नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
पाँच दलीय गठबन्धनद्वारा आइतबार पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिए ।
गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको देउवाको भनाइ थियो । ‘गठबन्धन बन्नुअघि हाम्रो कस्तो अवस्था थियो, आज कांग्रेसको नेतृत्वमा सरकार छ सबै पार्टी मिलाएर बसेको छ,’ देउवाले भने ।
गठबन्धनमा शङ्का, उपशङ्का गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल एवं गठबन्धनका दलले उदार भएर कांग्रेसलाई सहयोग गरेको उल्लेख गरे ।
गठनबन्धनले ६ महानगरमध्ये तीनवटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको देउवाको भनाइ थियो ।
महानगर मात्र नभई हरेक पालिकामा गठबन्धनलाई विजयी बनाउन देउवाले आग्रह गरे । गठबन्धनलाई विजयी बनाउनका लागि कांग्रेसी कार्यकर्ता गठबन्धनका अन्य दललेभन्दा पनि मेहनतका साथ लाग्नुपर्नेमा उनको जोड थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९ १५:३३