भेल्लु बाजेका नामले सोसल मिडियामा चर्चित प्युठानका ६४ वर्षे मीनबहादुर बुढाको निधन भएको छ । एक्कासि सास फेर्न गाह्रो भएपछि बिहीबार दिउँसो उनलाई जिल्ला अस्पताल प्युठानमा भर्ना गरिएको थियो ।
केहीबेरअघि उनलाई डाक्टरले मृत घोषणा गरेका उनका ज्वाइँ हिमलाल पुन मगरले बताए । युट्युबलगायत सामाजिक सञ्जालमा उनलाई भाइरल गराएका युट्युबर तेजेन्द्र परियारले भने, 'मसहित गएर दिउँसो अस्पतालमा भर्ना गराएका हौँ । उहाँलाई सास फेर्न गाह्रो भइरहेको थियो तर बोल्नसक्ने नै हुनुहुन्थ्यो । मृत्युका बारेमा आफन्तले अरु कुरा पनि गरिरहनुभएको छ । म बहिनीको उपचारका लागि बुटवल आएको छु । भर्खरै थाहा पाएँ, बाजे बित्नुभो भनेर ।'
प्युठान नगरपालिका- ४ का बुढामगर आफ्नो बोली व्यवहारका कारण केही महिनाअघिसम्म सोसल मिडियामा चर्चित थिए । भेल्लु बाजे रमाइलो स्वभावका थिए । जोसित पनि ख्यालठट्टा गर्थे । उनको यही स्वभाव मान्छेले मन पराएका थिए ।
गत भदौमा उनकी ५९ वर्षीया श्रीमती बिस्ना बुढाको निधन भएको थियो । त्यसयता उनले निकै एक्लो र निराशाका कुरा गरिरहेको सोसल मिडियामा आएका भिडियोमा देख्न सकिन्थ्यो ।
सम्बन्धित :
ओखाे भेल्लु बाजे, बेल्कुल बेल्कुल
झिसमिसेमै मतदान केन्द्र पुगेका भेल्लु बाजेले हाले पहिलाे भाेट
'भेल्लु बाजे'लाई पत्नीशोक, आर्थिक अभावकै कारण राेग पालेर बस्न बाध्य थिइन् बिस्ना
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१ २०:२४