संसदीय ढाेका खाेल्न झापा १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा तेस्रोपटक चुनाव लड्दैछन् । २०७४ काे निर्वाचनमा माओवादी नेता राम कार्कीसँग पराजित शर्माले यसपटक एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलकाे सामना गर्दैछन् ।
सत्ता गठबन्धनका कारण अघिल्लाे चुनावका प्रतिस्पर्धी कार्कीकाे साथले उनले चुनाव जित्ने आधार जति बलियाे छ । एमाले र राप्रपाकाे तालमेलले विजयकाे माला लगाइहाल्न उत्तिकै कठिन पनि देखिँदैछ । २०७० र २०७४ मा एक्लै लडेका शर्मालाई यसपटक माओवादी र एकीकृत समाजवादीको साथ छ । एमाले र माओवादीका उम्मेदवारसँग पालैपालाे हार ब्यहाेरेका शर्माका लागि यसपटक सहानुभूतिकाे भाेटकाे पनि अपेक्षा छ ।
२०७४ मा शर्माले ३३ हजार ३१० मत प्राप्त गर्दा कार्कीले ३६ हजार १७३ मत ल्याएर जितेका थिए । झापा–१ मा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाकोे ९ र १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६, ७ वडा पर्छन् ।
त्यसाे त यसपटक पनि चुनावी अंकगणित शर्माका लागि त्यति अनुकूल छैन । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा झापा–१ मा पर्ने वडाहरूमा कांग्रेस, माओवादी र समाजवादीका उम्मेदवारले २८ हजार ४०६ मत पाएका थिए । एक्लै चुनावमा सहभागी भएको एमालेको वडाध्यक्षका उम्मेदवारको मत ३१ हजार २ सय ३२ मत ल्याएको थियो । मंसिरको निर्वाचनमा एमालेकाे राप्रपासँग पनि तालमेल छ ।
स्थानीय तह निर्वाचनमा राप्रपाका वडाध्यक्ष उम्मेदवारले झापा–१ मा ५ हजार ८३० मत पाएका थिए । राप्रपा र एमालेको मत जोड्दा ३७ हजार ६२ हुन्छ । पाँच वर्षअघि नतिजा र स्थानीय चुनाव मतपरिणामलाई हेरेर झापा १ काे विश्लेषण गर्न भने कठिन छ । कांग्रेस महामन्त्री शर्मासँग शिलापत्रकर्मी रमेश भारतीले उनकाे निर्वाचन क्षेत्र पुगेर लिएकाे अन्तर्वार्ताकाे सम्पादित अंशः
झापा–१ बाट दुईपटक पराजय भाेगिसक्नुभएकाे छ । यसपटक जित्नुहुन्छ ?
झापा– १ बाट कांग्रेसले योपटक संसद्को प्रतिनिधित्व गर्छ । यसमा कुनै शंका छैन । जनताले त्यो संकेत गरेकै भएर मैले बोलेको हुँ । म हावाको भरमा जित्छु भन्दै छैन । मलाई जिताउन जनताले भरपूर सहयोगसँग लागिपरेका छन् । त्यही भएर ढुक्कका साथ भनेको हुँ ।
कांग्रेसकै प्रधानमन्त्री बनाउँदा पाँच वर्ष प्रधानमन्त्री टिकाउन सकिएला कि नसकिएला भन्ने प्रश्न उठ्ला । ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा बसेर काम गर्न पाएको छैन ।
तपाईं अलिक व्यस्त समयमा मसँग कुराकानी गर्न आइपुग्नुभयो । अहिले म दैनिक ६ घन्टासम्म हिँडेर जनताको घरदैलोमा पुग्ने गरेको छु । यो राजनीतिको महासंग्राम पनि हो । त्यही भएर समयको महत्त्व धेरै हुँदोरहेछ । निर्वाचनमा जित्ने गरी खटिनुपर्छ । त्यहीअनुसार व्यवस्थापन भइरहेको छ ।
तपाईं एमाले र माओवादीका उम्मेदवारसँग पालैपालाे हार्नुभयाे । यसपटक पनि मुस्किल छ, एमाले नेता अग्नि खरेलसँगकाे प्रतिस्पर्धा महँगाे पर्छ भनिँदैछ नि ?
एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलसँग म प्रतिस्पर्धी छु । मैले होइन, उहाँले मलाई महँगो ठान्नुभएको छ । किनकि उहाँका लागि झापा–१ नयाँ निर्वाचन क्षेत्र हो । त्यही भएर उहाँलाई चाहिँ मंसिरको निर्वाचनमा धेरै महँगो पर्ला कि ।
झापा–१ मा अहिलेसम्म कम्युनिस्टले जितेर यहाँका जनताले के पाए त ? यो मुख्य प्रश्न हो । यो प्रश्न यहाँका जनताले पनि उनीहरूलाई सोध्न थालेका छन् । अहिले उनीहरूसँग त्यसकाे जवाफ पनि छैन ।
झापा–१ का जनताले कम्युनिस्टको स्वाद हरेक निर्वाचनमा चाखे । तर, उनीहरूले त्यस्तो मिठास, विकास, परिर्वतन र समस्या समाधानको अनुभूति गर्न पाएनन् । त्यसका कारण पनि योपटक झापा–१ का जनताले कांग्रेसलाई मतदान गर्छन् ।
तपाईंले भनेझैँ नतिजा निकाल्न केकस्ता एजेन्टा र रणनीति छन् ?
झापालाई समृद्ध बनाउनु मुख्य एजेन्डा हो । झापा जिल्ला धेरै क्षेत्रमा सम्भावना बोकेको क्षेत्र हो । कृषि, पर्यटन, उद्योग, धान उत्पादन, भारतसँगको व्यापार, रोजगारी, सामान्यदेखि ठूला व्यापार बढाउने, वन जंगल संरक्षण गर्ने र झापालाई सुदूरपूर्वको व्यापारिक केन्द्र बनाउने कांग्रेसकाे लक्ष्य छ ।
कांग्रेसले लिएको लक्ष्य पूरा गर्छ । झुटो आश्वासन मात्र बाँड्दैन । म जति काम गर्न सक्छु, त्यति मात्र योजना बनाउँछु । त्यही भएर गर्न नसक्ने योजना ल्याएर निर्वाचनमा खर्चिएको पनि छैन । झापा–१ मा हरेक निर्वाचनमा योजना बनाएर एमालेले भोट माग्यो । तर, ती योजना संसद्मा प्रवेश गरेनन् । हामीले बनाएका योजना कार्यान्वयन पनि हुन्छन् । संसद्मा पनि उठ्छन् । यो मेरो प्रतिबद्धता हो ।
तपाईंलाई आफ्नो निर्वाचन क्षेत्रकै मतदाताले केन्द्रीय राजनीतिमा मात्र ध्यान दिने नेता भनेर टिप्पणी गर्छन् । जिल्लाकाे ध्यानै दिनुहुन्न भन्छन् त ।
यो कसैले मतदाताको ध्यान भड्काउन गरेको प्रचार र हल्ला मात्र हो । मैले दुईपटक झापा–१ बाट पराजय भोगे पनि निर्वाचन क्षेत्र फेर्न खोजिनँ । यो यहाँका जनताले मलाई गरेको विश्वासकै कारण हो ।
अरुले के भन्छन्, त्यो मेरो सरोकारको विषय होइन । म त जहिले पनि झापा–१ का जनतासँग रहने र उनीहरूसँग बसेर काम गर्ने नेता हुँ । त्यही भएर झापा–१ का जनताले कांग्रेस र मप्रति जहिल्यै सहानुभूति राख्दै आएका छन् ।
केन्द्रीय नेता भएर पनि झापा–१ को विकासमा तपाईंको चासो छैन भनेर आरोप लगाउनु राजनीतिक फन्डा मात्र हो । यो जनताको मुखबाट आएको आरोप होइन ।
दुई दशकदेखि केन्द्रीय राजनीतिको वरिपरि हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रका समस्या समाधानका लागि के गर्नुभयो ?
मैले पार्टीको केन्द्रीय तहमा बसेर काम गरेँ । तर, झापा–१ बाट प्रतिनिधित्व भने गर्न पाएको छैन । त्यही भएर भनेजस्तो काम गर्ने अवसर पनि पाएको छैन । जनप्रतिनिधि नभए पनि झापा–१ को विकासका लागि मात्र होइन, पूरै झापाका लागि काम गरेको छु । विश्वप्रकाश कांग्रेसी मात्र भनेर काम गर्ने व्यक्ति होइन, समग्र जनताका समस्यामा केन्द्रित भएर काम गर्ने नेता हो ।
अरुले के भन्छन्, त्यो मेरो सरोकारको विषय होइन । म त जहिले पनि झापा–१ का जनतासँग रहने र उनीहरूसँग बसेर काम गर्ने नेता हुँ । त्यही भएर झापा–१ का जनताले कांग्रेस र मप्रति जहिल्यै सहानुभूति राख्दै आएका छन् ।
झापा–१ मा भारतबाट प्रवेश गर्ने जंगली हात्तीको आतंक एउटा समस्या हाे । जंगली हात्तीका कारण धेरै क्षेत्रमा जनधनको क्षति हुँदै आएकाे छ । यो समस्या समाधानका लागि मैले संसद्बाहिर भए पनि काम गरिरहेको छु । स्वास्थ्य, सडक, बिजुली, सिँचाइ, शिक्षा, रोजगार र व्यापारजस्ता समस्या समाधान गर्न प्रयाससँगै सहजीकरण गरिरहेको छु । झापा–१ को समस्या समाधान गर्न म हिजो पनि जनतासँग थिए, आगामी दिनमा अझ बढी हुनेछु ।
तपाईं कांग्रेस महामन्त्री पनि हुनुहुन्छ, ल मानिलिऊँ मंसिरको निर्वाचनमा सत्ता गठबन्धनले बहुमत ल्यायो । कसको नेतृत्वमा सरकार बन्छ ?
एउटा निर्वाचन जित्ने र एउटा निर्वाचन हार्ने कर्म गरिरहेको कांग्रेसले देशको मुहार राम्रो ढंगले बदल्न सक्दैन । आगामी निर्वाचनमा गठबन्धनले बहुमत ल्याउँछ । यो जतनाको चासोको विषय पनि हो । त्यही भएर सत्तारुढ गठबन्धनबीच छलफल हुन्छ । त्यसपछि यो पार्टीले सत्ताको नेतृत्व गर्ने भन्ने निर्णय हुन्छ । सहमतिमै सरकार बन्छ । अहिलेलाई यति बुझौँ ।
जनतामाझ जाँदा त कांग्रेसले जित्छ, कांग्रेसकै प्रधानमन्त्री हुन्छ भनेर भोट माग्दै हुनुहुन्छ ? चुनावपछिकाे समीकरणबारे कांग्रेस अझै अस्पष्ट हाे र ?
कांग्रेसलाई जित्ने मात्रै सोच छैन, देश चलाउनुपर्ने दायित्व पनि थपिएको छ । हरेक संकट र परिर्वतनका लागि कांग्रेसले देशको नेतृत्व गर्दै आएको छ । त्यही भएर एक कार्यकाल मात्रै होइन, अबका तीन कार्यकाल कांग्रेसलाई जिताएर मुलुकमा आमूल परिर्वतन ल्याउनुपर्छ भन्ने मेरो मान्यता हो । त्यहीअनुसार कांग्रेसले योजना बनाएर काम गर्नुपर्छ भन्दै आएको छु ।
कांग्रेसकै प्रधानमन्त्री बनाउँदा पाँच वर्ष प्रधानमन्त्री टिकाउन सकिएला कि नसकिएला भन्ने प्रश्न उठ्ला । ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा बसेर काम गर्न पाएको छैन । त्यही भएर देशमा अस्थिरता सिर्जना भइरहेको छ ।
साथमा याे पनिः
बाहिर हल्ला भएजस्तो झापामा एमालेभित्र कुनै विवाद छैन : खरेल (अन्तर्वार्ता)
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९ १८:३६