स्थानीय तह चुनावका लागि तनहुँमा मतपत्र पुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा हिजाे मतपत्र पुर्याइएकाे हाे ।
नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरेको छ । तनहुँमा ५३८ पेटी मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । जिल्लाका लागि दुई लाख ६९ हजार थान मतपत्र आइपुगेको छ ।
ढुवानी गरिएका मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । 'निर्वाचनलाई आवश्यक ६१ प्रकारका सामग्री आइपुगेको छ', ढकालले भने । निर्वाचन कार्यालयका अनुसार रबरम्याट, स्ट्यामप्याड, स्वस्तिक छाप, लाहाछाप, मार्कर पेन, स्यानिटाइजर, कैची, कर्मचारी परिचयपत्र, स्वयंसेवक परिचयपत्रलगायत सामग्री आइपुगेको छ ।
चुनावका लागि कर्मचारी खटनपटनको कामका लागि निर्वाचन आयोगले कर्मचारी, शिक्षक सङ्घ सङ्गठनहरूसँग बिहीबार छलफल गरेको छ । चुनावमा खटिने कर्मचारीको विवरण सङ्कलन भइसकेको ढकालले जानकारी दिए । जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवारी दर्तापछि राजनीतिक दलहरूले घरदैलो अभियान सुरु गरिसकेका छन् ।
चुनावमा यहाँ दुई हजार ३७६ जनशक्ति परिचालन गरिँदैछ । १३६ मतदानस्थल र २९७ मतदान केन्द्र निर्धारण भएको छ ।
चुनावका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन गरिने बताइएको छ । यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिनेछन् ।
तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनभन्दा यसपटक ४९ हजार आठ सय ६९ मतदाता थपिएका छन् । २०७४ सालको स्थानीय तह चुनावमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता थिए ।
चुनावमा आँबुखैरेनीमा ६ हजार ६४२ पुरुष र ६ हजार ९८९ गरी १३ हजार ६ सय ३१, ऋषिङ गाउँपालिकामा आठ हजार ९५१ पुरुष र नौ हजार दुई सय ८७ महिला गरी १८ हजार दुई सय ३८, घिरिङ गाउँपालिकामा सात हजार एक सय १७ पुरुष र सात हजार पाँच सय ५९ महिला गरी १४ हजार ६ सय ७६, देवघाट गाउँपालिकामा ६ हजार तीन सय ७५ पुरुष र ६ हजार चार सय ४० महिला गरी १२ हजार आठ सय १५ मतदाता कायम भएका छन् ।
यस्तै बन्दीपुर गाउँपालिकामा सात हजार पाँच सय ६४ पुरुष र आठ हजार ७४ महिला गरी १५ हजार ६ सय ३८, भानु नगरपालिकामा १९ हजार पाँच सय ४४ पुरुष र २० हजार नौ सय ५२ महिला गरी ४० हजार चार सय ९६, भिमाद नगरपालिकामा ११ हजार आठ सय ९९ पुरुष र १२ हजार नौ सय ८५ महिला गरी २४ हजार आठ सय ८४, म्याग्दे गाउँपालिकामा आठ हजार पाँच सय ७९ पुरुष र नौ हजार पाँच सय २६ महिला गरी १८ हजार एक सय पाँच, व्यास नगरपािलकामा २२ हजार चार सय १३ पुरुष र २५ हजार एक सय २९ महिला गरी ४७ हजार पाँच सय ४२, शुक्लागण्डकी नगरपालिकामा १८ हजार ५० पुष र २० हजार दुई सय ६५ महिला गरी ३८ हजार ३१५ मतदाता छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ ०६:१६