कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै संक्रमण दैनिक बढिरहेको हो ।
ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकाले पनि पिसिआर र एन्टिजेन परीक्षणमा संक्रमण दर बढेको पाइएको हो । जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने, भिडभाडमा जाने तथा खोप नलगाउने गर्नाले संक्रमण बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले संक्रमण गत हप्ताको तुलनामा यो हप्ता ९.२ प्रतिशतले बढेको बताइन् । ओमिक्रोन भेरियन्टले संक्रमण एक जनाबाट १० जनामा सार्ने गर्दछ ।
संक्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई तथा दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म संक्रमित बढाउने गर्दथ्यो । उनका अनुसार अघिल्लो हप्ताको ४९ हजार ८७७ जनाको पिसिआर परीक्षणमा दुई हजार ३० जनामा संक्रमण देखिएको छ । यो हप्ता ६२ हजार ७५५ जनाको पिसिआर गरिएकोमा आठ हजार ३७३ जनामा संक्रमण देखिएको थियो । यस हप्ता परीक्षण २५.८ प्रतिशतले गरेका छन् ।
यसहप्ताको संक्रमण दर १३.३ प्रतिशत छ । एन्टिजेन परीक्षण गर्दा ६.७ प्रतिशतले पछिल्लो हप्ताको तुलनामा यसहप्ता संक्रमण बढेको पाइएको छ । खोप नलगाउने व्यक्तिमा लगाएको भन्दा १० गुणा बढी संक्रमण बढ्छ । यस्तै खोप नलगाएकालाई अस्पतालमा भर्ना भएर गाह्रो ओमिक्रोनले १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढाउने गर्ने अध्ययनले देखाएको छ ।
एक हप्तामै १० हजार संक्रमित
नेपालमा एक हप्तामा १० हजार संक्रमित फेला परेका छन् । यही पुस २२ गतेदेखि पुस २८ गतेसम्म १० हजार ५८४ जनामा संक्रमण पुष्टि भएको छ । पुस २२ गते ५४०, पुस २३ गते ९६८, पुस २४ गते ९४४, पुस २५ गते एक हजार १६७, पुस २६ गते एक हजार ४४६, पुस २७ गते दुई हजार ४४४ तथा पुस २८ गते तीन हजार ७५ जनामा कोरोना संक्रमण देखिएको थियो ।
खोप लगाउनेको संख्या बढ्यो
खोप लगाउनेको संख्यामा पनि वृद्धि भएको छ । मन्त्रालयका प्रवक्ता डा. मिश्राका अनुसार गतहप्ताको तुलनामा यस हप्ता दुई प्रतिशतले खोप लगाउने संख्यामा वृद्धि भएको छ । दोस्रो मात्रा लगाउनेमा चार प्रतिशतले वृद्धि भएको छ ।
लक्षितमध्ये अहिलेसम्म ७६.९ प्रतिशतले पहिलो मात्रा र ५७. ६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुधबार दुई लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले लक्षित समुदायलाई यही पुस मसान्तसम्म दुई तिहाईलाई खोप लगाउने लक्ष्य लिएको छ । कोरोना भाइरसको खोप वाग्मती र गण्डकी प्रदेशले लक्ष्य अनुसारको लगाइसकेका छन् । बाँकी प्रदेशले खोप लगाउने कार्यलाई द्रूत बनाएका छन् ।
संक्रमण बढेसँगै सबै सर्तक हुनुपर्ने र जनस्वास्थ्यका मापदण्ड अझै कडाइका साथ गर्र्नुपर्ने देखिन्छ । मन्त्रालयले कोही पनि संक्रमण भएको वा कन्ट्रयाक्ट ट्रेसिङमा परेका कम्तीमा पाँच दिन क्वारेन्टिनमा बसेर मात्र परीक्षण गराउन आग्रह गरेको छ । लक्षण देखिएका व्यक्तिले तुरुन्तै परीक्षण गराउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८ १५:४०