नेपाल राष्ट्र बैंकले २० चैतमा जारी गरेको बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षको उमेर हदसम्बन्धी निर्देशन सर्वाेच्चमा कानूनी परीक्षणमा छ ।
सो निर्देशनविरुद्ध प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दर्ता गराएको रिट निवेदनमा सर्वाेच्चले अन्तरिम आदेश दिइसकेको छ । अन्तरिम आदेशमा मानन्धरलाई काम गर्न दिनू भनिएको छ ।
राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतको उमेर हद ६५ वर्ष र सञ्चालक समिति अध्यक्षको उमेर हद ७० वर्ष तोक्दै निर्देशन जारी गरेको थियो । यस्तै, पदमा बहाल व्यक्तिको हकमा प्रमुख कार्यकारीका लागि ६९ वर्ष र अध्यक्षका लागि ७४ वर्ष तोकिएको थियो ।
राष्ट्र बैंकको सो निर्देशनविरुद्ध सर्वाेच्चले अन्तरिम आदेश जारी गरेपछि अन्य प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समिति अध्यक्षको हकमा के हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अदालतको आदेशको अक्षरशः पालना गर्ने बताउँछन् । अदालतको आदेशको अक्षरशः पालना गर्दा पनि राष्ट्र बैंकले अहिले नारायणदास मानन्धरलाई प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा रहेर काम गर्न दिनुभन्दा बाहेक केही गर्न सक्दैन ।
अदालतले उमेर हदको विषयमा अन्तरिम आदेश दिएको मात्रै हो । अन्तिम फैसला गरेको होइन । अन्तिम फैसला गरेको भए अदालतले राष्ट्र बैंकको सो निर्देशन नै खारेज गरिदिन्थ्यो वा कार्यान्वयन गर्न बाटो खुला गरिदिन्थ्यो । अन्तरिम आदेश भएकोले अन्तिम फैसला कस्तो हुन्छ भन्ने अनुमान गर्न सकिँदैन ।
अदालतको अन्तरिम आदेश भनेको रिट निवेदकको हकमा मात्रै कार्यान्वयन हुने आदेश हो । अर्थात् नारायणदास मानन्धरले जागिर खान पाए तर उस्तै अवस्थाको अर्काे प्रमुख कार्यकारी अधिकृत छन् भने मानन्धरको अहिलेको नजिर देखाएर जागिर खान पाइँदैन ।
बैंक सञ्चालक समिति अध्यक्षका विषयमा त अदालतले केही बाेलेकै छैन । यो विषय अदालत प्रवेश गरेको पनि छैन त्यसैले सञ्चालक समिति अध्यक्षको हकमा भने अहिले राष्ट्र जे निर्देशन जारी गरेको छ, सोही कार्यान्वयनमा छ ।
सम्बन्धित सामग्री
उमेर हद तोक्ने राष्ट्र बैंकको निर्देशन संविधानको मौलिक हकविरुद्धः सर्वाेच्च
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६, १०:०८:००