शनिबार एकाएक संयुक्त अरब इमिरेट्स (यूएई) अन्तर्गतकाे दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम काठमाडौंमा आए । काठमाडौंमा आएको केही समयमा नै झापा पुगे । झापामा उनको स्वागत व्यापारी दुर्गा प्रसाईंले गरे ।
उनी नेपाल भ्रमणमा आएका हुन् वा दुर्गा प्रसाईंको निम्तोमा ? प्रसाईंले राजकुमार विशुद्ध आफ्नो निमन्त्रणमा आएको र आफ्नो केही पुरानो सम्बन्ध रहेको बताएका छन् ।
'नेपालका प्रधानमन्त्री, मन्त्री वा सांसदले गर्न नसकेको काम मैले गरिरहेको छु, देश र जनताको हितका लागि केही महत्त्वपूर्ण सम्झौता पनि हुँदैछन्', प्रसाईंले शिलापत्रसँग भने ।
उनले दुबईको राजपरिवाले आफूलाई ६ महिनादेखि पछ्याइरहेको दाबीसमेत गरेका छन् । त्यसको कारण व्यावसायिक प्रस्ताव भएको उनले दाबी गरे ।
'म दुबई जाँदा राजपरिवारसँग नेपालबाट पानी दुबई निर्यात गर्ने, त्यहाँका जनतालाई नेपाल ल्याएर उपचार गर्न प्रस्ताव गरेको थिएँ', उनले भने, 'त्यही कारणले गर्दा उहाँहरूले मलाई ६ महिनादेखि पछ्याउनुभएको थियो, नेपालीले मेरो योजना बरु नचिनेर विदेशीले चिनेर आए ।'
उनले राजुकरमारको नेपाल भ्रमणका क्रममा महत्त्वपूर्ण सम्झौता गर्न लागेको बताए । नेपालको पानी दुबईमा पठाउने र दुबईका नागरिक उपचारका लागि नेपाल ल्याउने विषयमा सम्झौता गर्न थालिएको उनले बताए ।
'दिनको १० लाख लिटर पानी पठाउने योजना हाम्रो छ । यस विषयमा हामीले भोलि कुनै किसिमको सम्झौता गर्दै छौँ', उनले थपे, 'यूएईमा राम्रो स्वास्थ्य सेवा छैन । त्यहाँका नागरिक अहिले उपचार गर्न अमेरिका जान्छन् । अब नेपाल पनि पठाउने गरी सम्झौता गर्दै छौँ ।'
प्रसाईंले भोलि राजकुमारलाई आफ्नो मेडिकल कलेज 'बी एण्ड सी' पनि भिजिट गराउने कार्यक्रम रहेको बताएका छन् ।
यसैबीच, प्रसाईंले राजकुमारले आफूलाई दिएकाे उपहार सुनकाे नभएकाे दाबी गरेका छन् । सुनकाे जलप लगाएकाे लाैराे उपहार पाएकाे उनले बताए ।
प्रकाशित मिति: शनिबार, असार ४, २०७९ १७:५२