वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत ‘शिलापत्र वर्षव्यक्ति २०७९’ चयन भएका छन् । विधाविज्ञको रायमा मनोनयन र पाठकहरूको मतका डा. रुइत ‘वर्षव्यक्ति’ चुनिएका हुन् । उनले देश, विदेशसम्म पुगेर दृष्टिविहीनलाई ज्योति दिइरहेका मात्र छैनन्, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको इज्जत पनि बढाएका छन् । आफ्नो पुनित कामका लागि उनले वर्ष २०७९ मा प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानहरू पनि पाए ।
नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस सुध्रिनुपर्ने बताएका छन् । रुपान्तरण नभए कांग्रेस सकिने उनले बताए । कांग्रेस सकिए केही हुँदैन, हाम्रो के हुन्छ ? भन्दै प्रश्नसमेत गरे । उनले आफूहरूको जीवन कांग्रेसमै समर्पित भएको समेत बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले निर्वाचित हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि दोस्रो चरणको मतदानको तयारी भएको थियो । तर, दोस्रो चरणको मतदानमा जानुअघि उमेशलाल श्रेष्ठले अञ्जन श्रेष्ठको नाममा सहमति जनाएपछि अञ्जन निर्विरोध निर्वाचित भएका हुन् ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ । बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तामा सरकारी वार्ता टोलीले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै वार्ता भंग भएको संघर्ष समितिले घोषणा गरेको हो । सहमति नजुटेपछि संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई अगाडि बढाउने कि नबढाउने भन्ने सम्बन्धमा राष्ट्रियसभा सदस्यहरू दुई धारमा विभाजित भएका छन् । नेपाल विश्वविद्यालय विधेयक, २०७९ अहिले राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सैद्धान्तिक छलफलको क्रममा रहेको छ । बिहीबार विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्ने क्रममा राष्ट्रियसभा सदस्यहरू यसको पक्ष र विपक्षमा उभिएका हुन् ।
भारतीय सेनाले बुधबार राति पाकिस्तानबाट भारततर्फ उडेको एक ड्रोनलाई खसाइदिएको छ । समाचार संस्था एएनआईका अनुसार पाकिस्तानबाट भारततर्फ उडेको ड्रोनमा एके४७ बन्दुक, त्यसमा लाग्ने गोलीहरू र केही नगद पैसा छन् । भारतको नियन्त्रणमा रहेको जम्मु कस्मिरको सीमा क्षेत्रमा ड्रोन पुगेपछि भने भारतीय सेनाले गोली चलाउँदै ड्रोनलाई खसाइदिएका थिए ।
नेपाल पुलिस क्लबमाथि थ्रीस्टार क्लबले राजधनीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा १-० को रोमाञ्चक जित निकालेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बिहीबार भएको खेलमा थ्रीस्टारका फरवार्ड मार्टिन कायोडे अजाइले दोस्रो हाफमा गरेको गोल निर्णायक भयो ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ १९:४६