नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनाव अग्रगमनकारी र प्रतिगमनकारीबीच लडाइँ भएको बताएका छन् ।
प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको ‘मिलन स्मारिका’ विमोचन गर्दै प्रचण्डले चुनावबाट प्रतिगमनकारी शक्तिलाई पराजित गर्नु पर्ने बताएका हुन् ।
‘आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव दुई विचार, दुई प्रवृत्ति र दुई धारबीचको लडाइँ हो । यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्ने दुईवटा धाराबीचको लडाइँ हो,’ उनले भने ।
अध्यक्ष प्रचण्डले संसद विघटन पछि प्रतिक्रान्तिको अवस्था आएको तर त्यसलाई आफूहरूले रोकेको बताए । आफूहरू बलियो भएमा मात्र परिवर्तनको रक्षा हुने र समाजवादको आधार निर्माण गर्ने वातावरण बन्ने उनले बताए । तर, आफूहरू कमजोर हुँदाचाहिँ सबैथोक उल्टिने खतरा रहेको उनले बताए ।
अहिले पनि प्रतिगमनको खतरा नटरेकाले मंसिर ४ प्रतिगनकारी र अग्रगमनकारीको शक्तिबीचको लडाइँ प्रचण्डको भनाइ छ । ‘प्रतिगमनको खतरा टरेको छैन । प्रतिगमनको शक्ति कति छ, अग्रगमनको शक्ति कति छ भनेर फैसला हुने दिन मंसिर ४ को चुनाव हो,’ उनले भने ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ ११:३५