एक व्यवसायीले राष्ट्रिय वाणिज्य (रावा) बैंकलाई ५ सय करोड (५ अर्ब) रुपैयाँ क्षतिपूर्ति तिराई दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गरेका छन् ।
व्यवसायी बृजगोपाल इनानीले राष्ट्रिय वाणिज्य बैंकले लिलामी गरेको र सम्पत्ति बाधिसकेको काठमाडौंको विभिन्न स्थानमा रहेको आफ्नो ६ रोपनी जग्गा पनि फिर्ता गराई दिन माग गर्दै प्रधानमन्त्रीको नीजि सचिवालयमा पत्र दर्ता गराएका हुन् ।
बैंकले गैरकानुनी रुपमा आफ्नो सम्पत्ति हडपेकोले फिर्ता गराइदिन यस्तो निवेदन दर्ता गरिएको व्यवसायी इनानीले वताए । यस्तै, विनाकारण ऋण रोकेर आफ्नो उद्योग व्यवसाय नै धराशायी बनाएकोले राष्ट्रिय वाणिज्य बैंकले आफूलाई ५ अर्ब रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने इनानीको दाबी छ ।
इनानीले ९ साउनमा प्रधानमन्त्रीको नीजि सचिवालयमा पत्र दर्ता गराएका छन् । उनको पत्रको दर्ता नम्बर ६५५ छ । उनले दर्ता गराएको पत्रमा सन् २००० मा आफ्नो उद्योग र आफूलाई षडयन्त्र पूर्वक कालोसुचीमा राखेर ५ अर्ब रुपैयाँको आफ्नो व्यवसाय धरासायी बनाइदिएको उनको दाबी छ ।
‘सन् २००० मा नेपालको ठूलो निर्यातकर्ता र नेपालमा अन्य विभिन्न उद्योगहरु स्थापनामा संलग्न रहँदा कालोसूचीमा राखेर मेरो माथि पूर्ण बन्देज लगाई मेरो ५०० (पाँच सय) करोडको कम्पनीलाई षड्यन्त्रपूर्वक समाप्त पार्ने माथि पटक—पटक कारवाही माग गर्दा पनि आजसम्म पनि कुनै कारवाही भएको छैन, महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीज जस्तो अन्तराष्ट्रिय तथा प्रतिष्ठित उद्योगप्रति सरकारको यस्तो रवैयाले गर्दा नेपालको औद्योगिक दृष्टिकोणप्रति अन्तराष्ट्रिय व्यापार क्षेत्रमा मात्र निराशा सिमित नरही नेपालमा अन्य तयारी पोशाक उद्योगी र अन्य उद्योगीहरुलाई समेत हतोत्साहित बनाइदिएको जानकारी गराउन चाहन्छु,’ इनानीले प्रधानमन्त्रीको नीजि सचिवालयमा दर्ता गराएको पत्रमा भनिएको छ ।
इनानीले राष्ट्रिय वाणिज्य बैंकले लिलामी गरेको र सम्पत्ति बाधिसकेको आफ्नो करिब ६ रोपनी जग्गा पनि फिर्ता दिलाई दिन माग गरेका छन् । उनले बैंकबाट ऋण लिनको लागि सो जग्गा धितो राखेका थिए ।
‘मेरो जग्गा षडयन्त्रपूर्वक बैंकले हडपेको हो, ५ सय करोड क्षतिपूर्तिसँगै बैंकले हडपेको मेरो जग्गा जस्ताको तस्तै फिर्ता गर्नुपर्यो, जग्गा फिर्ता गर्न नसक्ने भए आजको बजार भाउ अनुसारको पैसा दिनुपर्यो,’ इनानीले शिलापत्रसँग भने ।
इनानीले प्रधानमन्त्रीलाई बुझाएको पत्र यस्तो छः
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६, ०५:२३:००