बोल्न र तर्क दिन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य निकै सिपालु छन् । आफ्ना कुरा सुुनिरहेकालाई मन्त्रमुग्ध पार्ने अद्भूत कला उनीसँग छ ।
मेयर आचार्यको बोलीजस्तो प्रशंसालायक काम भने देखिएको छैन । मेयर आचार्यले आफूसहित पोखरा जनप्रतिनिधिले एक सय दिन (हनिमुन पिरियड)मा गरेका कामको फेहरिस्त शनिबार सार्वजनिक गरेका छन् । तर, सार्वजनिक गरिएका एक सय काम निकै मामुली छन् ।
गत १२ जेठमा शपथ लिएपछिका एक सय दिनमा मेयर आचार्यले बिताएको वृक्षरोपण, तालिम, उद्घाटन, भेटघाटको समय संख्या ठूलो छ । यो अवधिमा उनले महानगरपालिका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको हकमा भने राम्रो सुरुवात गरेका छन् । गत १० भदौदेखि कार्यालयमा सेवा लिन ‘एकद्वार प्रणाली’ सुरू भएको छ ।
शपथ लिएपछि मेयर आचार्यले वृक्षरोपण गरेर पदभार सम्हालेका थिए । उनले ‘एक सय दिनका एक सय उपलब्धि’को पहिलो बुँदामै वृक्षरोपणलाई समेटेका छन् । पोखरालाई हरियो र वातावरणमैत्री शहर बनाउने अभियानको बिम्ब स्वरूप वृक्षरोपण गरेको आचार्य बताउँछन् । आचार्यभन्दा अगाडिका मेयर मानबहादुुर जिसीले जाँदाजाँदै आफ्ना ज्वाइँको समूहलाई ५८ रोपनीसहित ६३ रोपनी जग्गा ठेक्कामा दिएका थिए । सेटिङमा दिइएको उक्त जग्गाको सम्झौता आचार्य आएपछि रद्द भएको छ ।
मेयर आचार्यको दोस्रो उपलब्धि जनप्रतिनिधिलाई दिइएको तालिम हो । तेस्रो र चौँथो पनि वृक्षरोपण नै हो । एकै प्रकृतिका काम जतिपटक गरिएको छ त्यसलाई उनले आफ्नो उपलब्धिका रूपमा देखाएका छन् । उदाहरणका लागि उनले मेयर निर्वाचित भएपछि उनले विभिन्न पाँच ठाउँमा वृक्षरोपण गरेका छन् । एकै प्रकृतिका पाँच कामलाई उनले एक सयमध्ये पाँचवटा उपलब्धिको रूपमा उल्लेख गरेका छन् । सामान्य कामलाई देखाउँदा ‘उपलब्धि’ शब्दको गरिमा घटेको छ ।
मेयर आचार्य नेतृत्वको टिमको एक सय दिनको उपलब्धिमा साइक्लिङ प्रतियोगिता गरेको, फुुटबल प्रतियोगितामा प्रवद्र्धक रहेको, भरतपुर, धरानका मेयरलाई भेटेको, नगरसभा सम्पन्न गरेको, बजेट बनाएको, समिति गठन गरेको, पोखरा उपत्यका नगर विकास समिति अध्यक्षको जिम्मेवारी सम्हालेको, व्यावसायिक तालिम गरेको, विभिन्न देशका सासद, राजदूूतसँगको भेट, पत्रकार भेटघाटजस्ता निकै सामान्य काम देखाइएको छ ।
यस्तै काममा हिँड्दा नै उनको बिहानदेखि बेलुुकासम्मको समय बितेको छ । ‘भागदौडमै, व्यस्तताबीच एक सय दिन बिताएका छौँ,’ मेयर आचार्यले पत्रकार सम्मेलनमा बिम्ब सुनाए, ‘अण्डा बाहिरबाट फुटाए अम्लेट बन्छ, भित्रबाट फुुटे जीवको रूप लिन्छ । सय दिन हामी भित्रै बलियो हुुने गरी हाम्रो आन्तरिक व्यवस्थालाई बलियो बनाउनेतिर खर्च गरेका छौँ ।’ महानगरको खाता शुक्रबारदेखि खुुलेको र चालु आर्थिक वर्षको बजेट चलाउन नपाएकाले ठेक्का, टेण्डर गर्नुपर्ने काम अघि नबढेको मेयर आचार्यको भनाइ छ ।
केही राम्रा प्रयास भने नभएका पनि होइनन् । खाल्डा पुुर्ने, छाडा चौपाया व्यवस्थापन, कृषकलाई अनुुदान, पार्किङ व्यवस्थापन, करको दायरा वृद्धिजस्ता जनताले खोजेका कामको पनि भएको छ । तर, यी काम अघिल्लो नेतृत्वकै पालामा भएकाले नयाँ केही नभएको नेकपा (एमाले) दल नेता राधिका शाही योगी बताउँछिन् । ‘सानातिना काम सधैँ भइराख्छन् । सडक बत्ती, अन्तर्राष्ट्रिय सम्बन्ध पुुरानै कुरा हुुन् । महानगरपालिका कार्यालयमा सुरु गरिएको एकद्वार प्रणालीबाट सेवा प्रवाह पहिलोपटक भएको छ । यसलाई सकारात्मक नै लिनुपर्छ,’ उनले शिलापत्रसँग भनिन् ।
तार भूमिगत गर्न नेपाल विद्युत प्राधिकरण र सार्वजनिक बसमा विद्युतीय भुुक्तानी सुुरू गर्न यातायात व्यवसायी, सफ्टवेयर निर्माता र बैंकसँग पनि छलफल भइरहेको छ । आफूलाई सफल साबित गर्न यसअघिका मेयर मानबहादुर जिसी असफल भएका यी दुवै योजना पूरा गर्न भरपुर प्रयास गरेका छन् ।
बिर्सेका वाचा
नेकपा (एकीकृत समाजवादी)का आचार्य कांग्रेस नेतृत्वको गठबन्धनबाट मेयर निर्वाचित भएका हुुन् । गठबन्धनले जारी गरेको पोखरा महानगरपालिकाको चुनावी घोषणापत्रमा पाँचवटा क्लस्टरअनुसार एक वर्षभित्र काम गर्ने उल्लेख थियो ।
आचार्य मेयर निर्वाचित भएको ३ महिना पूरा भएको छ । पदबहालीदेखि ३ महिनाभित्र १० वटा काम गर्ने घोषणापत्रमा थियो । अत्यावश्यक सिफारिस निःशुल्क गर्ने घोषणा गरेकोमा पदबहालीकै दिन १२ जेठमा त्यो काम गरेका थिए । तर, त्यसपछि एक र ३ महिनामा गर्ने भनेका काम भने केही समयमा सुुरू भएनन्, केही हुुने छाँटकाँट नै छैन । एक महिनाभित्र हेल्लो मेयर कार्यक्रम सुरू गर्ने घोषणा थियो । ३ महिना भएपछि बल्ल त्यो काम गत १० भदौदेखि सुरु भएको छ ।
तीन महिनाभित्र घुम्ती अस्पताल सञ्चालन गर्ने, ज्येष्ठ नागरिकलाई घरदैलोमा भत्ता पुर्याउने, महानगरको केन्द्रदेखि पोखराभित्रकै गाउँ जान रात्री बस चलाउने, अतिथि सत्कार व्यवहार विकास तालिमको आवधिक प्याकेज ल्याउने, करको दायरा फराकिलो बनाउने, सेवा लिन एकद्वार प्रणाली सुुरू गर्ने, अनुसन्धानमा आधारित भएर आवश्यकता अनुसारका विकास परियोजनाका प्राथमिकता निर्धारण गर्ने, प्राथमिकता तोकेर परिचयपत्र वितरण गर्ने घोषणापत्रमा उल्लेख थियो ।
३ महिनाभित्र सक्ने भनेर गरेका ८ मध्ये करको दायरासम्बन्धी र एकद्वार प्रणालीबाहेक अरू काम भएकै छैनन् । ‘गर्ने भनेका काम पनि प्रक्रियामै छन् । बजेटको कारणले केही समय लागेको हो,’ मेयर आचार्यको जवाफ छ ।
मेयर आचार्यले घोषणापत्रमा गरेको वाचाअनुसारको काम गर्न नसक्नुुको कारण हो, ल्याण्डफिल साइटको समस्या । आउँदो अंग्रेजी नयाँ वर्षदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने सरकारको तयारी छ । त्यसका लागि विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइट हटाउनु पर्छ ।
जहाँ सार्न खोज्यो त्यहीँ विरोध हुँदा समस्या पैदा भएको छ र मेयर आचार्यलाई टाउको दुुखाइको विषय बनेको छ । कुनै ठाउँमा लगेर फोहोर फाल्नेमात्रै भन्दा पनि मेयर आचार्य अहिले फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्रविधि खोजिरहेका छन् ।
फोहोरबाट ग्यास र विद्युत निकालिरहेका धरान उपमहानगरपालिका र भारतको दिल्लीमा प्रयोग भएको प्रविधि हेरेर महानगरको टोली फर्किएको छ । तर, कुुन प्रविधि प्रयोग गर्ने भन्ने निक्र्योल भइसकेको छैन । फोहोर व्यवस्थापनको समस्या समाधान गर्न नसके आफू असफल साबित हुने डर मेयर आचार्यलाई छ ।
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९ १८:२४