अघिल्लो स्थानीय निर्वाचनमा २ सय ९४ पालिका जितेर पहिलो भएको एमाले यसपटक २ सय पालिका जित्न संघर्षरत छ । बलियाे सत्ता गठबन्धन र आन्तरिक कारणले एमालेले रणनीतिक शहरमा नेतृत्व पनि गुमाउने भएको छ ।
अघिल्लो पटक ६ महानगरमध्ये २ मा नेतृत्व गरेको एमालेले यसपटक सबै महानगरमा नेतृत्व गुमाउँदै छ । ११ वटा उपमहानगरमध्ये सातमा जित हासिल गरेकाे एमालेले मतगणनाकाे पछिल्लाे स्थिति हेर्दा २ वटामा मात्रै नेतृत्व पाउने देखिन्छ । मतपरिणाम पछि जनमत उत्साहजनक रहे पनि प्राविधिक कारणले एमाले दोस्रो बनेको निष्कर्ष नेताहरूले निकालेका छन् । हाल दोस्रो भए पनि संघ र प्रदेशको निर्वाचनमा आफ्ना त्रुटि र कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने नेताहरूको भनाइ छ ।
एमालेले चार विषयमा ध्यान केन्द्रित गर्ने नेताहरूले बताएका छन् । एमालेले संघ र प्रदेशमा नतिजा सुधारका निम्ति अख्तियार गर्ने चार कदममध्ये पहिलो कदम अन्तर्घातको समीक्षा गर्दै उम्मेदवारी छनोटका कमजोरी सच्याउने रहेको छ । दोस्रो, विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका तल्लो तहका कार्यकर्तालाई पार्टीमा फर्काउन केन्द्रित हुने नेताहरूले बताएका छन् । तेस्रो, वाम गठबन्धनको प्रयासमा एमाले लाग्ने सक्ने संकेत नेताहरूको छ । चौथो, पार्टीभित्र सामूहिक संरचनालाई बलियो बनाउने रहेको छ ।
उम्मेदवारी छनोट र अन्तर्घातको समीक्षा
काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई स्वतन्त्र उम्मेदवार बालेन साहले पछि पारेपछि स्थापितलाई पार्टीको नेतृत्वले पत्याउनु गल्ती भएको भन्दै एमाले सचिव योगेश भट्टराईले टिप्पणी गरिसकेका छन् । भट्टराईले भनेका छन्, 'स्थापितले चमत्कार गर्छु भन्नुभएको थियो । नेतृत्वले पत्यायाे, गल्ती भयो ।'
काठमाडौंमा नतिजा सार्वजनिक भएका ५ वटै वडा एमालेले जितेकाे छ । तर, ती वडाबाट मेयरमा भोट भने बालेन साहलाई गएको देखिन्छ । भरतपुर महानगरपालिकामा एमाले र राप्रपाबीच गठबन्धन छ । त्यहाँ सार्वजनिक परिणाम हेर्दा मेयरमा विजयी सुवेदीलाई नभएर रेनु दाहाललाई र अन्यमा सूर्यमा मतदान भएको ट्रेन्ड देखिन्छ । पोखरा महानगरपालिकामा एमाले उम्मेदवार कृष्ण थापालाई हराउन भन्दै अडियो प्रकरण नै सार्वजनिक भएको थियो । बुटवल उपमहानगरपालिकामा एमाले उम्मेदवार बाबुराम भट्टराईलाई पनि अन्तर्घात भएको एमाले बुझाइ छ ।
उम्मेदवारी छनोटमा देखिएका कमीकमजोरी र अन्तर्घातको समीक्षा गर्दै आवश्यक नीति बनाउने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । 'हामी अहिले वडा-वडाको मत विश्लेषण गरिरहेका छौँ । कहाँ कस्तो ट्रेन्ड छ त्यो हेरिरहेका छौँ । कतिपय ठाउँमा उम्मेदवार छनोटमा कमजोरी भए होलान् । कतिपय स्थानमा पार्टीभित्रैबाट पनि सहयोग भएन होला । कहाँ कस्तो स्थिति देखापर्यो समग्र विषयको समीक्षा गरेर एमाले अघि बढ्छ,' ज्ञवालीले भने ।
एकीकृत समाजवादीमा लागेका कार्यकर्ता फर्काउने
एकीकृत समाजवादीका कारण जितिसकेकाे बर्दिया गुलरिया नगरपालिकाको नेतृत्व एमालेले १ सय ७८ मतले गुमायो । कांग्रेसका उम्मेदवार मुक्तिनाथ यादव ७ हजार ९ सय ८९ मतले विजयी भएको स्थानमा एमालेले ७ हजार ७ सय ७१ मत प्राप्त गरेको थियो । विजयनजिक रहेको एमालेलाई एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण वलीले २ सय ७६ मत ल्याउँदा धक्का लाग्यो ।
एकीकृत समाजवादीले अन्य दलसँग गठबन्धन गर्दा कतिपय ठाउँमा एमालेले नेतृत्व गुमाउनु परेको छ । २०४८ सालदेखि एमालेको किल्लाका रूपमा परिचित हेटौँडा उपमहानगरपालिकामा जित निकाल्न एमाले संघर्षरत छ । प्रभाव क्षेत्र बुटवल उपमहानगरपालिकामा पनि विभाजनको असर देखिएको छ । संघ र प्रदेशको निर्वाचनमा विभाजनको असर कम गर्न व्यवस्थित ढंगले कार्यकर्तालाई एमालेमा फर्काउने अभियान सञ्चालन गरिने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।
'हामीले पार्टी प्रवेशलाई लहडका रूपमा मात्रै नभएर व्यवस्थित बनाउनुपर्ने अवस्था आएको छ । पार्टीमा प्रवेश गराउने मात्रै होइन, उनीहरूलाई उचित जिम्मेवारी सहित अनुशासित ढंगले परिचालन पनि गर्नुपर्ने देखिन्छ,' गुरुङले भने । एमाले उपमहासचिव ज्ञवालीले पार्टी विभाजनमा विभिन्न कारणले अन्यत्र साथ दिएका तल्लो तहका कार्यकर्तालाई एमालेमा हार्दिकतापूर्वक फर्काउन अभियान सञ्चालन गरिने बताउँछन् ।
'विभिन्न प्रलोभनका कारण पार्टी विभाजनमा साथ दिनुभएका तल्लो कमिटीका साथीहरूको कुनै दोष छैन । विभाजनमा लाग्नुभएका आम कार्यकर्ताहरूलाई एमालेको ढोका सधैँ खुला छ । हामी उहाँहरूलाई हार्दिकतापूर्वक स्वागत गर्छौं,' ज्ञवालीले भने ।
वाम गठबन्धनमा पहल
स्थानीय चुनावमा दोस्रो भएको एमालेले संघ र प्रदेशमा शक्तिशाली हुन वाम एकतामा पनि छलफल गर्ने नेताहरूको भनाइ छ । २०७४ को स्थानीय तहको निर्वाचनमा भिन्न गठबन्धनमा रहेर पनि एमाले र माओवादी केन्द्रबीच संघ र प्रदेशमा गठबन्धन भएको थियो । स्थानीय तहको निर्वाचनअघि एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रलाई ठेकीको विर्कोको संज्ञा दिएका थिए । 'माओवादी केन्द्र होइन, ठेकीको विर्को मात्रै हो त्यहाँ प्रचण्डमात्रै छन्,' माओवादीप्रति ओलीको टिप्पणी थियो ।
२६ वैशाखमा पत्रकार सम्मेलन गरेर उनले कांग्रेसभन्दा एमालेको क्रय शक्ति बढी रहेको भन्दै माओवादी केन्द्रलाई बढी सिट दिए एमालेसँग गठबन्धन गर्ने टिप्पणी गरेका थिए । 'बिरालोलाई जसले बढी दूधभात दियो त्यहीँ जाने हो । कांग्रेसको भन्दा एमालेको क्रय शक्ति धेरै छ,' ओलीको टिप्पणी थियो ।
स्थानीय तहको चुनावबाट माओवादी केन्द्र तेस्रो र निर्णायक शक्तिका रूपमा उदाएको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले बुधबार संसद भवन बानेश्वरमा भनेका छन्, 'धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे । हामी निर्णायक शक्ति हौँ भनेर हामीले स्थापित गरिदियौं । ’
पुनले सत्ता गठबन्धन आगामी निर्वाचनमा पनि सँगै अघि बढ्ने दाबी गरेका छन् । 'हामीले एउटा निर्वाचनका लागि मात्रै गठबन्धन गरेको होइन । अहिले स्थानीय निर्वाचनमा मूलत: सफल भएको छ । हामी यो गठबन्धन अगाडि लैजान्छौँ। केन्द्र, प्रदेशमा पनि जान्छ गठबन्धन,’ पुनले भनेका छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेल भने छिट्टै बैठक बसेर वाम गठबन्धनका विषयमा पहल गर्ने बताउँछन् । 'समग्र परिणाम सार्वजनिक भएपछि समीक्षा बैठक राखेर हामी वाम गठबन्धनलगायत विषयमा रोडम्याप तयार गर्छौं,' उनले भने ।
उपमहासचिव ज्ञवाली तत्कालै वाम गठबन्धनको सम्भावना नदेखिए पनि बलियो जनाधार भएकाे एमालेलाई शक्तिशाली बनाउन आवश्यक रणनीति तयार गर्ने बताउँछन् । 'अहिलेकै स्थितिमा कुनै पनि शक्तिसँग गठबन्धनको सम्भावना त देखिँदैन । स्थानीय तहको निर्वाचनले प्राविधिक रूपमा कमजोर भए पनि एमाले बलियो जनाधारको शक्ति हो भन्ने प्रमाणित गरिदिएको छ । सम्पूर्ण प्राविधिक त्रुटिलाई सच्याउँदै हामी अघि बढ्नेछौँ,' ज्ञवालीले भने ।
सामूहिक नेतृत्व र निर्णयमा पार्टीलाई फर्काउने
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सामूहिक नेतृत्व र निर्णयको संस्कारलाई परिवर्तन गर्दै एकल रूपमा अघि बढेको आरोप खेप्दै आएका छन् । पाँच दशक एमालेमा विताएर छुट्टिएका माधवकुमार नेपाल मात्र होइन, १०बुँदे सहमति गरी एमालेमै रहेका नेताहरूले पनि ओलीले सामूहिक नेतृत्वको संस्कारलाई ध्वस्त पारेको भन्दै आलोचना गर्दै आएका छन् ।
'सामूहिक नेतृत्वकाे संगठन हाम्राे संस्कृति हाे । अहिले संगठन र नेतृत्वकाे संस्कारबीच अन्तर छ,' नेता घनश्याम भुसालले भने, 'सामूहिक नेतृत्वबाटै अहिलेकाे अन्तर सच्याउनुपर्छ ।' उम्मेदवार छनोटमा मात्रै होइन, एमालेको प्रचारमा पनि अध्यक्ष ओलीले एक्लै दाैडधुप गरेका थिए । उनले एकैदिन ६ वटासम्म सभामा सम्बोधन गरेका थिए । ओली 'क्रेज'का कारण परिणाम कायमै राख्ने विश्वास एमालेभित्र थियो । पाँच दलीय गठबन्धनका साझेदार एक हुँदा पनि ५० प्रतिशत र अवस्था बिग्रिएमा ३३ प्रतिशत जित्ने एमालेको आन्तरिक सर्वेक्षण थियो ।
ओलीले एमालेलाई क्विन्टल र गठबन्धनलाई एक-एक किलाेका ढकको संज्ञासमेत दिएका थिए । विगतमा ३९ प्रतिशत पालिकामा नेतृत्व जितेकाे एमाले यसपटक ३० प्रतिशतकाे हाराहारीमा झर्ने देखिन्छ । अहिले शक्ति घटे पनि सामूहिक नेतृत्व र निर्णयको अभ्यासलाई बलियो बनाउने हो भने संघ र प्रदेशको निर्वाचनमा एमालेले उल्लेखनीय सुधार गर्न सक्ने नेता भुसालको विश्वास छ ।
एउटै चुनावी नतिजाले अत्तालिने नभएर कमजोरीलाई सुधार्नुपर्ने उनको भनाइ छ । '२०६४ सालमा कमजोर बनेको एमाले २०७० मा सुधार गर्दै २०७४ मा बलियो भएर आयो । संगठन र जनमत हाम्रो राम्रै भएकाले पार्टीलाई बलियो र जीवन्त राख्न सामूहिक रूपमा अघि बढ्नुपर्छ । पार्टी फेरि पनि बलियो बनेर उदाउनेछ,' भुसालले भने ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ १६:१९