खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीय महंगोमा किन्न बाध्य भएका छन् । गाउँका खाद्य डिपो खाली भएपछि बजारमा गएर महंगोमा चामल किन्नुपरेको स्थानीय बताउँछन् ।
खाद्य कम्पनीको शाखा कार्यालय हुम्लाले दसैँ र तिहारमा खाद्यान्न बिक्री वितरण गरेपछि खाद्य डिपोहरू रित्तिएका हुन् । चालु आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा पनि ढुवानी कार्य भने सुरु हुन सकेको छैन । जसका कारण हुम्लामा खाद्यान्न अभाब भएको हो ।
खाद्य कम्पनीका हुम्ला शाखा प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्षका लागि हवाई तथा पैदल मार्गबाट ढुवानी हुने गरी २१ हजार पाँच सय क्विन्टल खाद्यान्न कोटा निर्धारण भएको थियो ।
हवाई मार्गबाट ढुवानीका लागि सीता एयरलाइन्सले टेन्डर पाएको छ । हिमपातका कारण खाद्यान्न ढुवानी गर्न नसकिएको बताइएको छ । चालु आर्थिक वर्षका लागि हुम्लामा २१ हजार पाँच सय क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको भए पनि हालसम्म एक हजार क्विन्टल चामल मात्र प्राप्त भएको अधिकारी जानकारी दिए ।
खाद्य गोदाममा आएको उक्त चामल मृतकका परिवार वा सुत्केरीलाई आपत्विपत् तथा चाडपर्वमा वितरण गरेर बाँकी रहेको चामल विभिन्न पार्टीको अधिवेशनले गर्दा सकिएको थियो । हवाई मार्गबाट नेपालगञ्जदेखि चार हजार क्विन्टल र सुर्खेतदेखि ६ हजार क्विन्टल चामल ढुवानी हुनुपर्नेमा ढुवानी नभएकाले पैदल मार्गबाट श्रीनगर डिपो सर्केगाड डिपोमा आउनुपर्ने चामलसमेत आएको छैन ।
उक्त डिपोमा खच्चरबाट आउने खाद्यान्न यस वर्षको हिमपातले गर्दा ढुवानी गर्न नसिकएको बताइएको छ । हुम्ली जनता खाद्यान्न नपाउँदा भोकमारीको चपेटामा परेका छन् । जुनसुकै सरकार आए पनि हुम्लामा खाद्यान्नको अभाव हुने गर्छ ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८ १६:०८