१२ वर्षअघिको कुरा हो । तुल्साले भर्खरै कपाल काट्न सुरु गरेकी थिइन् ।
यसै क्रममा एक दिन पुल्चोकको एक सैलुनमा एक जना गार्ड कपाल काट्न आइपुगे । एक्कासि ढोकामा कोही आएजस्तो लागेपछि ती गार्डले मुन्टो फर्काएर ढोकातिर पुर्लुक्क हेरे । टाउकोको मध्यभागमा मेसिन लगाइरहेकी तुल्साको हातबाट मेसिन एक्कासि चिप्लिएर कपाल फेदैसम्म खौरिइयो । भर्खरै कपाल काट्न सुरु गरेकी तुल्सा रातो न पिरो भइन् ।
तर अचम्म, ती गार्डले तुल्सालाई गाली गरेनन् ।
‘एक दुई दिनमा फेरि काट्नै पर्थ्यो, अब पूरै काट्दिनु भनेपछि मैले उहाँको कपाल जिरोमै राखेर काटेँ,’ हाल कपाल काट्न निपूण भइसकेकी तुल्सा १२ वर्षअघिको त्यो क्षण सम्झिँदै भावुक हुन्छिन् । अहिले त उनी आफैँ तालिम दिँदै हिँड्छिन् ।
सामान्यतया पहिला महिलाले खासै कपाल काट्ने चलन थिएन । कसैकसैले काट्ने गरेको भए पनि उनीहरू सैलुनमा गएर नाईलाई नै कपाल काट्न लगाउँथे । तर, बिस्तारै पार्लर र हेयर सैलुनको संख्या बढेसँगै फेसन र डिजाइनिङको माग पनि बढ्दै गएको पाइन्छ । महिलाले महिलाकै कपाल काटेको त हामीले देखेकै छौँ । तर, महिलाले पुरुषको कपाल काट्छन् रे भन्दा तपाईंलाई अलिक नौलै लाग्ला ।
कपाल काट्ने काम पुरुषको मात्र हो भन्ने हाम्रो समाजमा निकै नै आधुनिकता छाइसकेको छ । नेपाली समाजमा कपाल काट्न पुरुषलाई मात्र आउँछ भन्ने भ्रमलाई महिलाले उछिन्दै गएको देखिन्छ ।
तिनैमध्येकी एक हुन्, महोत्तरी बर्दिबासकी तुल्सा मगर । उनले महिला, पुरुष दुवैको कपाल काट्ने गरेकी छन् । ०६८ सालताका स्नातक तह पढ्दै गर्दासमेत उनी आफू के गर्ने भनेर दोधारमा नै थिइन् ।
यसै समयमा उनका साथीहरू ‘आईटीसी’ सिक्न जान्थे । ‘मलाई ट्रेनिङमा खासै रुचिचाहिँ थिएन । फ्रि भएको समयमा म पनि साथीहरूसँगै ‘आईटीसी’ सिक्नुपर्यो भनेर हेयर डिजाइनिङसम्बन्धी ट्रेनिङ लिन जान्थेँ,’ पुरुष ग्राहकको कपाल काट्दै गरेकी तुल्साले भनिन्, ‘थ्योरी ट्रेनिङ लिइरहरनुभन्दा प्राक्टिकल नै गर्न मन लाग्यो ।’
उनको कापाल काट्ने वा सैलुनमा काम गर्ने चाहना भने थिएन । खाली बस्न हुन्न भन्ने मात्र उनको सोच थियो । यही टिचिङ ट्रेनिङ भए पनि लिनुपर्यो, पछि काम लागिहाल्छ कि भन्ने सोचले उनले ट्रेनिङ लिन सुरु गरिन् ।
सुरुवाती दिनमा उनले हेयर डिजाइनिङ र हेयर कटिङ टिचिङसम्बन्धी ट्रेनिङ लिएकी थिइन् । ‘ट्रेनिङको परीक्षा पनि हुन्थ्यो । परीक्षामा पहिलो, दोस्रो श्रेणीमा नाम निस्किन थाल्यो । त्यसपछि मेरो रुचि पनि बढ्दै गयो,’ उनी सुनाउँछिन् ।
ट्रेनिङ लिँदै गर्दा उनलाई पढाउनभन्दा त सैलुनको काम गर्दै राम्रो हुन्छ कि भन्ने विचार जाग्यो । ‘टिचिङ ट्रेनिङ लिँदै गर्दा मलाई यो फिल्ड अलि राम्रो लागेन । अनि यसो पछि बुढेसकालमा पनि सैलुन खोलेर बस्न सकिने भन्ने लागेर हेयर कटिङ र हेयर डिजाइनिङको काम सुरु गरेँ,’ तुल्साले भनिन् ।
पहिले र अहिले
पुरुषहरूको कपाल काट्न उनलाई सुरुमा असहज लाग्थ्यो । सुरुमा अफिस टाइमभन्दा अलिक छिट्टै गएर अफिसअगाडि रहेका सेक्युरिटी गार्डहरूको कपाल काटिदिन्थिन् उनी । पछिपछि बानी परेपछि सजिलै लाग्न थाल्यो उनलाई । अहिलेसम्म १० वटाभन्दा बढी सैलुनमा काम गरिसकेकी छन् उनले । हाल भने उनी सातदोबाटोस्थित ब्युटी प्रोफेसनल सैलुनमा स्टाफको रूपमा कार्यरत छिन् ।
‘अहिले युवावर्गमा हेयर स्टाइलसम्बन्धी चेतनाले गर्दा हेयर ड्रेसरहरूलाई फाइदा भएको छ । उहाँहरू विभिन्न खेलाडी र कलाकारको जस्तो स्टाइल लिएर आउनुहुन्छ, हामीले त्यस्तै स्टाइलमा केस काट्दिन्छौँ । यसले गर्दा कस्टमर र हामी दुवैलाई सजिलो बनाएको छ,’ सैलुनमा कपाल काट्दै गरेकी तुल्साले भनिन् ।
पहिला–पहिला सैलुनमा कैँची, ऐना र काइँयो मात्र भए पुग्थ्यो । तर, पछिल्लो समय हेयर ड्रेसिङका लागि त्यति मात्र औजार पर्याप्त नभएको उनी सुनाउँछिन् । ‘अहिले आधुनिक प्रकारका धेरै सामानहरू बजारमा आएका छन् । ग्राहकले भनेजस्तो डिजाइन निकाल्न अब कैँचीले मात्र सम्भव छैन । कतिपय औजार नेपालमा पाइँदैन, बाहिरबाट पनि मगाउनुपर्छ,’ उनले भनिन्, ‘पहिलाको पुस्ताले दाह्री काट्दा छालामा ब्लेड लगाउनैपर्ने हुन्थ्यो ।’
अहिले युवाहरू दाह्री काट्दा मेसिनबाट जेरो बनाएर काट्न रुचाउने उनले बताइन् । ‘ब्लेडको सट्टामा काम गर्ने मेसिनहरू पनि आइसकेका छन् । अहिले केटीहरूलाई मात्र होइन, केटाको कपाल काटिसकेपछि वास गरेर, सेट गरेर, जेल लगाउनेसम्मको काम गर्नुपर्छ । यसरी हेर्दा पहिले र अहिलेको हेयर ड्रेसिङमा धेरै नै परिवर्तन आएको देखिन्छ’, उनले भनिन् ।
पार्लरबाट सैलुनमा
प्रायः पार्लर भन्नाले महिलाको मेकअप गर्ने पसल भन्ने बुझिन्छ भने सैलुन भनेर पुरुषका लागि । तर अहिले त लेडिज र जेन्स भनेर छुट्याइएको कम पाइन्छ । प्रायः धेरैजसो सैलुन र पार्लर युनिसेक्स पार्लर एण्ड सैलुन भइसकेका छन् ।
सुरुवाती दिनमा उनी पार्लरमा काम गर्थिन् । उनलाई लाग्थ्यो– जेन्सले लेडिजको हेयर कट, डिजाइनिङ, मेकअप आदि गर्दा हुन्छ भने लेडिजले जेन्सको गर्न किन नहुने ?
‘प्रायः हेयर ड्रेसरहरू जेन्स नै देख्दा मलाई लाग्यो– जेन्सले लेडिजको सबै काम गर्दा हुने, अनि मैले चाहिँ किन जेन्सको काम गर्न किन नहुने भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘अनि धेरै ठाउँमा बुझ्दै जाँदा मलाई पनि सिक्न मन लाग्यो । अनि जेन्स हेयर ड्रेसिङसम्बन्धी ट्रेनिङ लिएँ ।’ पुल्चोकको सैलुनमा उनले हेयर डिजाइनसम्बन्धी तीन महिना ट्रेनिङ लिएकी हुन् ।
विदेश जाने योजना पाखा लगाउँदै नेपालमै काम
यो पेसाबाट नेपालमा भन्दा विदेशमा धेरै पैसा कमाउन सक्ने बुझेपछि आजभन्दा पाँच वर्षअघि विदेश जाने योजना बनाएकी थिइन् तुल्साले । ‘विदेश जानका लागि मैले पासपोर्ट पनि बनाइसकेकी थिएँ । तर, जुन पायो त्यही देश जान मन लागेन । त्यसैले नेपालमै काम गर्छु भनेर विदेश जाने योजना त्यत्तिकै छोडिदिएँ,’ उनले भनिन् ।
अहिले उनलाई कामको कमी छैन । दुई वर्षअघि कोरोना त्रासका कारण देशमा लकडाउन थियो । तर, उनले त्यसबेला पनि केही ग्राहकका घरमै पुगेर हेयर डिजाइनिङसम्बन्धी तालिम दिएकी थिइन् ।
‘प्लस टु’ बर्दिबासमै सकेर स्नातक पढ्न काठमाडौँ आएकी हुन् उनी । आईटीसीमा धेरै प्रतिस्पर्धा गरिन् उनले ।
लेडिज हेयर ड्रेसरलाई समाजले हेर्ने दृष्टिकोण
लेडिज हेयर ड्रेसर भएर काम गर्नै गाह्रो हुने नेपाली समाजमा जेन्स हेयर ड्रेसर हुन त झनै गाह्रो भएको तुल्साको अनुभव छ । तुल्सालाई पनि सुरुवाती दिनमा घरपरिवारले के भन्लान्, समाजले के भन्ला भन्ने निकै नै डर थियो ।
‘परिवारले पनि तैँले जुन विषय पढेकी छेस्, त्यही विषयसँग सम्बिन्धत काम पाइहालिन्छ नि भन्नुहुन्थ्यो । कति अरु आफन्तहरूले पनि के केटाको कपाल काट्ने काम गर्न मन लागेको भन्नुहुन्थ्यो,’ पुराना दिन सम्झिँदै उनले भनिन्, ‘मलाईचाहिँ जसले जे भने पनि भनून् भन्ने लाग्थ्यो । अनि आफ्नै तरिकाले काम गर्दै गएँ ।’
आजभन्दा १० वर्षअगाडि सैलुनलाई हेर्ने दृष्टिकोण राम्रो नभएको उनी बताउँछिन् । अहिले सैलुन क्षेत्र पनि निकै नै विकसित भएको छ । योसँगै यसप्रतिको मानिसहरूको दृष्टिकोणमा पनि परिवर्तन देख्दा उनी आफ्नो कामप्रति निकै नै हर्षित देखिन्छिन् ।
‘मैले आफ्नै इच्छानुसार काम गर्दै गएँ । पछिपछिचाहिँ परिवारमा पनि यो क्षेत्र राम्रै रहेछ, जे गरिस् राम्रै गरिस् भन्नुभयो,’ तुल्साले परिवारको भावना नै परिवर्तन गर्न सफल भएको गर्वका साथ सुनाइन् ।
उनले सैलुनमा काम गरेको भिडियो, फोटो फेसबुक, टिकटकलगायतका सोसल मिडियामा पनि राख्ने गरेकी छिन् । धेरैले उनलाई राम्रो काम गरेको भन्दै हौसला दिने गरेका छन् । ‘मैले राखेको भिडियो, फोटो देखेर मलाई चिन्नु हुने दाइ, दिदी, भाइ, बहिनीहरूले तारिफ गर्नुहुन्छ । दिदी, हजुरले कसरी स्टार्ट गर्नुभयो, कहाँ सिक्नुभयो भनेर सोध्नुहुन्छ,’ कस्टमरको कपाल काट्दै गरेकी तुल्साले खुसी हुँदै सुनाइन् ।
यो क्षेत्रमा आफू निकै छिटो अगाडि बढेको उनी बताउँछिन् । ‘मलाई यस क्षेत्रमा रुचि भएकाले नै छिट्टै काम सिकेको जस्तो लाग्छ । अब सबै काम लगभग जानिसकेँ, अबको केही वर्षमै आफ्नै सैलुन खोल्ने विचारमा छु,’ उनले सुनाइन् ।
उनले दुई वर्षअगाडि नै आफ्नै सैलुन खोल्ने विचार गरेकी थिइन् । तर, कोरोना महामारीका कारण लकडाउन भएकाले उनले आफ्नो योजना सफल पार्न सकिनन् ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९ ०७:०१