अवैध कमोडीटी कारोबारको नाममा सयौँ नेपालीहरू ठगी गरेको मेक्स नेपालका सीईओ जितेश सुरेन्द्रणसहितका चार जनाले आफूविरुद्धको ठगी मुद्दा थुनामुक्त भएर लड्न पाउनुपर्ने माग राखेका छन् । मेक्स नेपालले मात्रै ३० हजार भन्दा बढी ग्राहक बनाउँदै करोडपति हुने लोभ देखाएर ठगी गरेको आशंकामा सुरुवाती चरणमा कोमोडीटी कारोबारमा लागेका चार जनाले उनीहरूविरुद्ध उजुरी हालेपछि प्रहरीले यो मुद्दा अघि बढाएको छ ।
तर, सुरेन्द्रणसहितको टोलीले ठगीको आफूहरू बाहिर बसेर नै मुद्दा लड्ने भन्दै पाटन उच्च अदालतमा हालेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ । यसका लागि थुनामा रहेका स्पेल इन्भेस्टमेन्ट प्रालि र ट्रेडिङ क्लबका सञ्चालक सुनील श्रेष्ठ, उनकी पत्नी कञ्चन श्रेष्ठ, मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स) का प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रण र सो कम्पनीका प्रवक्ता नरेन्द्र भट्टलाई उच्च अदालत पाटमा लगिने प्रहरी परिसर टेकुले जनाएको छ ।
थुनामुक्त गरेर मुद्दा लड्न दिएमा उनीहरू भाग्न सक्ने पीडितकाे आशंका छ । 'सीईओसहितका व्यक्ति थुनामा रहेकै क्रममा एप कारोबार चलिरहेको छ, गिरोह ठूलो छ, यिनिहरू पनि थुनामुक्त भयो भने हाम्रो सबै डुब्छ', एक पीडितले भने । प्रतिवादीको तर्फबाट अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका हुन् ।
उनीहरूलाई थुनामा राख्ने सवालमा अदालतबाट दुई पटक म्याद थप गराइसकेको प्रहरीले थप अनुसन्धानपछि मुद्दा हाल्ने तयारी गरेको छ । एउटै कम्पनीका ३० हजार ग्राहक रहेको सवालमा २० वटा स्टकहरूबाट यस्तो कारोबार भएको आशंकासहित अहिले अनुसन्धान गरिएको छ ।
अनुसन्धान जारी रहेको र पीडीतहरू एकपछि अर्को गर्दै आइरहेकाेले विस्तृत अनुसन्धानपछि मुद्दा प्रकिया अघि बढ्ने प्रहरी स्रोतले बताएको छ । अनुसन्धानको क्रममा प्रहरीले विज्ञ, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जका प्रतिनिधि र मेक्स नेपाल लगयातका कोमोडीटी ब्रोकरको नाममा खोलिएका मोबाइल एप चलाएका पीडितहरूसँग छलफल गरिरहेको छ । अनुसन्धान गरिरहँदा अझै ठूलो परिमाणमा ठगी गरेको हुन सक्ने आशंका गरिएको छ ।
एचसीसी सेग्रगेट कमोडिटीको अवैध कारोबार गर्न मनी स्पेल इन्भेस्टमेन्ट प्रालि (मेक्स नेपाल)ले सञ्चालनमा ल्याइएको खाता हो । महानगरीय प्रहरी परिसरले अहिले यो विषयमा विस्तृत अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार विभिन्न बैंकमा यो खातामा ३७ करोडभन्दा बढी रकम जम्मा भएको पाइएको छ ।
अनुसन्धानका क्रममा हालसम्म मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृतसहित चार जनालाई पक्राउ गरिएको छ भने मुख्य योजनाकारका रूपमा रहेका थप दुई जनाको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ । यता नेपाल राष्ट्र बैंकले यी व्यक्तिसँग जोडिएका अन्य खाताहरूमा भएको कारोबारको सवालमा पनि अनुसन्धान अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले कमोडिटी सर्भर साइप्रसबाट सञ्चालन गरेको खुलेको छ । नेपालमा अवैधानिक रहेको कोमोडीटी कारोबार गर्दै ठगी गर्नको लागि मेक्स नेपालले शेयर तालिम भन्दै क्लास सञ्चालन गरेको र क्लासमा उपस्थितहरूलाई शेयरबाट कहिले पनि माथि उठ्न नसकिने र कमाउनको लागि कमोडीटीमा लाग्नुपर्ने प्रचार गरेका थिए ।
उनीहरूलाई कमोडीटी नेपाल धितोपत्र बोर्ड नियमन गरेको बजार भएको भन्दै २०७४ मा जारी गरिएको वस्तु विनिमय बजारसम्बन्धी ऐन देखाइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९ १०:२८