नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार पार्न कार्यदल गठन गरेको छ ।
आइतबार पेरिसडाँडामा बसेको पदिधकारी बैठकले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार पार्न महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा कार्यदल गठन गरेको हो । गुरुङ नेतृत्वको कार्यदलमा उपमहासचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल सदस्य रहेको सचिव गणेश साहले जानकारी दिए ।
कार्यदलले कलस्टर मिलाएर सूची तयार पार्नेछ । उम्मेदवार बढाउने वा घटाउने, मापदण्ड पूरा भए नभएको हेर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ । कार्यदलले सूची तयार पारेपछि भोलि बिहान फेरि पदाधिकारी बैठक बसेर उम्मेदवार नामावली टुंगो लगाइने सचिव साहले बताए ।
निर्वाचन आयोगले २ र ३ असोजमा समानुपातिक तर्फको बन्दसूची बुझाउने समयावधि तोकेको छ ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९ १३:२८