बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, रक्षामन्त्री हरि उप्रेती, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र प्रहरी महानिरीक्षक वसन्त कुँवरले गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा जवाफ दिए । उनीहरूलाई समितिका सांसदहरूले प्रश्नको भारी तेर्स्याएका थिए ।
गृह मन्त्रालयलाई प्रश्न गर्ने वातावरण बनाएका समिति सभापति रामहरि खतिवडाले समिति बैठकको बारेमा प्रश्न खेपे । कारण थियो विषयवस्तुको । गृह मन्त्रालयसँग समसामयिक विषय भनेको के हो प्रस्ट हुनुपर्यो भन्दै सांसदहरूले प्रश्न गरे ।
खतिवडा कांग्रेस सांसद हुन् । समिति सदस्य तथा कांग्रेस सांसद दिलेन्द्र बडूले प्रश्न गरे, ‘बैठकका बारेमा हिजो साँझ मात्र जानकारी भयो । एजेन्डाका बारेमा जानकारी भएन ।’ कांग्रेस सांसदले नरम शैली अपनाए पनि एमालेका सांसदहरू भने कडा रूपमा देखिए ।
सांसद पृथ्वी सुब्बा गुरुङले बोल्ने क्रममा सुरुमै आपत्ति जनाए । बैठकको उद्देश्य नै एक ठाउँबाट सुरु गरेर अर्को ठाउँमा पुग्ने रहेको उनले बताए । ‘गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल भनिएको छ । के विषय हो प्रस्ट हुनुपर्छ,’ उनले भने, ‘गृह मन्त्रालयसँग सम्बन्धित कुन एजेन्डा हो ? बैठक राख्ने सभापतिको तरिकामा मेरो गम्भीर आपत्ति छ । यो तरिकाले बैठक चलाउन पाउनु हुन्न तपाईंले ।’
समितिमा छलफल हुने विषयहरूमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला मन्त्रालय, रक्षा मन्त्रालय, निर्वाचन आयोग, अख्तियार र मानवअधिकार आयोगसँग सम्बन्धित विषय रहेको उनले बताए । ‘जताततै पस्न पाउने, जे मन लाग्यो त्यही कुरा भन्न पाउने हो यो समिति ?,’ गुरुङले प्रश्न गरे । सहकारीको विषयमा सहकारी मन्त्रालयअन्तर्गतको सम्बन्धित समितिमा छलफल हुनुपर्ने उनले बताए । रिस पोख्ने थलो समिति नभएको गुरुङको भनाइ थियो ।
संसदमा गृहमन्त्री लामिछानेलाई कांग्रेसले बहिष्कार गरेको छ । कास्कीको सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा संलग्न भएकाले संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग कांग्रेसको छ । सो विषयलाई लिएर समितिमा मन्त्रीलाई प्रस्टीकरण सोध्न बोलाइएको आशयमा गुरुङले कुरा राखे ।
उनले बोलिरहँदा समिति सभापति खतिवडाले गृह मन्त्रालयको नभएर मन्त्रालयसँग सम्बन्धित विषय रहेको र सहकारी र लघुवित्तको कुरा नभएको बताए । केहीबेर सभापति खतिवडा र सांसद गुरुङबीच सवालजवाफ चल्यो ।

अर्का सांसद कृष्णगोपाल श्रेष्ठ व्यङ्ग्य र ठट्यौलीको आफ्नो सिग्नेचर शैलीमा प्रस्तुत भए । उनले पनि पूर्व हेरेर पश्चिम हान्ने सोच लुकेको हो भने प्रस्ट हुन राम्रो रहेको भन्दै कुराको सुरुवात गरे । उनले सभापति खतिवडाको ध्यानाकर्षण गराउँदै भने, ‘राज्यव्यवस्था समितिको इज्जत र गरिमा हुन्छ । हलुका ढंगले प्रस्तुत हुन थाल्यौँ भने हामी डुब्छौँ । हामी डुब्न चाहँदैनौँ ।’
‘सभापतिज्यूले गोजीबाट आजको राज्यव्यवस्थाको तर्फबाट गृहमन्त्री र रक्षामन्त्रीज्यूलाई यस्तो खालको निर्देशन गरिएको छ भन्ने हो भने हामी मान्दैनौँ,’ उनले भने । पहिला तपाईंसँग छलफल हुन्छ भन्ने जवाफ दिए । सांसद श्रेष्ठले ‘सभापतिज्यू सिरियस हुनुस् है, भने ।
छलफलपछि विधिवत् रूपमा मन्त्रीहरूलाई बिदा गरेपछि निर्देशन र निर्णय गर्नुपर्ने बताए । खल्तीबाट चिर्कटो निकालेर निर्णय सुनाउने काम आजैबाट बन्द गुर्नपर्ने छ भन्दै श्रेष्ठले सच्चिन भने । सम्बोधन गर्दा अन्तिममा पनि श्रेष्ठले सुरुको कुरा दोहार्याउँदै भने, 'पूर्व हेरेर पश्चिम हान्ने काम नगरौँ ।'
श्रेष्ठको आरोपलाई सभापति खतिवडाले एकातिर हेरेर अर्कोतिर हान्ने क्यारमबोर्डका पोख्त खेलाडी नभएको जवाफ दिए । ‘म क्यारमबोर्डको पोख्त खेलाडी होइन, एकातिर हेरेर अर्कोतिर छिराउने,’ खतिवडाले भने । उनले विषयवस्तुका बारेमा पनि सोही बेला प्रस्ट पारे । ‘समयमा तपाईंहरूलाई एसएमएस आयो कि आएन । त्यही विषय भएकाले माननीयज्यूहरूले समसामयिक विषयमा प्रश्न राख्नुभयो । त्यही भएर मन्त्रीज्यूहरूलाई पनि बोलाइएको हो,’ खतिवडाले भने ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १९:५८