नेकपा अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने बताएका छन् । नेकपा पार्टी कार्यालय धुम्बाराहीमा शनिबार गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण दाहालले विचार र कार्यदिशमा स्पष्टता आउन नसक्दा अन्योल र अराजकता मौलाएको बताए ।
‘विचारमा सहिपना र स्पष्टताले पार्टीलाई विकसित गर्दै लैजान्छ,’ दाहालले भने, ‘विचारमा स्पष्टता भएन भने पार्टीले आफ्नो उद्देश्य र लक्ष्य प्राप्ति गर्न सक्दैन ।’
समाजवाद स्थापनाका लागि नेपालमा मौलिक ढंगको क्रान्ति गरिएको दाहालले बताए । ‘हामीले नेपालमा जे उपलब्धि हासिल गर्यौं, त्यो दुनियाँको कुनै किताबमा पाइँदैन,’ उनले भने, ‘विश्वभरको क्रान्तिको अध्ययन गरेर नेपालमा मौलिक विचार निर्माण गरिएको छ, समाजवादको आधार तयार पार्ने ‘हतियार’का रुपमा जनताको जनवादलाई लिइएको हो ।’
नेकपाको वैचारिक धरालत र अब कुन दिशातर्फ जाँदैछ भनेर आम जनमानसलाई बुझ्न पुस्तक पढे सहज हुने दाहालले बताए । राजनीतिक आन्दोलनपछिको सङ्क्रमणालीन परिस्थितिमा नेपाली राजनीतिको आजको अवस्था र अबको लक्ष्य बुझ्न पुस्तक पढे पुग्ने दाहालको भनाइ थियो ।
नेपालमा कम्युनिष्ट आन्दोलनको उठान, संघर्ष तथा वैचारिक विषयवस्तु समेटिएको पुस्तकले नेकपाको आधारिक दस्तावेज तयार गर्न सहयोग पुर्याउने भन्दै दाहालले नेकपाको इतिहास, कार्यदिशा विकासका शृङ्खला र सन्दर्भ एवं पार्टी एकताको निर्णयसम्मका वैचारिक आधारबारे प्रस्ट्याएको बताए ।
नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले कम्युनिष्ट विचार विकासको शृङ्खलालाई पुस्तकमा समेटिएकाले सबैका लागि अत्यन्त उपयोगी रहेको बताए ।
जनतालाई सार्वभौम बनाउने राजनीतिक प्रणाली नै ‘जनवाद’ भएको उल्लेख गर्दै उनले पुस्तकमा समाजवादको तयारीको चरण ‘जनवाद’ हो भन्ने विषयलाई विस्तारमा विश्लेषण गरिएको बताए ।
प्रकाशित मिति: शनिबार, माघ ११, २०७६ १८:१२