पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज नेकपा एमाले प्रवेश गर्ने भएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
एमाले नेता विशाल भट्टराईका अनुसार खनालसँगै अन्य केही पूर्व राष्ट्रसेवकहरूलाई ओलीले पार्टीमा स्वागत गर्दैछन् । ‘खनालसहित केही पूर्वराष्ट्र सेवकहरू आज एमाले प्रवेश गर्दै हुनुहुन्छ । पार्टी कार्यालयमै स्वागतको कार्यक्रम छ’, भट्टराईले शिलापत्रसित भने ।
खनालले आगामी मंसिर ४ मा हुने चुनावमा उम्मेदवार बन्ने सम्भावना भने नरहेको भट्टराईले बताए । ‘यो चुनावमा उहाँ उम्मेदवार बन्ने होइन । पार्टीमा लागेर देशको सेवा गर्छु भनेर आउनु लाग्नुभएको हो’, भट्टराईले भने, ‘टिकटको आसले आउने भए त उहाँ अस्ती नै आइहाल्नुहुन्थ्यो नि ।’
भट्टराईका अनुसार समानुपातिककाे बन्दसूची पेस भइसकेकाे र प्रत्यक्षका लागि उम्मेदवार सिफारिसकाे काम सकिएकाे अवस्थामा खनाललाई याे चुनावमा उम्मेदवार बनाउने सम्भावना छैन ।
यद्पि अध्यक्ष ओलीले खनाललाई काठमाडाैं वा तराईका कुनै एक क्षेत्रबाट उम्मेदवार बनाउने आश्वासन दिएका छन् । खनालले पनि आफू र अध्यक्ष ओलीबीच भएकाे भेटमा यसबारे कुराकानी भएकाे जानकारी दिए । 'हिजाे अध्यक्षज्यूसँग नै मेराे छलफल भएकाे थियाे । काठमाडाैं वा तराईकाे कुनै एक क्षेत्रबाट उम्मेदवार बन्ने कुरा छ', उनले शिलापत्रसँग भने ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९ ०८:१५