१५ वर्षीया बालिका बलात्कार प्रकरणमा काठमाडौंको ठमेलस्थित चर्चित एलओडी क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका छन् । उनलाई ललितपुर प्रहरीको टोलीले बालुवाटारबाट पक्राउ गरेको हो ।
ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नेपालको कानुनले वयस्कका लागि खुलेका डिस्को, क्लबलगायतका मनोरञ्जनस्थलमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई प्रवेश गराउने वा काममा लगाउने दुवै कार्य दण्डनीय मानेको छ ।
उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्याएर बलात्कार गरेको आरोपमा पोखरा घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ परेका छन् ।
ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार सुदनले १५ वर्षीया बालिकालाई ३१ जेठमा एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्याएर बलात्कार गरेको आरोप छ । बागडोलमा कोइरालाको अफिस थियो । सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको शाहले बताए । यसअघि १५ वैशाखमा दुई जना महिला पनि बलात्कृत भएका थिए । क्लबको सरसफाइको काम गर्ने दुई महिलालाई बिहान एक होटलमा लगेर बलात्कार गरेको खुलेको थियो ।
सम्बन्धित समाचार :
१५ वर्षीया बालिका बलात्कार प्रकरण : एलओडी क्लबका दुई सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी
बलात्कार प्रकरण : १५ वर्षीया बालिकाले कसरी पाइन् एलओडी क्लबमा प्रवेश ? सञ्चालकलाई हुन सक्छ कैद
एलओडी क्लब पुगेकी १५ वर्षीया बालिका बलात्कृत, ५० वर्षका पुरुष समातिए
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १९:०२