राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामैत्री कानुनी व्यवस्थाबाट महिलाको आर्थिक र सामाजिक अवस्थामा सुधार आए पनि महिला र बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रण गर्न सबै पक्षको पहल आवश्यक रहेको बताएकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित बढ्दो बलात्कारका घटनाका विषयमा सरोकारवाला निकाय पदाधिकारी तथा विशेषज्ञबीचको छलफलमा भण्डारीले पछिल्लो पटक महिला हिंसा, बालबालिकामाथि हुने गरेका अपराध भइरहेका घटनाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ताको कानुनी व्यवस्था र उपचारात्मक पक्षबाट सम्बोधन गर्न आवश्यक रहेको बताइन् ।
उनले महिला हिंसा र बालबालिकामाथि हुने जघन्य अपराधको नियन्त्रणका लागि महिला र बालबालिकासम्बन्धी विद्यमान कानुनलाई सामूहिक सुधार गर्न आवश्यक रहेको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले महिला र बालबालिकामा हुने अपराधको वास्तविक समस्याको गहिराइमा पुगेर अनुसन्धान, अभियोजन र कारबाही प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
उनले बालबालिकामाथि भइरहेका बलात्कार र अन्य घटनाको न्यूनीकरणका लागि विद्यालय तहदेखि नै पाठ्यक्रम र चेतनामूलक कार्यक्रमद्वारा प्रयास गर्नुपर्नेमा जोड दिइन् । अपराध प्रकृतिका सम्बन्धमा विद्यालय, विश्वविद्यालय, आमाबीच छलफल गरेर निस्कने निष्कर्षलाई ग्रहण गरेर कानुन निर्माण गर्नुपर्ने भण्डारीको भनाइ थियो ।
महिला र बालबालिकामाथि हुने हिंसाका सम्बन्धमा राज्यको एजेण्डा नै बन्नुपर्ने भण्डारीले बताइन् । राष्ट्रपति भण्डारीले १८ महिने शिशुमाथि हुने बलात्कारका घटनामा संलग्नलाई नयाँ कदम चालेर कारबाही गर्ने कि भन्नेमा छलफल चलाउनुपर्ने उल्लेख गरिन् ।
'१८ महिने शिशुमाथि हुने बलात्कार अति नै हो,' राष्ट्रपति भण्डारीले भनिन्, 'यस्तो प्रकृतिको घटनामा यकीन तथ्यसहित प्रमाण प्राप्त हुन्छ भने नयाँ ‘स्टेप’ लिने कि नलिनेमा छलफल गर्नुपर्दछ । समाजको मनोवैज्ञानिक अध्ययन गरेर के गर्न राम्रो हुन्छ त्यही गर्नुपर्दछ ।'
मुलुकमा शिक्षित समाज भए पनि शिशु र बालबालिकाका समस्याको बयान गरेर साध्य नै नरहेको उनको टिप्पणी थियो । पहिले बालबालिकामाथि आएका समस्या समाधान गर्न कानुन बनेर समाधान भए पनि अहिले फेरि पनि समस्या आएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।
संयुक्त राष्ट्रसङ्घमा उल्लेख भएअनुसार बालबालिका योग्य हुन्छन् भनेर १६ वर्ष उमेरमा नागरिकता, १८ वर्ष उमेरमा मतदान र २० वर्षमा विवाह गर्ने उमेर कानुनमा राखे पनि समस्या देखिएको बताइन् ।
'१६ वर्ष उमेरमा नागरिकता, १८ वर्ष उमेरमा मतदान र २० वर्षमा विवाह गर्ने कानुनमा तोकिएका यी उमेरको तालमेल मिलेन भन्ने मेरो मनमा रहेको छ,' राष्ट्रपति भण्डारीले भनिन्, 'यी उमेरबारे सोच्नुपर्दछ कि भन्ने मलाई लागेको छ । हाम्रो समाजअनुसार नागरिकता, मतदान र विवाह गर्ने उमेर कति राख्दा व्यावहारिक हुन्छ भनेर सोच्नुपर्दछ ।'
विद्यालय तहको शिक्षालाई बलियो बनाउन सके बलात्कारका घटना कम गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले बालबालिकाको विवाह गर्ने उमेर घटाउन नहुने बताएकी थिइन् । राजनीतिक दलका नेताले महिला हिंसा गर्नेलाई संरक्षण गर्ने भएकाले समस्या आएको उनको भनाइ थियो ।
महिला हिंसा र बलात्कार गर्नेलाई राजनीतिक संरक्षण गरेकाले स्थानीय तहमा रहेको न्यायिक समितिले काम गर्न नसकेको पराजुलीको भनाइ छ । हरेक स्थानीय तहमा सबैको सहभागितामा बलात्कार र महिला हिंसा न्युनीकरणका लागि सर्वदलीय संयन्त्र बनाउनुपर्नेमा उनको जोड थियो ।
नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले महिलाविरुद्ध बनेका विभेदकारी कानुन संशोधन गर्नुपर्ने बताइन् । उनले बालबालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड जस्तै कठोर सजाय दिनुपर्नेमा जोड दिइन् ।
कानुनविद् डा. विपिन अधिकारीले महिला र बालबालिकामाथि हुने हिंसा राज्यले मात्र नियन्त्रण गर्न नसक्ने भएकाले समाजको पनि भूमिका उल्लेखनीय रहेको बताए ।
प्रकाशित मिति: बुधबार, चैत २, २०७८ २०:३१