भैरवी गाउँपालिकाको उपाध्यक्ष जितेको खुशीमा पनि देवी भण्डारीको निधारमा रातो टिका थिएन् । स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरू जितको उत्सव मनाइरहेका छन् । बधाई र शुभकामना दिनेहरूले भण्डारीलाई पहेलो टिका र खादा लगाइदिएका छन् । पतिवियोगको शोककै बीच स्थानीयले उनलाई पालिकाको नेतृत्व पुर्याएका छन् ।
स्थानीय चुनावमा दलहरूले महिलालाई पालिका प्रमुखको उम्मेदवारी कमै दिएका छन् । गठबन्धनका कारण धेरै ठाउँमा उपप्रमुख पनि पुरुष नै उठाए । दैलेखको भैरवी गाउँपालिकामा भने कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला उम्मेदवार उठायो ।
पालिकाका ७ मध्ये ५ वडा एमालेले जित्यो । २ वडामै चित्त बुझाउनुपर्ने चिन्ता गरिरहेका कांग्रेसीजनलाई अन्तिम चरणमा भने अध्यक्ष र उपाध्यक्ष उम्मेदवारको लोकप्रियताले खुशी दिलायो ।
कांग्रेसले दैलेखको भैरवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा महिला उठाउँदा उनीहरूको मनोनयनलाई केहीले गठबन्धन भए फिर्ता बोलाउनेगरी दर्ता गरिएको म्यादी उम्मेदवारी भनेका थिए । विपक्षी एमाले पनि कमजोर उम्मेदवार पाएकोभन्दै दंग थियो । तर, तिनै कमजाेर मानिएका कांग्रेस उम्मेदवारबाट एमाले पराजित भएको छ ।
अध्यक्षमा रीताकुमारी शाहीले एमालेका सर्वराज महतारालाई १६ मतको अन्तरले पराजित गरिन् । उनले ३ हजार ९ सय ७६ मत ल्याउँदा एमालेका महताराले ३ हजार ९ सय ६० मत ल्याएका थिए । त्यस्तै, उपाध्यक्षमा देवी भण्डारीले ३ हजार ३ सय ७४ मतसहित विजय हासिल गरिन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका पदमकुमारी बिष्टले ३ हजार २ सय २७ मत ल्याएकी थिइन् ।
२०७४ को निर्वाचनमा भैरवी गाउँपालिका एमालेले जितेको थियो । यसपटक पनि जित दोहोरिनेमा एमाले विश्वस्त थियो । तर, उनीहरूले भैरवीको चुनाव जितेर एमालेको गढ भत्काएकोभन्दै कांग्रेस दंग छ ।
‘कांग्रेसले उठाए पनि हामी सबैको भोटले जित्यौं’ उनले भनिन्, ‘पारिवारिक शोकमा छु । तर, गाउँबासीले चुनाव जिताएर खुशी दिलाउनुभयो ।’ क्यान्सरले थलिएका उनका पतिको गत फागुनमा निधन भएको थियो । उनी भारतको राजीव गान्धि क्यान्सर अस्पतालमा शल्यक्रिया गरेर फर्किएका थिए ।
आलो शोकमा राजनीतिमा सक्रिय हुन उनलाई अप्ठेरो थियो । तर, भैरवीमा उनी लोकप्रिय थिइन् । २०७४ को स्थानीय निर्वाचनमा उनले भैरवी ३ बाट वडाध्यक्ष जितेकी थिइन् । चर्चा भने जिल्लाभर थियो । किनभने, दैलेखका ९० वडामा अध्यक्ष जित्ने उनी एक्ली महिला जनप्रतिनिधि थिइन् ।

अध्यक्षमा निर्वाचित रीताकुमारी शाही मतदाताको विश्वासमा घात हुने कुनै काम नगर्ने बताउँछिन् । ‘धेरैले पत्याएका थिएनन् । तर, जनताको साथ पाएपछि हामीले चुनाव जित्यौं’, उनले भनिन्, ‘जनताले आफ्नै घरदैलोमा भेटिने, सुखदुःखमा साथ दिनसक्ने र विकास निर्माणमा सहयोगी जनप्रतिनिधि खोजेका छन् । त्यो हामी पूरा गर्छौं ।’
शाही कांग्रेसको दैलेख जिल्ला कार्यसमिति उपसभापतिसमेत हुन् । पार्टीमा निरन्तर सक्रिय छिन् । त्यसैले यसपटकको स्थानीय निर्वाचनमा कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो । अध्यक्षमा अरु पुरुष प्रत्यासी पनि थिए । तर, कांग्रेसले यसपटक अन्तिममा आएर पालिकाको नेतृत्वमा दुवै महिला उम्मेदवार अघि सार्यो । ‘धेरैले इच्छा गर्नुभएको थियो । तर, यसपटक दुवै महिला उठाउँ भनेर पुरुषले सम्मान गर्नुभयो’, उनले भनिन् ।
उपाध्यक्ष भण्डारीलाई अबको पाँच वर्ष उल्लेखनीय काम गर्न सकिन्छ भन्ने आत्मविश्वास छ । अघिल्लो कार्यकालमा पनि आफू लोकप्रिय वडाध्यक्ष रहेको उनी दाबी गर्छिन् । त्यसको आधार आफूले वडामा प्राप्त गरेको मत भएको उनी बताउँछिन् । वडा नं. ३ मा एमाले उम्मेदवारभन्दा ५ सयभन्दा धेरै मत पाउनुलाई भण्डारीले आफ्नो कार्यमूल्यांकन ठानेकी छिन् ।
‘यो पार्टी र त्यो पार्टी भन्ने ३० वैशाखसम्म हो । अब हामी गाउँपालिकाका सबैका जनप्रतिनिधि भयौ’, भण्डारीले भनिन्, ‘कसैलाई काखापाखा नगरेर जनताको सेवा गर्ने हो । न्यायपूर्ण समाज बनाउने हो ।’
अध्यक्ष शाहीले पनि उस्तै प्रतिबद्धता जनाएकी छिन् । ‘जनताको साथले नै जितियो । अब जनताको साथ लिएर काम गर्छौ’, उनले भनिन् ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १९:२७