नेपाली सेनाले काठमाडौं उपत्यकाभित्र घर बनाउन सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । सेनामा कार्यरत सैनिकलाई सहयोग पुग्ने गरी सहुलियतपूर्ण आवास कर्जा दिने योजना बनाइएको हो ।
कल्याणकारी कोषमा रहेको रकमबाट सहुलियतपूर्ण आवाश कर्जाको व्यवस्था गर्न लागिएको सेनाको कल्याणकारी कोषले जानकारी दिएको छ । सेनाले गत वर्षदेखि सैनिक सन्ततिको प्राविधिक शिक्षाका लागि सहुलियत कर्जा दिने व्यवस्था गरेको थियो । यो व्यवस्था प्रभावकारी भएकोले यस्तै अर्काे योजना ल्याउन लागिएको कोषले जानकारी दियो ।
‘सैनिक सन्ततिको प्राविधिक शिक्षाका लागि सहुलियत कर्जा कार्यक्रम ज्यादै प्रभावकारी देखियो, यस्तै प्रकारको सहुलियतपूर्ण आवाश कर्जा कार्यक्रम आउनु पर्यो भनेर वहालवाला सकलदर्जाहरुबाट सुझाव प्राप्त भएको छ, त्यसैले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका स्थानहरुमा घर बनाउन सहुलियतपूर्ण कर्जा सुविधा प्रदान गर्न आवश्यक अध्ययन प्रक्रिया अगाडि बढाउने योजना छ,’ कोषले जानकारी दियो ।
यस्तै, नेपाली सेनाले आफ्नो स्वामित्वमा रहेको जग्गा प्लटिङ गरेर घडेरी विक्री गर्ने योजना दोहोर्याएको छ । सेनाले काठमाडौंको किर्तिपूर र भक्तपूरको दुवाकोटमा किनेको जग्गा प्लटिङ गरेर विक्री गर्ने योजना बनाएको हो । यस्तो जग्गामा प्लटिङ गरेर घडेरी विक्री गर्न नमिलेको अवस्थामा सवै जग्गा विक्री गरेर सैनिकलाई घर बनाउन सहुलियतपूर्ण कर्जा नै दिने विकल्प पनि सेनाले अगाडि सारेको छ ।
कोषले थप्यो २५ नयाँ कार्यक्रम
सेनाको कल्याणकारी कोषले सहुलियतपूर्ण कर्जा सुविधा र घडेरी बेच्नेलगायत २५ वटा नयाँ कार्यक्रम थपेको छ । यस्ता कार्यक्रममा शिक्षा तर्फ सेनाको स्कूल नभएका क्षेत्रमा बसोबास गर्ने सैनिक सन्ततिलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा दिन प्रदेश २ र ५ का उत्कृष्ट नीजि तथा सामुदायिक विद्यालय छनोट गरी १९ वटा विद्यालयलाई इम्प्यानल स्कूलको व्यवस्था गरिएको छ । आगामी वर्षदेखि यस्तो सुविधा ७७ जिल्लामा नै सुरु गरिने सेनाले जानकारी दियो ।
यस्तै सवै प्रदेशमा सेनाको स्कूल स्थापना गर्ने, सवै विद्यालयत र महाविद्यालयहरुमा प्रविधिको प्रयोग गर्ने, विद्यालयको पूर्वाधार विकास गर्ने, काठमाडौंको छाउनीमा मन्टेश्वरी विद्यालय खोल्ने, अनलाइनबाटै छात्राबृत्तिको आवेदन दिन सक्ने व्यवस्था मिलाउने र कल्याणकारी मोवाइल एप बनाउने सेनाको योजना छ ।
स्वास्थ्यतर्फ विरेन्द्र सैनिक अस्पतालको सेवा सय दिनभित्रमा सेवाग्राहीले अनुभूत गर्न सक्ने गरी सुधार गर्ने, प्रादेशिक सैनिक अस्पताल स्थापनालाई जोड दिने, नेपालगन्ज अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्न आवश्यक प्रबन्ध मिलाउने र इम्प्यानल अस्पताल स्थापना गर्ने जस्ता योजना सेनाका छन् ।
कोषसले सीप तथा स्वरोजगार कार्यक्रमतर्फ कृषि तालिम केन्द्र स्थापना गर्ने, सिपमुलक तालिमलाई विकेन्द्रीकरण गर्ने जस्ता कार्यक्रम छन् । सेनाले सावधिक जीबन बीमा संचालन गर्ने लगायतका योजना पनि अघि सारेको छ ।
कोषमा साढे ३८ अर्ब
सेनाको कल्याणकारी कोषमा अहिलेसम्म ३८ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको जानकारी दिइएको छ । गत वर्ष यो कोषमा ३५ अर्ब ७७ करोड रुपैयाँ थियो । एक वर्षमा सेनाको कोषमा २ अर्ब ८० करोड ३६ लाख रुपैयाँ बृद्धि भएको सेनाले जानकारी दिएको छ ।
कहाँबाट आउँछ पैसा ?
सेनाको कोषमा मुख्यगरी ३ प्रकारका आयस्रोत हुन्छ । यसमा शान्ति सेनामा भाग लिए वापत प्राप्त हुने रकम, बैंक तथा वित्तीय संस्थामा भएको निक्षेपबाट प्राप्त व्याज र सेनाको स्वास्थ्य विज्ञान संस्थान, स्कूल र कलेजमा पढाए वापत प्राप्त शिक्षण शुल्क हो ।
कोषका अनुसार यसवाहेक परिवार आवाश भाडा वापत प्राप्त रकम, अक्सिजन प्लाण्ट लगायतका आयमुलक लगानीबाट प्राप्त प्रतिफल, विदेशी मिसनमा जाने सैनिकले प्राप्त गरेको रकमबाट लिइने ५ प्रतिशतको रकम, विदेशी मुद्रा सटहीबाट प्राप्त प्रिमियम र मेडिकल सेवा उपलब्ध गराए वापत प्राप्त आम्दानी पनि यसमा समावेश हुन्छ ।
५ करोड रकम अझै जोखिममा
कोषले निक्षेप राखेका बैंक तथा वित्तीय संस्थाहरु समस्याग्रस्त भएपछि उसको करिब ८५ करोड रुपैयाँ जोखिममा परेको थियो । आर्थिक वर्ष २०६६÷६७ मा कोषको ८४ करोड ५१ लाख रुपैयाँ समस्याग्रस्त बैंक तथा वित्तीय संस्थामा थियो ।
तर, पछिल्लो समय यस्तो रकम उल्लेख्य रुपमा उठेको छ । कोषका अनुसार अब जोखिममा रहेको ५ करोड २ लाख रुपैयाँ मात्रै उठ्न बाँकी छ । पछिल्लो समय कोषले बाणिज्य बैंक बाहेकमा निक्षेप राख्न छोडेको छ ।
२० करोड रुपैयाँ बेरुजु
कोष र अन्तरगत निकायहरुको लेखापरीक्षणको कार्य महालेखा परीक्षकको कार्यालयबाट हुने गरेको छ । कोषका अनुसार अब उसले २० करोड १४ लाख रुपैयाँ बेरुजु फछ्र्योट गर्न बाँकी छ ।
गत आर्थिक वर्षसम्ममा ५० करोड २३ लाख रुपैयाँ बेरुजु रहेकोमा सो आर्थिक वर्षमा ३० करोड ४० लाख रुपैयाँ बेरुजु फछ्रर्योट भएको कोषको दाबी छ ।