मृत्युभन्दा जेठो जन्म । जन्मदै साथमा लिएर आएको भनेको मृत्यु नै हो । यसैलाई जिन्दगीको अन्तिम सत्य पनि भन्ने गरिन्छ । बेलाको मृत्युले मनलाई छिट्टै फकाउँछ, कुबेलाको मृत्युले जिन्दगीभरि मनलाई दुखाइरहन्छ । मृत्यु सबैको हुन्छ । र त लेख्नुभएको रहेछ कविशिरोमणि लेखनाथ पौडेलज्यूले, 'आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ।' आज म मलाई यो सुन्दर दुनियाँ देखाउने, साह्रै माया गर्ने एउटा जिन्दगीको अकल्पनीय मृत्युका बारेमा लेख्दैछु । त्यो जिन्दगी मेरा बाको हो ।
५ भदौ ०४५ को बिहान पौने ५ बजे नेपालको पूर्वी जिल्ला उदयपुरको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर ६.७ रेक्टरस्केलको भूकम्प आयो । त्यो भूकम्पको धक्का अझै धमिलो गरी याद आउँछ । त्यो वर्षको भूकम्पले केही सय मान्छेको जिन्दगी उखेल्यो । हजारौँको घर भत्कायो । हजारौँलाई घाइते बनायो । मेरो भने पूरै जिन्दगीको जग नै नमीठो गरी ढाल्यो ।
मेरा बा ०४५ साल साउनमा ३४ पुगेर ३५ वर्षमा टेक्नुभएको थियो । विविध कारणले हाम्रो परिवार मामाघरमा बसाइँ सरेको थियो ०४० सालमा । झर्रो नेपाली भाषामा भन्नुपर्दा मेरा बा घरज्वाइँ बस्नुभएको रहेछ । मैले पनि अलिक बुझ्ने भएपछि थाहा पाएको ।
मामाघरको त्यो एकलासको जीर्ण अवस्थामा पुगेको गोठ । भइँचालोले मज्जासँग घाइते बनाएको थियो । हिउँदमा हाम्रो बसाइ घरैमा हुन्थ्यो । वर्षा लागेपछि प्राङ्गारिक मल बनाउन हामी गाई, गोरु, भैँसीसँगै गोठमा बस्नुपर्थ्यो । दसैँ लागेपछि मात्र हामी गोठ छाडेर घरमा बस्थ्यौँ ।
भदौ महिनाको दोस्रो हप्ताबाट बिरामी हुन पुगेका मेरा बालाई के रोग लागेको थियो त्यो बेला, केही थाहा नभए पनि अहिले अन्दाज गर्दा अल्सर बिग्रेको हुनुपर्छ । बा एक्कासि बिरामी हुनुभयो । सुविधाजनक अस्पतालमा लान सक्ने हाम्रो हैसियत थिएन । स्वास्थ चौकीबाट ल्याएको अन्दाजे ओखती र धामीको हातमा थियो मेरो बाको जिन्दगी ।
गोठ बडो अनकन्टारमा । पारि ठूलो पहाड । पहाडको टुप्पोमा तामाङहरूको धुर्सा अर्थात् चिहान । गोठदेखि तल खहरे खोला । ठ्याक्कै भन्नुपर्दा त्यो ठाउँबाट कराएर बोलाए पनि मान्छेले सुन्ने बस्ती छँदै थिएन । बाध्यता बडो गजबैले गाँजेको हुँदो रहेछ जिन्दगीसँग । सायद त्यही गजबको बाध्यताले गाँजेको थियो मेरो पूरै परिवारको जिन्दगीलाई । बाध्यताको जञ्जिरमा फसेपछि डर/त्रास भन्ने कुरा हराउँदो रहेछ । मेरो त्यो बेलाको अनुभव हो यो ।
मेरा बाले जिन्दगीको अन्तिम सास फेरेको त्यो जीर्ण गोठको अवशेष अझै बाँकी छ । कहिलेकाहीँ पुग्छु, त्यो एकान्तको बुढो गोठमा । मेरा बाले रोपेका निबुवा, कागती र आँपका रुख पनि बुढो भइसकेको पाउँछु । सायद मेरा बा बाँचिरहेको भए ती उनले रोपेका रुखजस्तै बुढो देखिनुहुन्थ्यो होला ।
बा बिरामी हुनुभएको ठीक एक महिनापछि बित्नुभएको हो । त्यो बेलाको धमिलो याद छ मलाई । बा बित्नुअगाडिको रात म, मेरो भाइ, अनि बा थियौँ त्यो गोठमा । रातभरि हामी सुतेनौँ । पालैपालो तातो पानी तताउँदै बालाई दिन्थ्यौँ । तातोपानी पिएपछि केही आराम मिल्थ्यो उहाँलाई ।
आमा टाढाको मिलमा जानुभएको थियो । फर्कंदा ढिलो भएका कारणले गाउँको घरमा बस्नुभएको थियो त्यो रात । त्यसैले बासँग म र भाइ मात्रै थियौँ । म १० र भाइ सात वर्षका थियौँ । त्यो रात सम्झिँदा पनि कहाली लागेर आउँछ । बाको समस्या पेटमा थियो । दुखाइ बढी हुँदा आमाले तेल तताएर मालिस गर्दिनुहुन्थ्यो । हामीले आमाले जसरी मालिस गर्न सकेनौँ । कति दुख्यो होला कठै मेरा बालाई ! कति सहनुभयो होला । १७ भदौ ०४५ देखि ओछ्यान परेर १७ असोजको बिहान बाले सदाका लागि यो संसारबाट बिदा लिनुभएको हो ।
रातभरि जाग्राम बसियो । बिहान भयो गाउँबाट आमा आउनुभो । आमाको बा (हजुरबुबा) आउनुभो । उज्यालोसँगै मान्छेहरू आउन थाल्नुभो । सबैको सल्लाहबमोजिम मेरो बाको बा/आमालाई खबर पठाइयो । त्यो बेला खबर बोक्ने मान्छे नै हुन्थ्यो । खबर लिएर गाको मान्छे आधा बाटो पुग्दा अर्को मान्छे पठाइएको थियो अशुभ खबर बोकाएर । मामाघरदेखि मेरो गाउँको दूरी भनेको फटाफट हिँड्नेलाई तीन घण्टा लाग्थ्यो । मन दुखेर आउँछ सम्झँदा, अहिले मेरो आमाको आमा अर्थात् मेरो हजुरआमाले गाउँमा बोलाएर एक गेडा अक्षताका लागि चामल छैन भन्दै भाइ र मलाई ढिकी कुट्न लगाएको हिजोजस्तै लाग्छ ।
मेरो बाको बाले जिद्दी नै गरेर छोराको पार्थिक शरीर ससुराली गाउँको चिहानमा होइन, आफ्नै गाउँको चिहानमा अन्तिम दाहसंस्कार गर्ने निधो गरे । बाको पार्थिव शरीरलाई गुठियार गाउँले दाजुभाइको सहयोगमा पुरानो कालो मैलो ब्ल्याङ्केटको झुलामा राखेर ल्याइयो । विधिवत् अन्त्येष्टि गरियो । अनि समाप्त भयो एउटा धेरै सपना बोकेको जिन्दगी ।
मेरो बा बितेको धेरै वर्ष भइसक्यो । धमिलो स्मृति सिबाय केही छैन मसँग । तर, मेरा बाले जिन्दगीको अन्तिम सास फेरेको त्यो जीर्ण गोठको अवशेष अझै बाँकी छ । कहिलेकाहीँ पुग्छु, त्यो एकान्तको बुढो गोठमा । मेरा बाले रोपेका निबुवा, कागती र आँपका रुख पनि बुढो भइसकेको पाउँछु । सायद मेरा बा बाँचिरहेको भए ती उनले रोपेका रुखजस्तै बुढो देखिनुहुन्थ्यो होला । ।
अब त मै बुढो हुन लागिसकेको छु । तर त्यो ठाउँ, जुन ठाउँमा मेरा बाको जीवनकथा टक्क रोकिएको थियो, कहिलेकाही त्यो गोठको वरिपरि पुग्दा समयले बुढो बनाएको मेरा बाको यादलाई भर्खरको जवान भएको पाउँछु ! मेरो जीवन रहुञ्जेल सदा रहिरहनेछ त्यो गोठ, अनि त्यो मेरा बाको अन्तिम रातको कथा ।
लेखक हाल साइप्रस निवासी हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८ ०७:१२