संघीय चुनावको मिति घोषणा नहुँदा निर्वाचन आयोगको तयारी अलमलमा परेको छ ।
आयोगले दुई साताअघि नै प्रधानमन्त्रीसँग भएको भेटमा २ मंसिरमा संघीय चुनाव गराउन मिति प्रस्ताव गरेको थियो । बुधबार २२ असारमा भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने ४ मंसिरमा चुनाव गर्न अनौपचारिक मिति प्रस्ताव गरेका थिए । आयोग र सरकारको भेटर्वार्ता भएको दुई साता बितिसक्दा पनि हालसम्म संघीय चुनावको मिति घोषणा हुन सकेको छैन ।
‘सरकारलाई मिति प्रस्ताव गरेको लामो समय भयो,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘हामी पनि सरकारको घोषणा कुरेर बसेका छौँ ।’ सरकारले समयमै चुनावको मिति टुंगो नलगाए चुनावको तयारीमा असर पर्ने पौडेलको भनाइ छ ।
कानुनतः चुनाव गराउन आयोगलाई कम्तीमा पनि १२० दिन चाहिन्छ । साथै, मंसिर २२ गते निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिने हुँदा आयोगले समयमै मिति घोषणा गरी तयारीमा जुटिसक्नुपर्ने हुन्छ ।
तर, एकै चरणमा संघीय चुनाव गराउने तयारी गरेको आयोगका लागि सरकारले चुनावको मिति घोषणा नगरिदिँदा तयारीमा जुट्न अलमल भएको छ । ०७४ को संघीय चुनाव दुई चरणमा गरेको आयोगले यसपटक एकै चरणमा चुनाव गराउने अडान लिएको हो ।
आखिर किन भइरहेछ ढिलाइ ?
चुनावको मिति घोषणा हुन आखिर के कुराले ढिलाइ भइरहेको छ त ? नागरिकता र संक्रमणकालीन न्याय व्यवस्थापन विधेयकबारे छलफल भइरहेको संसदमा यतिखेर बर्खे अधिवेशन चलिरहेको छ । विधेयक पारित भएपछि मात्रै संसद अधिवेशन सकिने संकेत देखिएको छ । त्यसपछि मात्रै मिति घोषणा हुने देखिन्छ ।
त्यति मात्रै नभएर, संसद स्वयंको आयुबारे समेत यतिखेर कानुनविद्हरूमा मत बाझिएको छ । चुनावको मिति घोषणा भएसँगै संसद् विघटन हुनुपर्ने मत एक थरी कानुनविद्हरूले राख्दै आएका छन् भने केही कानुनविद्ले भने उम्मेदवारले मनोनयन दर्ता गराउने अघिल्लो दिनसम्म संसद् विघटन नहुने धारणा राख्दै आएका छन् । यसकारण पनि मिति घोषणा भएलगत्तै संसदको अस्तित्वमा अन्योलता देखिन्छ ।
०७४ मा दुई चरणमा ४ मंसिर र ११ मंसिरमा भएको संघीय चुनावलाई लक्षित गर्दै आयोगले भने ५ मंसिर उता चुनावको मिति लैजान नमिल्ने बताउँदै आएको छ ।
मिति घोषणा भएलगत्तै आयोगले चुनाव लक्षित दल दर्ताको सूचना निकाल्नेछ । जसलगत्तै दलहरूलाई समानुपातिक उम्मेदवारहरूको सूची पेश गर्न समय दिइनेछ । दसैँअघि नै समानुपातिक उम्मेदवारहरूको मनोनयन प्रक्रिया टुंगिने बताइएको छ ।
आयोगका अनुसार दसैँलगत्तै मनोनयन दर्ता प्रक्रिया सुरु हुनेछ र असोज अन्तिम साताभित्र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
मिति घोषणा समयमै नभए चुनाव गराउन कठिन
सरकारले चुनावको मिति घोषणामा ढिलाइ गर्दा आयोगलाई भने यतिखेर मतदाता नामावलीको अद्यावधिक काममा क्रमिक चाप थपिएको छ । गत ३० वैशाखमा स्थानीय चुनाव गरेर मतगणनाको काम सकेसँगै १ असारदेखि आयोगले पुनः मतदाता नामावली संकलन तथा अद्यावधिकको काम गरिरहेको छ ।
नामावली संकलन, मतदानस्थल, सम्बिन्धत सरोकारवालाहरूको समन्वयमा निरन्तर लागिपरिरहेको भएतापनि मिति घोषणा नहुँदा अन्य चुनावी प्रक्रिया अघि बढाउन नपाएको प्रवक्ता पौडेलको भनाइ छ । समयमै मिति घोषणा नहुँदा समयमै चुनाव गराउन चुनौती हुने उनको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९ १९:२२