नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको चुनाव लागि शनिबार बिहान सुरु भएको मतदान सम्पन्न भएको छ ।
नेपाल बार एशोसिएशन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । काठमाडौं केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ । शनिबार बिहान ८ः०० बजेदेखि सुरु भएको अपराह्न ४ः०० सम्मका लागि तोकिएको थियो । सबै मतपत्र आइपुगेपछि मात्र मतगणना प्रारम्भ हुनेछ ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।
नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् ।
बारमा अध्यक्षका लागि व्यक्तिगतरूपमा र समूहगतरूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ । संसद्मा प्रतिनिधित्व नभएका साना राजनीतिक दल सम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गरेका छन् ।
नेमकिपा कानुन अध्ययन समाज नेपाल समूहको नेतृत्व अनिता जोघारीले गरेकी छन् । व्यक्तिगतरूपमा उत्तमबहादुर श्रेष्ठ र कमलप्रसाद मलेगाले अध्यक्षको उम्मेदवारी दिएका छन् । संसद्मा प्रतिनिधि नभएका साना राजनीतिक दल सम्बद्ध समूहबाट अमिता लक्ष्मी सैजु श्रेष्ठले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध समूहको नेतृत्व उद्धवचन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति: शनिबार, चैत १९, २०७८ १८:३३