मंगलबार काठमाडौंको राष्ट्रिय नाचघर युवायुवतीले भरिभराउ थियो । स्टेजमा युवाहरुलाई उत्प्रेरणामुलक प्रवचन दिइरहेका थिए उत्प्रेरक सौनक भट्ट । उनको कुरालाई युवाहरु ध्यान दिएर सुनिरहेका थिए । नेपालभित्र र बाहिरका गरी लाखौं युवासँग पुगी आफ्ना विचार तथा बोलीबाट उत्प्रेरणा जगाउने भट्टको प्रशिक्षणमा युवाहरु निकै हौसिएका देखिन्थे ।
नेसनल कलेजले आयोजना गरेको नेसनल करियर कन्क्लेभमा १५ वर्षदेखि ३० वर्ष उमेर समूहका करिब २ हजार जनाको उपस्थिति थियो ।
कन्क्लेभमा सौनक भट्ट, उद्यमी निरज काफ्ले, मीस अर्थ २०१८ की प्रीया सिग्देल, डा. निश्चलनाथ पाण्डेलगायतले प्रशिक्षण दिए । कक्षा १२ पास गरेपछिको अन्यौलतालाई कम गर्नको लागि आवश्यक पर्ने टिप्सहरु युवालाई कार्यक्रममार्फत दिइएको थियो । पछिल्लो समयमा युवाहरुमा बढ्दो अन्यौलतालाई निरुत्साहित गर्दै उनीहरुमा सकारात्मक भावना विकास गर्न प्रशिक्षकहरुले उत्प्रेरित गरे । उत्प्रेरक तथा प्रवक्ता सन्तोस पाण्डेले विद्यार्थीहरुको क्षमता विकासमा टेवा र्पुयाउन जीवन उपयोगी ज्ञानहरुको बारेमा प्रशिक्षण दिएका थिए ।
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६ ०५:२२