ कर्मचारीले मात्र नभ्याउने भएकाले सुरु गरिएको अभियानमा पशुपतिको घाट क्षेत्र र वाग्मती नदी किनार क्षेत्र सफा गरिएकोे कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।
यो अभियान प्रत्येक हप्ता गरिने र आज बिहान दुई घण्टा सफा गरिएको थियो । अभियानमा सहभागी हुन चाहने हरेक क्षेत्रका नागरिकले शनिबार स्वयंसेवा गर्न सक्ने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।
विभिन्न क्षेत्रका मानिसले पशुपति क्षेत्रमा सफाइका लागि रुचि देखाउन थालेकाले पहिलोपटक गत हप्ता वाग्मती सफाइ महाअभियानका आयोजकले नै पशुपति क्षेत्रमा सफा गरेको थियो । अभियानको दोस्रो हप्ता आज कलाकारले नेतृत्व लिएका हुन् । आगामी हप्तामा पनि विभिन्न क्षेत्रका पदाधिकारीको सहभागितामा रहने भएको छ ।
यसबाट नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र कोरोनाले अस्तव्यस्त बनेको पर्यटन क्षेत्र उठाउन पनि यो अभियान सहयोगी हुने विश्वास गरिएको छ । अभियानमा पशुपति क्षेत्रका पशुपति सृजनशील युवा क्लब, डिभाइन क्लब, पशुपति युथ क्लब, विजयचोक युवा क्लब, साइन्टोलोजी भोलेन्टियर नेपाललगायत स्वयंसेवी युवाको सक्रियता थियो ।
यी संस्थाले पशुपति स्वच्छ अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पशुपतिनाथ दक्षिण मूलढोकाबाट सुरु गरिएको आजको अभियान किरियापुत्री भवन हुँदै आर्यघाट क्षेत्रमा आएर समापन गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८ १२:४८