कैलालीमा लगातारको अविरल वर्षापछि आएको बाढीले एक हजारबढी घर डुबानमा परेका छन् । जिल्लाको भजनी नगरपालिका, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बिभिन्न बस्तीहरु डुबानमा परेका छन् । कैलाली जिल्लाको दक्षिण पूर्वी क्षेत्र बाढीले प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानाएको छ ।

जिल्लाको मोहना, पथरैया, काडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पस्दा बस्ती डुबानमा परेको हो । नदीको जलस्तर बढ्ने क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको पनि जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

कैलारी गाउँपालिकाको वडा नम्बर ५ को मनकापुर, बन्दरगौरी, बैजपुर, सपना शिविरसहित वडा नम्बर ७ को बर्का वसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुर लगायतका गाउँ डुबानमा परेका छन् । यस्तै कैलारी गाउँपालिकाको कटैनी नदीमा आएको बाढीले वसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुर लगायतका गाउँमा डुबान भएको छ ।
अहिले डुवान भएको क्षेत्रमा जनप्रतिनिधि, सशस्त्र प्रहरी, स्थानीय लगायतले उनीहरुको उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । कैलालीमा अहिलेसम्मकै ठूलो बाढी आएको स्थानीयले बताएका छन् ।

एक युवती बगेर बेपत्ता
कैलालीमा माछा मार्ने क्रममा बगेर एक युवती बेपत्ता भएकी छन् । धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नविना चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले बताए । उनको खोजीका लागि प्रहरी टोली परिचालन भए पनि उनी अहिलेसम्म फेला परेकी छैनन् ।



प्रकाशित मिति: शनिबार, असोज १, २०७९ १७:०७