संसारकै शक्तिशाली र समृद्ध भनिएको अमेरिकामा एउटा शब्द निकै चर्चित छ । कहिलेकाहीँ त्रास, कहिले रोमाञ्च अनि कहिले विकृतिको पर्यायका रूपमा आउने यो शब्दको वरिपरि रहेर अमेरिकी समाजमा निकै बहससमेत हुने गरेको छ । त्यो शब्द हो– गन कल्चर अर्थात् बन्दुक प्रयोगको परम्परा ।
अमेरिकामा गन कल्चरलाई लिएर निकै गरमागरम बहस हुने गरेका छन् । कतिले यसलाई अमेरिकी संस्कृतिको अभिन्न अंग बताउने गरेका छन् भने कतिपयले अमेरिकी गन कल्चरलाई अमेरिकी समाजको विकृतिका रूपमा लिने गरेका छन् ।
के हो अमेरिकी गन कल्चर ?
अमेरिकी समाजमा बारुदयुक्त हतियार प्रयोगसम्बन्धी मान्यता, यसलाई लिएर समाजको चालचलन र समाजको यसप्रतिको रवैयालाई अमेरिकी गन कल्चर (Gun Culture) भनिन्छ । अमेरिकामा आत्मरक्षा, शिकार, मनोरञ्जन र टार्गेट शुटिङका लागि बन्दुक प्रयोग गरिन्छ । अमेरिकामा बन्दुकको अधिकारको वकालत गर्ने एउटा ठूलै समूह छ ।
विशेषगरी, रुढीवादी समूहका यस्ता मानिसले बन्दुकको वकालत र अर्काथरी बन्दुकको प्रयोग नियन्त्रण गरिनुपर्छ भन्ने अर्को उदार समूहबीचको तीव्र बहसलाई संयुक्त राज्य अमेरिकामा गन पोलिटिक्स (Gun Politics) भन्ने गरिन्छ ।
अमेरिकीहरूको बन्दुक माया
प्रत्येक १ सय अमेरिकीमा ९० जनासँग बन्दुक भएको एक अनुमान गरिन्छ । हरेक दिन गोली प्रहारका झन्डै ८५ घटना अमेरिकामा हुने गरेको तथ्यांक छ । यति हुँदा पनि अमेरिकामा बन्दुकको माया अधिक छ । बन्दुकलाई माया गर्नेको ठूलो समूह अमेरिकामा छ । उनीहरूको बन्दुकप्रतिको मोह बुझिनसक्नु छ ।
अमेरिकाको बन्दुकप्रतिको माया अनि त्यसप्रतिको लगाव यस्तो छ कि अमेरिकाको आधा जनसंख्यासँग कम से कम एउटा बन्दुक भएकै हुन्छ । संसारभरिकै निजी बन्दुक प्रयोगकर्ताभन्दा अमेरिकामा बन्दुक प्रयोगकर्ताको संख्या दोब्बर छ । यहाँ बन्दुक भन्दा बन्दुक, पेस्तोल अथवा त्यस्तै गोली प्रहार गर्न सक्ने सबै किसिमको हतियार बुझ्नुपर्छ । अंग्रेजीमा त्यसलाई फायर आर्मस् (Fire Arms) भनिन्छ ।
अमेरिकामा राज्यअनुसार यस्ता हतियार प्रयोगकर्ताको संख्या फरक फरक छ । प्रतिशतको हिसाबले यस्तो हतियार प्रयोगकर्ता सबैभन्दा बढी अलास्का राज्यमा छन् । त्यसपछि फ्रन्टियर स्ट्रिप (Frontier Strip) भनिने नर्थ डकोडादेखि टेक्साससम्मका राज्यमा यस्ता हतियारधारीको संख्या बढी छ । ती राज्यमा नर्थ डकोटा, साउथ डकोटा, नेब्रास्का, कान्सास, ओक्लाहोमा र टेक्सास पर्छन् ।
त्यस्तै, अमेरिकाका पहाडी राज्य (Mountain States) भनिने आठ राज्यहरू एरिजोना, कोलोराडो, इदाहो, मोन्टाना, नेवाडा, न्यु मेक्सिको, युटा र योमिङ राज्यमा पनि बन्दुक प्रयोगकर्ताको संख्या अत्यधिक छ ।
हवाई, क्यालिफोर्निया र नर्थइस्ट मेट्रोपोलिस जसमा अमेरिकाका बाेस्टन वासिंगटन करिडोरका सबैभन्दा बढी शहरीकृत क्षेत्रहरू पर्छन्, ती क्षेत्रमा भने बन्दुक प्रयोगकर्ताको संख्या न्यून छ । यसरी हेर्दा अमेरिकाको शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बन्दुक प्रयोगकर्ताको संख्या अत्यधिक छ ।
अमेरिकी बन्दुक प्रयोगकर्ताले बन्दुक राख्नुको मुख्य कारण आत्मरक्षा बताउने गरेका छन् । बन्दुक प्रयोगकर्तामध्ये ६० प्रतिशतले यस्तै जवाफ दिने गरेका छन् । तर, अमेरिकामा बन्दुक प्रयोगलाई मनोरञ्जनको साधनका रूपमा पनि लिने गरिन्छ ।
शिकार, अव्यवस्थित रूपमा गोली चलाएर खेलिने तारो हान्ने खेल र व्यवस्थित रूपमा हुने शुटिङ खेलहरू अमेरिकीहरूबीच निकै लोकप्रिय छन् । अमेरिकामा बन्दुक प्रयोगमा महिलाभन्दा पुरुषको संख्या अत्यधिक छ । महिलाभन्दा चार गुणा बढी पुरुषसँग बन्दुक वा त्यस्तै हतियार रहेको तथ्यांकमा उल्लेख छ ।
अमेरिकामा सामूहिक हत्या (Mass Killings)
तथ्यांकका अनुसार अमेरिकामा निरन्तर सामूहिक गोलीबारी (Mass Killings) का घटना भइरहन्छन् नै । चारजना वा सोभन्दा बढी मानिस गोलीबारीमा घाइते भए त्यसलाई सामूहिक गोलीबारी भन्ने गरिन्छ । पछिल्ला दुई दिनयता अमेरिकामा भएका गोलीकाण्डमा ३० जनाको हत्या भयो । टेक्सासको एल पासोमा मात्र २० जना मारिए भने डेटन ओहायोमा १० जनाको सामूहिक हत्या भयो ।
यस वर्ष जनावरीदेखि अहिलेसम्म अमेरिकामा ११ वटा सामूहिक गोलीबारीका घटना भए, जसमा ६९ जनाको ज्यान गइसकेको छ । गत वर्ष सन् २०१८ मा विभिन्न २३ सामूहिक गोलीबारीका घटनामा १ सय २ जना मारिए ।
आधुनिक अमेरिकाको इतिहासमा सबैभन्दा जघन्य गोलीबारीको घटना सन् २०१५ मा भयो । यसै वर्षको जुन १६ तारिखका दिन अमेरिकाको फ्लोरिडा राज्यको अर्लान्डोमा भएको गोलीबारीमा ५० जनाले ज्यान गुमाए भने ५३ जना घाइते भए । समलिंगीहरूको नाइट क्लबमा राति करिब २ बजे भएको गोलीबारी अमेरिकी इतिहासकै सबैभन्दा जघन्य गोलीबारी हो ।
२९ वर्षीय ओमार मातिन नामका एक युवाले नाइट क्लबमा घुसेर अन्धाधुन्ध गोली चलाउँदा त्यति ठूलो संख्यामा मानवीय क्षति भएको थियो । त्यसअघि पनि अमेरिकामा यस्ता ठूला नरसंहारका घटना भएका छन् ।
सन् २०१२ मा कनेक्टिकटको न्युटाउनको एक प्राथमिक विद्यालयमा भएको आक्रमणले त्यसबेला सारा विश्वलाई नै झस्काइदियो । अमेरिकी इतिहासमा साना बालबालिकामा भएको यो सबैभन्दा जघन्य अपराध थियो ।
एडम लान्जा नामका २० वर्षीय युवाले गरेको यो गोलीबारीमा ती युवासहित २७ जना मारिएका थिए, जसमा २० जना कक्षा १ मा पढ्ने विद्यार्थी थिए भने अन्य ६ जना वयस्क पनि थिए । गोलीबारी पछि ती युवाले आफैंलाई गोली हानी आत्महत्या गरे । अमेरिकामा यस्ता सामूहिक हत्याका घटना निरन्तर भइरहन्छन् ।
सामूहिक हत्याको इतिहास
अमेरिकामा यस्ता सामूहिक हत्याको इतिहास निकै पुरानो छ । अमेरिकी क्रान्तिका बेला भएको युद्धदेखि नै यस्ता सामूहिक हत्या भएको पाइन्छन् । अमेरिकामा बन्दुक राख्ने संस्कृति पनि त्यतिबेलादेखि नै शुरु भएको मानिन्छ ।
नियोजित रूपमा भएको सामूहिक हत्याको लिखित इतिहासमा यस्तो खालको पहिलो घटनाको उल्लेख सन् १७७० मार्च ५ को दिन बोस्टनमा भएको पाइन्छ । त्यसबेला बोस्टनमा बेलायती सेनाले पाँचजना सर्वसाधारण पुरुषको हत्या गरेको थियो भने अन्य ६ जना घाइते भएका थिए । त्यस घटनापछि सन् १७६८ देखि बोस्टनमा रहेको बेलायती सेनाविरुद्ध अभियानसमेत शुरु भएको थियो ।
अमेरिकामा साम्प्रदायिक नरसंहारको इतिहास भने पहिलोपटक १८७१ मा भएको पाइन्छ । त्यसबेला ५ सयको संख्यामा रहेका गोरा अमेरिकीले लस एन्जेलिजको चाइना टाउनमा करिब २० चिनियाँ आप्रवासीको सामूहिक हत्या गरेका थिए । त्यसबेला ठूलो संख्यामा चिनियाँ आप्रवासीहरू लुटिएका थिए । यसलाई अमेरिकाको इतिहासको सबैभन्दा ठूलो साम्प्रदायिक नरसंहार मानिन्छ ।
बन्दुक संस्कृति
अमेरिकीहरूमा बन्दुकप्रतिको लगाव अमेरिकी क्रान्तिको बेलादेखि नै शुरु भएको हो । त्यसैगरी, शिकारी संस्कृति र लडाकु इतिहासले पनि बन्दुकप्रतिको लगावमा भूमिका खेलको देखिन्छ । १९औं शताब्दीमा काउ ब्वाय (Cow Boy) अनि वाइल्ड वेस्ट (Wild West) को काल्पनिक संस्कृति पनि अमेरिकामा भित्रिएको पाइन्छ ।
अमेरिकी साहित्यमा पाइने लडाकुको रोमाञ्चक कथा, त्यस्तै १८औं शताब्दीमा अमेरिकामा प्रसिद्धि पाएका ‘द लास्ट मोहिकान्स (The Last Mohicans) र ‘द डियर स्लेयर (The Deerslayer) जस्ता औपन्यासिक कृतिको पनि बन्दुक संस्कृति विकासमा विशेष योगदान रहेको मानिन्छ ।
त्यस्तै, प्रसिद्ध लेखक ओवेन विस्टरले आफ्ना कथा र ‘भर्जिनिया (Virginia)लगायतका उपन्यासमा बनाएको काउ ब्वाय (Cow Boy)को छवि तथा थ्याेडाेर रुजवेल्टकाे ‘द विनिङ अफ वेस्ट (The winning of West)ले पनि बन्दुक संस्कृति अमेरिकी जनमानसमा स्थापित गराउन भूमिका खेलेको मानिन्छ ।
पछिल्लो समय हलिउडका सिनेमाले पनि बन्दुक संस्कृतिलाई स्थापित गराउन भूमिका खेलेका छन् । सुरुवाती चरणका अमेरिकी सिनेमा द ग्रेट ट्रेन रबरी (The Great Train Robbery) र अ क्यालिफोर्निया होल्ड अप ( A California Hold Up) देखि नै बन्दुक अमेरिकी सिनेमाको प्रमुख अंग बनेको छ । चर्चित हलिउड सिनेमा ‘गड फादर (The Godfather) शृंखलाजस्ता अमेरिकी सिनेमामा पनि प्रशस्तै बन्दुक प्रयोग गरिएको पाइन्छ ।
राजनीति र गन कल्चर
गन कल्चर अमेरिकामा सार्वजनिक बहसको एक प्रमुख विषय बन्दै आएको छ । गन कल्चर शब्दको सबैभन्दा पहिलो प्रयोग अमेरिकी इतिहासकार रिचर्ड हब्सटयाड्टरले सन् १९७० मा प्रकाशित आफ्नो लेख ‘अमेरिका एज अ गन कल्चर (America as a Gun Culture) मा प्रयोग गरेका हुन् ।
त्यसयता गन कल्चर हरेक अमेरिकी चुनावमा प्रयोग हुने प्रमुख शब्दहरूमध्ये एक रहँदै आएको छ । गन कल्चरको समर्थन र विरोधमा अमेरिकामा चुनावसमेत लडिने गरेको छ । बन्दुकको अधिकार र बन्दुक नियन्त्रणका विषयमा अमेरिकी राजनीतिमा ठूला ठूला बहस हुने गरेका छन् । विरोधीहरूले यसलाई बन्दुकको राजनीतिसमेत भन्ने गरेका छन् ।
प्रख्यात व्यक्तिका हत्या
अमेरिकामा कतिपय प्रख्यात व्यक्तिहरूको गोली हानी हत्या भएको छ । त्यसमा पनि बन्दुक संस्कृतिले भूमिका खेलेको आरोप लाग्ने गरेको छ । सन् १८४१ देखि १९६३ सम्म आठजना अमेरिकी राष्ट्रपतिको गोली हानी हत्या गरिएको थियो । जसमा विलियम हेनरी हेरिसन, ज्याकेरी टेलर, अब्राहम लिंकन, जेम्स ए गार्फिल्ड, विलियम म्याक किन्ले, वारेन जी हार्डिङ, फ्रान्किलिन डी रुज्वेल्ट र जोन एफ केनेडी पर्छन् ।
त्यस्तै, रोनाल्ड रेगनलगायतका कतिपय राष्ट्रपतिमाथि असफल गोली आक्रमण पनि भएका छन् । प्रसिद्ध सांगीतिक समूह विटल्सका प्रमुख गायक जन लेननलगायतका कतिपय सेलिब्रिटी पनि बन्दुकको शिकार भएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६ ०३:००