नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को पछिल्लो सात महिनामा कुल वस्तु निर्यातमा २९ प्रतिशतले कमी आएको जनाएको छ ।
साउनयता माघ मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले यो अवधिमा ९३ अर्ब ४३ करोडको निर्यात भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.३ प्रतिशतले बढेको थियो । भारत र चीनमा हुने निर्यातमा कमी आउँदा अन्य मुलुकमा हुने निर्यात भने बढेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै सोही अवधिमा कुल वस्तु आयात पनि १९.९ प्रतिशतले घटेर ९१९ अर्ब १७ करोड कायम भएको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार यो अवधिमा रेमिट्यान्स भने बढेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेर ६८९ अर्ब ८८ करोड कायम भएको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आव्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा भने १६.४ प्रतिशतले विप्रेषण आप्रवाह बढेर ५ अर्ब ३० करोड पुगेको तथ्यांकमा उल्लेख छ ।
अहिले विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले बढेर माघ मसान्तसम्म १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा यस्तो सञ्चिति १२ खर्ब १४ अर्ब ८० करोड थियो । असार मसान्तमा अमेरिकी डलरमा ९ अर्ब ५४ करोड रहेको विदेशी विनिमय सञ्चिति माघ मसान्तसम्म आइपुग्दा अमेरिकी डलरमा १० अर्ब ५० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
माघ मसान्तसम्म राष्ट्र बैंकको खातामा नेपाल सरकार (प्रदेश र स्थानीय सरकारसमेत) को २ खर्ब ४ अर्ब ९२ करोड नगद मौज्दात रहेको राष्ट्रबैंकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ २०:३१