गुण्डा नाइके युवाराज गुरुङ उर्फ ‘सानुभाइ’सहित उनका आठ जना सहयोगी शुक्रबारदेखि प्रहरी थुनामा छन् । नुवाकोट ककनी– ५ का ३३ वर्षीय युवाराज, सोही स्थानका निरज गुरुङ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का कमल तामाङ, काठमाडौं टोखा नगरपालिका–१० का विक्रम अधिकारी, तनहुँ व्यास नगरपालिका– २ का ३२ वर्षीय सुवास कायस्थ, सोही स्थानका ३२ वर्षीय सुरज कायस्थ र शेरलाल पाैडेल प्रहरी थुनामा पुगेका हुन् ।
त्यस्तै, रघु तामाङ र विनोद तामाङ एक साताअघि नै पक्राउ परेका थिए । युवाराज नेतृत्वकाे उक्त समूहले १५ असारको मध्यराति ठमेलको क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि कुटपिट गरेकाे थियाे ।
कुटपिटलगत्तै युवाराजसहितको टोली भागेकाे थियाे । प्रहरीको अनुसन्धानले उनीहरू भागेर नुवाकोट, हेटौँडा र पोखरा पुगेको खुलेको छ । काठमाडौं प्रहरीको विशेष टोली उनीहरूको खोजीका लागि पोखरा नै पुगेको थियो ।
तर, प्रहरी पोखरा पुगेको सूचना पाएका उनीहरू भागेर काठमाडौं प्रवेश गर्न खोज्दा काठमाडौं प्रहरीको टोलीले नागढुंगा चेकपोस्माट एम्बुस थापेर प्रक्राउ गरेको थियो । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनीहरू मोटरसाइकलमा सवार थिए । तर, प्रहरीको सुराकी गर्न उनीहरूले एउटा निजी कार अगाडि पठाएका थिए । पक्राउ परेकालाई प्रहरीले आइतबार सार्वजनिक गरेको थियो ।
सार्वजनिक गर्नुअघि प्रहरीले उनीहरूलाई हत्कडी लगाएर ठमेलका विभिन्न चोकसमेत हिँडाएर घुमाएको थियो । प्रकाउ परेका आठ जनालाई प्रहरी वृत्त लैनचौरले थप अनुसन्धान गरिरहको छ ।
पक्राउ पर्नेहरूमा दुई जोडी सहोदर दाजुभाइ
प्रहरीका अनुसार पक्राउ परेका ८ जनामध्ये दुई जोडी सहोदर दाजुभाइ छन् । पक्राउ परेका गुण्डा नाइके नुवाकोटका युवाराज गुरुङ र निरज गुरुङ सहोदर दाजुभाइ हुन् ।
आपराधिक पृष्ठभूमिका युवाराज पटक–पटक प्रहरीले पक्राउ गर्दै छुट्दै आएका छन् । उनी प्रहरीको इन्काउन्टरमा मारिएका नुवाकोटकै गुण्डा नाइके कुमार घैँटेका प्रमुख सहयोगीसमेत थिए ।

सयअघि युवाराज २५ पुस २०७२ मा नुवाकोटबाट ३८ बोर रिभल्बर लोडसहित बुलेट प्रुफ ज्याकेट लगाएकै अवस्थामा पक्राउ परेका थिए । त्यसअघि ७ कात्तिक २०६७ मा उनले काठमाडौंको गोगंबुस्थित गणेशस्थाननजिकै मिलन लामामाथि खुकुरी प्रहार गरेका थिए । सो घटनामा उनीमाथि प्रहरीले ज्यानमुद्दामा अनुसन्धान गरेको थियो ।
त्यस्तै, २६ कात्तिक २०७७ मा नुवाकोटकै भीम गुरुङमाथि पेस्तोल देखाई कुटपिट गरेका थिए । उक्त घटनामा समेत उनी पक्राउ परेका थिए ।
उनीमाथि प्रहरी वृत्त दरबारमार्गमा चेक बाउन्स मुद्दासमेत दर्ता भएको खुलेको छ । प्रहरीको अनुसन्धानबाट युवाराज र उनका दाइ निरज एउटै आपराधिक समूहमा हिँड्ने गरेको खुलेको छ ।
त्यस्तै, तनहुँ र पोखरालाई मुख्य आधार क्षेत्र बनाएर सुवास कायस्थले आपराधिक गतिविधि गरिरहेकाे खुलेकाे छ । सुरज उनका सहोदर भाइ हुन । तनहुँ प्रहरीले उनीहरूलाई आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक–पटक पक्राउ गर्दै छाेड्दै आएको खुलेको छ ।
काठमाडौंमा आपराधिक घटनापछि युवाराज गुरुङसहितको समूहलाई उनीहरूले तनहुँ र पोखरामा सेल्टर दिने गरेको खुलेको छ ।
उनीहरू ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरुङमाथि कुटपिट गर्दा घटनास्थलमा नभए पनि युवाराजको समूहलाई सेल्टर दिएको र काठमाडौं ल्याउँदा स्कर्टिङ गरेको आरोपमा पक्राउ परेका हुन् । पछिल्लो समय उनीहरूमाथि तनहुँ प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको खुलेको छ ।
कायस्थ दाजुभाइलाई छुटाउन राष्ट्रपतिको दबाब
गुण्डागर्दी आरोपमा पक्राउ परेका तनहुँ ब्यास नगरपालिका– २ का दाजुभाइ सुवास कायस्थ र सुरज कायस्थ नेपाली कांग्रेसकाे भ्रातृ संगठन तरुण दलमा आबद्ध छन् ।
उसो त गुण्डा नाइके युवाराज गुरुङसमेत तरुण दलमै आबद्ध छन् । कायस्थ दाजुभाइ भने राष्ट्रपति रामचन्द्र पौडेलनिकट छन् । पौडेलको घरसमेत तनहुँ व्यास नगरपालिका नै हो ।

सोही सम्बन्धका कारण कायस्थ दाजुभाइ पक्राउ परेपछि राष्ट्रपति कार्यालयले उनीहरूलाई छोड्न प्रहरीलाई अस्वाभाविक दबाब दिएको खुलेको छ ।
काठमाडौं प्रहरी स्रोतका अनुसार, राष्ट्रपति कार्यालयका एक जना अधिकारी कायस्थ दाजुभाइलाई छुटाउनका लागि दबाब दिन काठमाडौं प्रहरी परिसर नै पुगेका थिए । तर, प्रहरीले तनहुँ प्रहरीलाई समेत सम्पर्क गर्दा उनीहरूको पृष्ठभूमि आपराधिक देखिएपछि छोड्न नसकिने जवाफ दिएकाे थियाे ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल भने अभियुक्त छुटाउन शीतल निवासबाट कुनै दबाब नदिइएको र कुनै अधिकारी प्रहरी कार्यालय नपुगेको दाबी गर्छन् । ‘राष्ट्रपतिको नाम लिएर अनधिकृत व्यक्ति प्रहरीकहाँ पुगेको पनि हुन सक्छ । तर, राष्ट्रपति कार्यालयबाट कुनै दबाब दिइएको छैन’ उनले भने । तर, राष्ट्रपति कार्यालयकै उच्च तहबाट दबाब दिइएको प्रहरीस्रोतले पुनःपुष्टि गरेकाे छ ।
सम्बन्धित समाचार
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० १४:३८