सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा यतिबेला चुनावी माहौल तातेको छ । उम्मेदवारहरूले मनोनयन दर्ता गरेसँगै चुनावी माहौल थप तातेको हो । मनोनयन सकिएसँगै अब कसले जित्ला भनेर अनेकन अड्कलबाजी भइरहेका छन् ।
धनगढीमा विशेषगरी गठबन्धन (कांग्रेस र माओवादी), नेकपा एमाले र स्वतन्त्र उम्मेदवार गोपाल (गाेपी) हमालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । धनगढी कांग्रेसको गढका रूपमा परिचित छ । अघिल्लाे निर्वाचनमा पनि यहाँ मेयर उपमेयरसहित बहुमत वडा नेपाली कांग्रेसले जितेकाे थियाे । तर, यसपालि गठबन्धनका उम्मेदवार नै भए पनि कांग्रेसका नृपबहादुर वडलाई मेयरमा चुनाव जित्न सजिलो छैन ।
पहिलो कार्यकालमा सन्तोषजनक काम गर्न नसकेकाे विपक्षीकाे आराेप र पार्टीभित्रको आन्तरिक कलहले वडलाई जित निकाल्न समस्या हुन सक्ने आकलन गरिएकाे छ । केन्द्रमा पाँचदलीय गठबन्धन भनिए पनि धनगढीमा भने कांग्रेस र माओवादी बीच मात्र तालमेल हुने देखिएको छ । नेकपा एकीकृत समाजवादी, जनता समाजवादीलगायतका दलहरू गठबन्धनबाट बाहिरिएका छन् । उनीहरूले चुनावमा आ–आफ्नै उम्मेदवार खडा गरेका छन् ।
धनगढीमा कांग्रेस र माओवादीले मेयर र उपमेयरमा केन्द्रको निर्णय पालना गरेका छन् । तर, वडामा भने चर्को असन्तुष्टिका कारण यी दुई पार्टीबीच पनि सहमति कार्यान्वयन हुने सम्भावना कम छ । वडामा दुवै पार्टीले आ–आफ्ना उम्मेदवार खडा गरिसकेका छन् ।
मेयरमा पुनः उम्मेदवारी दिएका वडले धनगढीमा आफूहरूको जित सुनिश्चित रहेको दाबी गरे । ‘धनगढीमा कांग्रेस एक्लै बलियो हो, यसपालि गठबन्धन भएको हुँदा अझ सजिलो भएको छ, त्यसले गर्दा मेरो कसैसँग प्रतिस्पर्धा हुँदैन', उनले भने, 'भारी मतले विजयी हुन्छु ।'
एमालेबाट उम्मेदवार रहेका रणबहादुर चन्द पहिलो पटक मेयरकाे प्रतिस्पर्धामा छन् । उनी पार्टीभित्र इमान्दार छवि भएका नेताका रूपमा चिनिन्छन् । चन्द आफूले जित्नेमा विश्वस्त छन् । ‘धनगढीको माटोसँग परिचित भएको हुँदा योजनाबद्ध रूपमा अगाडि बढेको छु, त्यसले गर्दा धनगढीको विकासका लागि जनताले मलाई मतदान गर्नेछन्', उनले भने ।
यता मेयरका स्वतन्त्र उम्मेदवार हमाल पनि यसपालि गठबन्धनलाई हराएर चुनाव जित्ने दाउमा छन् । उनी यसपालि अघिल्लो निर्वाचनभन्दा थप बलियो भएको पनि दाबी गर्छन् । ‘२०७४ को निर्वाचनमा छोटो समयको तयारीमा धनगढीवासीले राम्रो मत दिएका थिए, यसपालि राम्रो प्रचारप्रसार र १९ वटै वडाका मतदाताहरूसँग घुलमिल भएको छु, त्यसले गर्दा मलाई धनगढीवासीले विश्वास गर्नेछन्,’ उनले भने ।
धनगढीवासीले आफूलाई नै मेयरमा जिताउने उनको पनि दाबी छ । २०७४ को निर्वाचनमा धनगढीमा कांग्रेसका वड, स्वतन्त्र हमाल, माओवादीका रामसमझ राना र नेकपा एमालेका दुर्गा जाेशीबीच प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा कांग्रेसलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार हमाल दोस्रो, माओवादीका राना तेस्रो र एमालेका जोशी चौथो भएका थिए । अघिल्लो निर्वाचनमा कांग्रेसका वडले १४ हजार ३ सय २४ मत ल्याउँदै नगर प्रमुखमा जित हात पारेका थिए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ५ सय २७ मत प्राप्त गरेका थिए ।
त्यस्तै, माओवादीका उम्मेदवार रानाले १० हजार २ सय ९ मत ल्याएका थिए । यद्यपि उनी चुनावको केही समयपछि कांग्रेसमा प्रवेश गरेका थिए । एमालेका उम्मेदवार जोशीले ९ हजार ९ सय ४६ मत प्राप्त गरेका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर साहुले ८ सय २९, तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार प्रेमकुमार बिसीले ४ सय ५९ र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २ सय ३६ मत प्राप्त गरेका थिए ।
धनगढीमा अहिले जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, लोकतान्त्रिक समाजवादीका ससन्तबहादुर विश्वकर्मा, सचेत पार्टी नेपालका भारती थापा, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी पनि मेयरकाे प्रतिस्पर्धामा छन् । स्वतन्त्रबाट हमालसँगै उद्धवराज पन्त र मदनकृष्ण भट्ट पनि मेयर पदका उम्मेदवार छन् ।
यस्तै, उपप्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी, एमालेका कन्दकला राना थारु, विवेकशील साझा पार्टीका विमला पन्त, नागरिक उन्मुक्ति पार्टीका सावित्रीदेवी चौधरी र राप्रपाका दुर्गादत्त पन्त मैदानमा छन् । उपमेयरमा नेपाली कांग्रेसका नेता प्रभाकर भण्डारीले बागी दिएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ १२:५३