नवलपरासीको देवचुली नगरपालिका–१७, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ ।
प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने यस केन्द्रमा सर्वसाधारण मात्र नभई सरकारी अधिकारी, राजनीतिक दलका नेताहरू, कलाकार, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरू उपचारका लागि आउने गरेका छन् ।
प्राकृतिक चिकित्सालयमा उपचारका लागि आएका माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती १३ दिनको प्राकृतिक उपचारपछि मंगलबार मात्रै फर्किएका छन् । कम्मरमा दुखाइका कारण हिँडडुल गर्न समस्या भएपछि प्राकृतिक उपचारका लागि आएका पुन निको भएर फर्कन लागेको बताए ।
चिकित्सालयमा आधुनिक औषधिको सट्टा प्राकृतिक तथा वैकल्पिक उपचार पद्धति अपनाइनाले उपचारका लागि धेरैको आकर्षण बढेको हो । पूर्व सभामुख ओनसरी घर्तीका अनुसार चिकित्सालयको उपचार विधि तनावमुक्त जीवनशैली, प्राकृतिक उपचार, स्वास्थ्यकर खानपान र योग साधनामा केन्द्रित छ ।
प्राकृतिक चिकित्सालयमा सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरू उपचारका लागि आएका सो चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जनकारी दिए । केही वर्षयता चिकित्सालयमा विदेशी पर्यटक तथा प्राकृतिक चिकित्सा रुचाउने विदेशीहरू पनि आउन थालेका छन् ।
२०६४ सालमा महायज्ञमार्फत संकलित रकमबाट स्थापना गरिएको प्राकृतिक चिकित्सालयमा सेवा लिन मुलुकभित्रका मात्रै नभई भारत, क्यानडा, अमेरिका, फ्रान्स, बेल्जियम, अस्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, जापान, नर्वे, इजरायललगायतका देशबाट उपचारका लागि बिरामी आउने गरेका छन् । तत्कालीन समयमा ५२ शय्याबाट सुरु गरिएको संस्थामा हाल तीन सय शय्याको क्षमता रहेको छ ।
'अन्य उपचार पद्धतिबाट निको नभएका बिरामीले पनि यहाँ उपचारपछि पुनः जीवन पाएका उदाहरण छन्', व्यवस्थापक सापकोटाले भने, 'सर्जरीबाहेकका रोग निको पार्न सकिने प्राकृतिक चिकित्सालाई दिगो रूपमा टिकाउन सरकारले नीतिगत सहजताका साथै बजेट विनियोजन गर्नुपर्छ ।'
चिकित्सालयमा बिरामीका लागि उपचार, आवास र खाना गरी दैनिक एक हजार एक सय रुपैयाँ शुल्क तोकिएको छ । कुल ५० जना जनशक्ति रहेको चिकित्सालयमा मासिक १५ लाख रुपैयाँ खर्च रहेको व्यवस्थापक सापकोटाको भनाइ छ । 'चिकित्सालयमा हालसम्म ५० हजार जनाको सफल उपचार गरिसकिएको छ', उनले भने ।
प्राकृतिक चिकित्सा उपचार विधिले शरीरमा नकारात्मक असर नपर्ने चिकित्सालयका चिकित्सक डा. आजाद पुरीले बताए । प्राकृतिक चिकित्सा र योगमा प्रतिरक्षात्मक, उपचारात्मक र निधानात्मक तीनवटै आयाममा उपचार गरिने र यसले जटिल, दीर्घरोग हुने बाटो नै बन्द गर्ने डा. पुरीको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १७:२७