कहिलेकाहीँ अभाव पनि काम आउँदोरहेछ ।
कलंकीका ३८ वर्षीय प्रसन श्रेष्ठलाई गएको होलीमा ठिक यस्तै महसुस भयो । होलीको दिन जताततै मानिसहरू रंगसँग खेल्दै थिए । प्रसन आफूसँग ससाना कुरा मात्रै खिच्ने म्याक्रो लेन्स भएकोमा चुकचुकाउँदै थिए । हुन पनि सबैजना झुम्ने यस पर्वमा उनको म्याक्रो क्यामेरा खासै प्रभावकारी हुने छाँटकाँट थिएन ।
ससाना किरा, पुतली खिच्ने उनको क्यामेराले होलीको बृहत्तर फोटो कैद गर्न सक्ने कुरा पनि थिएन । तर अचम्म त्यतिखेर भइदियो जब उनले क्यामेरा चलाउँदै गर्दा एकजना महिलाको आँखामा कृष्ण मन्दिरको प्रतिबिम्ब देखे ।
उनको अनुहारमा हरियो रंग एकदम खिलेर पोतिएको थियो । यी सबै दृश्य देखिरहेका प्रसनले ती महिलालाई अनुमति नमागी बस्न सकेनन् । उनले तुरुन्तै फोटो खिच्ने अनुमति मागे । उनले पनि सहजै हुन्छ भनिन् । त्यही मेसोमा प्रसनले पनि दुईचार वटा फोटोहरू खिचे ।
प्रसन भन्छन्, ‘यो फोटो रेगुलर फोटो छैन । त्यो आँखामा कल्चर पनि देखियो । सम्पदा पनि देखियो । त्यही भएर पनि धेरैलाई यो फोटो मन परेको हुनुपर्छ ।’
यसरी सानो आँखाको तस्वीरमा पनि उनले संस्कृति र सम्पदालाई समाहित गर्न सफल भए । शिलापत्रद्वारा आयोजित नेपाल बिम्ब फोटोग्राफीअन्तर्गत उत्कृष्ट कल्चर एण्ड फेस्टिभल फोटोग्राफीमा उनको यो फोटो सर्वोत्कृष्ट भएको हो । उनले यसबापत ५० हजार नगद पुरस्कार हात पारेका छन् ।
बाल्यकालदेखि नै बाबाको रिल क्यामेरा चलाइराख्ने बानीका कारण फोटोग्राफर बनेका श्रेष्ठ पेसाले भने वित्तीय क्षेत्रमा काम गर्छन् ।
शिलापत्रद्वारा आयोजित फोटो प्रतियोगिता नेपाल बिम्बमा आइतबार कल्चर/फेस्टिभल फोटोग्राफी, ल्याण्डस्केप फोटोग्राफी, पोट्रेट फोटोग्राफी, स्ट्रिट फोटोग्राफी र वाइल्ड लाइफ फोटोग्राफी गरी पाँच विधामा उत्कृष्ट फोटोहरू पुरस्कृत भए । सात महिनाअघि आह्वान गरिएको यस प्रतियोगितामा देशभरिबाटै पाँच हजारभन्दा बढी फोटो संकलन भएको थियो । हरेक विधामा विजयी हुने फोटोलाई ५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
यो पनि...
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८ २०:२०