नेपाली कांग्रेसले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट राष्ट्रले एक युगपुरुष गुमाएको बताएको छ ।
शताब्दी पुरुष संस्कृतिविद् जोशीको निधनप्रति दुख व्यक्त गर्दै आइतबार मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गरी जोशीलाई नेपाली जनताले सदैव सम्झिरहने उल्लेख गरेका छन् ।
'शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनको खबरले मलाई अत्यन्तै दुखित र स्तब्ध बनाएको छ । भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहनेछन् । उहाँको निधनबाट राष्ट्रले एक युगपुरुषलाई गुमाएको छ,' विज्ञप्तिमा भनिएको छ ।
शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा उपचारका क्रममा किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो । जोशीको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । स्वर्गीय जोशी संस्कृतिविद, लेखक र कुशल अनुसन्धानकर्ता थिए । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा जोशीले महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।
साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याए बापत तीन पटकसम्म मदन पुरस्कार पाउने नेपालको एक मात्र व्यक्तित्व जोशी प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामग्री संरक्षणका लागि जीवनपर्यन्त अनवरत क्रियाशील थिए ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ १४:००