फुकोट कर्णाली जलविद्युत आयोजनाले जग्गा अधिग्रहण गर्न नेपाल सरकारले स्वीकृति प्रदान गरेको छ । मंसिर ३० गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति प्रदान गरेको हो ।
आयोजना आवास गृह निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गर्नका लागि स्वीकृति प्रदान गरेको हो । प्रारम्भिक चरणको अध्ययन प्रतिवेदन तयार पारेर प्रभावित क्षेत्रको जग्गा अधिग्रहणका लागि ऊर्जा मन्त्रालयमा पत्र पठाएको आयोजना प्रमुख हिरावान वाइबाले बताए ।
‘हामीले जग्गा अधिग्रहणका लागि मन्त्रालयमा पत्र पठाएका थियौं,’ उनले भने, ‘मन्त्रिपरिषद्को निर्णय भएको छ ।’ आयोजना स्थलमा पूरै जग्गा गरेका जग्गा धनीले ७५ प्रतिशत र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत मुआब्जा पाउने आयोजना प्रमुख वाइबाले बताए ।
पहिलो चरणमा आवश्यक कर्मचारी आवास गृह तथा कार्यालय भवन निर्माणका लागि सान्नी त्रिवेणी गाँउपालिका–२, रकुमा स्थानीयको १ सय ३० रोपनी जग्गा अधिग्रहण हुने प्रमुख वाइबाले बताए ।
‘आवास र कार्यालयका लागि जग्गा अधिग्रहण हुनेछ,’ उनले भने, ‘आयोजनास्थलको अन्य काम अगाडि बढाउन अन्य प्रभावित क्षेत्रको जग्गा पनि अधिग्रहण हुनेछ ।’
४ सय ८० मेगाबाट क्षमता फुकोट कर्णाली जलविद्युत् आयोजनाका लागि करिब १५ सय रोपनी जग्गा अधिग्रहण हुने र टनेल निर्माणका लागि ठेक्काको आह्वान गरिसकिएको आयोजना प्रमुख वाइबाले बताए ।
‘यो जलाशययुक्त आयोजना हो,’ उनले भने, ‘डुबान पर्ने जग्गा अधिग्रहणको प्रक्रियासमेत सुरु गरिएको छ ।’ पाँच वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखेको आयोजनाका लागि करिब १ खर्ब बजेट आवश्यक पर्ने आयोजना जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६ १०:२८