तेक्वान्दो खेलबाट नेपालको पहिलो पारा ओलम्पियन पलेशा गोवर्धनले वर्ष २०७७ मा आफूसँगै देशको नाम पनि चम्काइन् । फरक क्षमताकी पलेशा प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियाेगितामा सहभागिता, खेल प्रदर्शन र उपाधिका कारण चर्चामा रहिन् । भदाै २०७८ मा भएकाे टोकियो पारा ओलम्पिकमा उनी नेपालकी एक्ली प्रतिस्पर्धी थिइन् ।
ओलम्पिकमा नेपाल सहभागितामै सीमित हुन्थ्याे । पलेशाले यसपालि नेपालका लागि दुई खेल जितेर कीर्तिमान् बनाइन् । अन्तिम खेलमा झिनो अन्तरले नहारेकी भए उनले कास्य पदक हात पार्थिन् ।रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्राेमा सर्बियाकी खेलाडीलाई जितेकी पलेशा फाइनलमा चीनकी खेलाडीसँग चुकेकी थिइन् ।
त्यसअघि मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायतकी खेलाडीसँग पराजित भएकी थिइन् । पारा ओलम्पिकको प्रदर्शनपछि पलेशा विश्व वरीयताको पाँचौँ स्थानमा उक्लिएकी छन् । त्यसअघि पलेशा वरीयताको १३औँ स्थानमा थिइन् । टोकियो पारा ओलम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी पलेशालाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नगदसहित सम्मान गरेको थियाे ।
यसै वर्ष पलेशाले 'एसियन युथ पारा गेम्स'मा स्वर्ण पदक जितेर विदेशी भूमिमा नेपालको राष्ट्रिय धुन गुञ्जाइन् । एसियाली पाराओलम्पिक कमिटी र बहराइन सरकारको संयुक्त आयोजनामा भएकाे खेलमा उनले इरानकी खेलाडीलाई पराजित गरी स्वर्ण पदक ल्याइन् ।
उनी सन् २०१६ देखि टोकियो ओलम्पिकसम्म सातवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी हुन् ।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८ १२:५६