‘अब मैले तेस्रो कुकुर घरमा ल्याएर पालेँ भने उसको नाम फुर्के राख्नेछु,’ क्रिकेटर पारस खड्काले प्रफुल्लित मुद्रामा भने ।
प्रज्ञा प्रतिष्ठानको आँगन त्यसपछि तालीले गुञ्जियो । पारसले तेस्रो कुकुरको नाम ‘फुर्के’ राख्छु भनेपछि सबैभन्दा फुर्किएका त खगेन्द्र लामिछाने देखिन्थे । देव्रे छातीमा हात राखेर खगेन्द्रले मञ्चमा शिर झुकाए ।
खगेन्द्रको एउटै मात्र परिचय छैन । कलाकार, रंगकर्मी, निर्देशक, निर्माता र लेखक ।
तर, धेरैले उनलाई कलाकारका रूपमा चिन्छन् । खगेन्द्र आफैँ भने आफूलाई ‘लेखक’ भनेर चिन्छन् । ‘मेरो सपना लेखक बन्नु थियो । अरु त संयोगले बनेको हुँ,’ खगेन्द्र भन्छन् ।
उनै लेखक खगेन्द्रको तेस्रो पुस्तक उपन्यास ‘फुर्के’को विमोचन थियो, शनिबार । एउटा कुकुरकोे यात्रा, उसको मनोविज्ञान र उसले भोगिरहेको जीवनलाई कुकुरकै आँखाबाट खगेन्द्रले आख्यान लेखे । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको उपन्यासको लोकार्पण थियो, शनिबार । कार्यक्रमको प्रमुख अतिथि थिए राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का । धेरैलाई लाग्न सक्थ्यो, ‘पुस्तक विमोचनमा पारस नै किन ?’
जवाफ पर्खिरहेकाहरूका निम्ति अनौठो रहस्य खुल्छ । पारसका दुई ‘सन्तान’ छन्- स्पार्की र जुहान ।
विवाह भएको तीन महिनापछि पारस दम्पतीले भित्र्याएका थिए, उनीहरूलाई । ‘म सानैदेखि कुकुरप्रेमी । कुकुरको औधी माया लाग्थ्यो,’ पारस भन्छन् ।
पारसले आफ्नो सन्तानभन्दा कम माया दिएका छैनन् दुई कुकुरलाई । ‘जब पारस ‘कुकुरप्रेमी’ भन्ने कुरा हामीले थाहा पायौँ, अनि उहाँलाई भेट्न गयौँ,’ खगेन्द्रले भने ।
पारस भने स्पार्कीको हेरचाहमा व्यस्त थिए । ‘स्पार्कीको अप्रेसनका कारण उहाँलाई भेट्न समय दिन सकेको थिइनँ । उसको अप्रेसन गर्ने बेलामा म भावुक बनिरहेको थिएँ,’ पारसले भने ।
खगेन्द्रले कुकुरमाथि उपन्यास लेखेका छन् भन्ने थाहा पाएपछि पारस खुसी भए । उनले खगेन्द्रलाई धन्यवाद दिए ।
अनि कुकुरमाथि लेखियो उपन्यास
२०५८ सालतिर खगेन्द्र काठमाडौँबाट घर फर्किंदै थिए । उनलाई घरमा कुकुर लगेर पाल्ने रहर जाग्यो । उनले कार्टुनमा हालेर सानो कुकुरलाई स्याङ्जा लगे । त्याे कुकुरलाई उनले निकै माया दिएर हुर्काए । ‘दूध, कोदोको पिठोलाई खोले बनाएर खुवाउँथे । कहिलेकाहीँ मासु खुवाउँथे । कुकुर मज्जाले हुर्किएको थियो,’ खगेन्द्र सम्झिन्छन् ।
आफूले माया गर्ने कुकुरले एक दिन आँगनमा दिसा खाएको देखे खगेन्द्रले । त्यतिबेला उनलाई नरमाइलो लाग्यो, ‘मैले यस्तो माया गरेर, मीठो मीठो खुवाएर हुर्काएको छु । दिसा खाने ?’
केही दिनअघिदेखि गाउँका एक जना भाइले खगेन्द्रलाई आग्रह गरिरहेका थिए, ‘दाइ म केही दिन कुकुर लिएर जान्छु नि ।' उनले दिएका थिएनन् । तर, त्यस दिन भने उनले केही दिनका लगि भाइलाई कुकुर पठाए । तर, त्यो कुकुर फिर्ता आएन ।

भाइले घरमा लगेर कुकुरलाई आँगनमा काठको बेन्चमा सिक्रीले बाँधेर बाहिर निस्किएछन् ।
त्यस दिन भाइको घरमा साना बच्चाहरू सुन्तला टिप्न आएछन् । ‘कुकुर भुक्यो । भुकेपछि बच्चाले गमलाले उसको टाउकोमा हानिदिएछन् । कुकुर मरेछ,’ खगेन्द्र सम्झन्छन् ।
कुकुर मरेको खबरले खगेन्द्रलाई निकै दिनसम्म पिराेल्यो । आफूले निकै स्नेह दिएर हुर्काएको कुकुर । उनी आफ्नै कोठामा कुकुरलाई ओछ्यान लगाएर भुईंमा सुताउँथे । अनि आफू खाटमा सुत्थे । बिहान उठ्दा कुकुर माथि खाटमा उक्लिएर खगेन्द्रको गोडामुनि लुकिरहेको हुन्थ्यो ।
कुुकुर मरेपछि भने उनलाई फेरि पाल्ने रहर कहिल्यै जागेन । ‘पालेपछि माया बस्छ । हामीभन्दा छिट्टै मर्छ । अनि हर्ट हुन्छ,’ खगेन्द्र भन्छन् ।
धेरै वर्षपछि एकाएक खगेन्द्रलाई कुकुरमाथि उपन्यास लेख्ने सोच आयो । एक दिन उनी लेखक बुद्धिसागरले चलाएको बाइक पछाडि बसिरहेका थिए । त्यो समय उनलाई अचानक स्पार्क आयो- कुकुरबारे उपन्यास लेख्ने ।
जनावरको मनोविज्ञानबाट लेखिएका आख्यान नेपाली भाषामा कमै पढिएका छन् । खगेन्द्रले भने त्यो आँट गरे ।
‘मान्छेको जस्तो हैन, जहाँ गए पनि कुकुरको आफ्नै भाषा हुन्छ । एक दुई दिन खान नदिँदा मान्छेको विश्वास मर्छ होला, तर कुकुरको विश्वास मर्दैन,’ कुकुरबारे लेख्ने अनुभूति सँगाल्दै गर्दा खगेन्द्रले महसुस गरे ।
उनले आठ वर्षअघि उपन्यास लेख्न थाल्दा कुकुरबारे अनुसन्धान गरे । कुकुर पाल्ने मान्छेसँग कुरा गरे । र यसरी ‘फुर्के’ अहिले बजारसम्म आइपुगेको छ ।
विनित खगेन्द्र
कवि विप्लव प्रतीकले खगेन्द्रको सिर्जनात्मक यात्रालाई नजिकबाट नियालेका छन् । त्यति बेलादेखि जति बेला गुरुकुलमा सुनिल पोखरेलले खगेन्द्रलाई चिनाए ।
‘गुरुकुलमा पानीफोटो नाटक हेरेपछि उनी मेरो मनमा अङ्कित भए । उनी सुरुमा मैले भेट्दा सरल, लजालु मुसुक्क हाँस्ने मान्छे, अझै पनि उस्तै छन् । तर केही बदलिएको छ,’ खगेन्द्रबारे बोल्दै गर्दा प्रतीक भन्छन्, ‘यत्रो सिनेमामा काम गरिसक्यो, यत्रो नाटक किताब निकालिसक्यो । मेरोभन्दा धेरै पुस्तक उसले निकालिसक्यो । अहंकार आउनुपर्ने नि, हैन ? तर जबजब मैले उसको आँखामा हेर्छु, मलाई हेर्दा मात्र हैन, अरुलाई हेर्दा पनि उसलाई म विनित देख्छु ।'
त्यसपछि पुनः ताली बज्छ । खगेन्द्र विप्लवप्रति अनुगृहीत देखिन्छन् ।
विप्लव खगेन्द्रका सिर्जनासँग परिचित छन् । अझ भनौँ, उनका कामले विप्लवलाई सुन्दर खुसी बाँड्छन् । ‘उनलाई, मलाई हामी सबैलाई थाहा छ । ठूलो खुसी जीवनमा कसैले पाउँदैन । उत्सव मनाउने भनेकै स-साना खुसीको मात्रै हो । खगेन्द्र, तिमीले दिने स-साना खुसीहरूको सधैँ व्यग्र प्रतीक्षा रहनेछ मलाई,’ विप्लव भावुक सुनिन्छन् ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९ १७:४७